काठमाडौं ।
केही दिनअघि स्पेसएक्सको एउटा बाटो बिराएको रकेट चन्द्रमामा दुर्घटनाग्रस्त भयो। यसबाट चन्द्रमामा ठूलो खाल्डो बनेको छ भने वैज्ञानिकले भविष्यका अभियानमा सहयोग पुग्न सक्ने एउटा दुर्लभ अनुसन्धानको अवसर पाएका छन्।
बुधबार फाल्कन ९ रकेटको खाली माथिल्लो भाग करिब ८ हजार ७ सय किलोमिटर प्रतिघण्टा (५ हजार ४ सय माइल प्रतिघण्टा) को गतिमा आइन्स्टाइन क्रेटरनजिकै चन्द्रमामा ठोक्किएको थियो।
अमेरिकामा रहेका ठूला वेधशालाहरूले रकेट ठोक्किँदा प्राप्त जानकारीको विश्लेषण गरिरहेका छन्।
बीबीसीहिन्दीका अनुसार यस घटनाको पूर्ण विवरण र यसबाट के सिक्न सकिन्छ भन्ने पत्ता लगाउन केही दिन वा हप्ता पनि लाग्न सक्छ। तर ग्रह भूविज्ञानका वैज्ञानिकका लागि यो आकस्मिक ठक्कर एउटा वैज्ञानिक ‘उपहार’ बनेको छ।
चन्द्रमातर्फ कसरी गयो रकेट?
स्पेसएक्सको फाल्कन ९ रकेट पुनः प्रयोग गर्न सकिने मोडल हो र यसलाई धेरै अभियानमा अन्तरिक्षमा पठाइसकिएको छ। यसको डिजाइनअनुसार रकेटको एउटा भाग पृथ्वीमा फर्किन्छ भने अन्य भाग अन्तरिक्षमै अलग हुन्छन्।
यो रकेट गत वर्ष जनवरीमा फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो। यसमा दुईवटा चन्द्र अवतरण यान पठाइएको थियो।
रकेटको काम माथिल्लो चरणलाई यति शक्तिका साथ प्रक्षेपण गर्नु थियो कि दुवै अवतरण यान पृथ्वीको कक्षाबाट बाहिर निस्केर चन्द्रमातर्फ जान सकून्।
त्यसपछिका १८ महिनामा पृथ्वी, चन्द्रमा र सूर्यको कमजोर गुरुत्वाकर्षण तथा सूर्यबाट आउने प्रकाशले पनि रकेटलाई थोरै धक्का दिइरह्यो।
रकेटको उक्त भागलाई निगरानी गरिरहेका खगोलविद्ले अन्ततः ती साना धक्काले रकेटलाई चन्द्रमातर्फ जाने बाटोमा पुर्याएको र त्यसले हरेक दिन गति बढाउँदै गएको पत्ता लगाए।
रकेट चन्द्रमामा बुधबार करिब ११ बजेर ५ मिनेटमा ठोक्किएको थियो। त्यसबाट उत्पन्न भएको सानो चमक यति कमजोर थियो कि टेलिस्कोपबाट समेत देख्न सम्भव भएन।
अँध्यारोमा आकाशको अवलोकन गर्ने शौकिया खगोलविद्का लागि पनि उक्त चमक देख्न लगभग असम्भव थियो। यो एक सेकेन्डको निकै सानो समय मात्र देखिएको थियो र चन्द्रमाको त्यस्तो भागमा भएको थियो, जहाँ त्यसबेला दिनको उज्यालो थियो। त्यसैले करिब १०० किलोमिटरसम्म फैलिएको र केही मिनेटसम्म कायम रहेको धुलोको तह पनि उनीहरूले देख्न कठिन भएको हुन सक्छ।
चन्द्रमाको कक्षमा रहेका अन्तरिक्ष यान पनि सही समयमा सही स्थानमा थिएनन्, त्यसैले उनीहरूले यो ठक्कर प्रत्यक्ष देख्न सकेनन्। दक्षिण कोरियाको दनुरी अर्बिटरले भने यसलाई हेर्ने सबैभन्दा राम्रो अवसर पाएको थियो, किनभने यो दुर्घटनास्थलनजिकबाट केही समयअघि मात्र गुज्रिएको थियो। यसको टोलीले कोरियाली सञ्चारमाध्यमलाई अनुसन्धानकर्ताले आफ्नो विश्लेषण पूरा गरेपछि मात्र कुनै फुटेज सार्वजनिक गरिने बताएको छ।
आगामी केही दिनमा नासाको लुनार रिकनिसेन्स अर्बिटर उक्त स्थानको तस्बिर लिन त्यहाँ उपस्थित हुनेछ। यसबाट दुर्घटनाअघिका र दुर्घटनापछिका तस्बिर तुलना गर्न सकिनेछ।
इन्जिनियरलाई भविष्यमा कसरी सहयोग पुग्छ
वैज्ञानिक अनुसन्धान र सम्भवतः पहिलो तस्बिर अमेरिकामा रहेका शक्तिशाली टेलिस्कोपबाट प्राप्त हुनेछन्, जहाँ त्यसबेला आकाश अँध्यारो थियो।
यद्यपि पृथ्वीबाट करिब ३ लाख ८५ हजार किलोमिटर टाढा रहेको चन्द्रमाको सतहमा १४ मिटर आकारको वस्तु ठोक्किएको पत्ता लगाउन सजिलो हुने छैन। तर यो असम्भव भने छैन।
तस्बिरलाई स्पष्ट बनाउन इमेज प्रोसेसिङमा केही घण्टा, दिन वा हप्तासम्म लाग्न सक्छ। वैज्ञानिकहरूले प्राप्त तथ्यांकको जाँच र प्रशोधन गर्ने क्रममा यस्तो समय लाग्न सक्छ।
अनुसन्धानकर्तालाई रकेटको सटीक आकार, गति र ठक्करको स्थान पहिले नै थाहा भएकाले यो दुर्घटना केवल आकस्मिक घटना नभई एउटा दुर्लभ नियन्त्रित प्रयोगमा परिणत हुन्छ।
ग्रह भूविज्ञानका वैज्ञानिकका लागि यो महत्वपूर्ण अवसर हो। यसले उल्कापिण्ड चन्द्रमामा ठोक्किँदा कसरी खाल्डो बन्छ, सतहमा कसरी मलबा फैलिन्छ र चन्द्रमाको भित्री भागमा कसरी कम्पन उत्पन्न हुन्छ भन्नेबारे बनाइएका मोडल परीक्षण गर्न सहयोग गर्नेछ। यसको व्यावहारिक महत्व पनि छ।
यसबाट उल्कापिण्ड ठोक्किँदा कति चट्टान र धुलो उड्छ भन्ने बुझ्दा इन्जिनियरलाई सुरक्षित ल्यान्डर र भविष्यका चन्द्र आधार निर्माण गर्न सहयोग पुग्नेछ। साथै उड्ने मलबा कति टाढासम्म पुग्न सक्छ र आसपासको जमिन कति बलियोसँग हल्लिन सक्छ भन्ने पत्ता लगाउन पनि मद्दत हुनेछ।
यस्तो घटना यसअघि पनि भएको थियो
चन्द्रमाको सतहमुनिबाट बाहिर निस्किएको सामग्रीले चन्द्रमाको भूविज्ञानबारे नयाँ जानकारी दिन सक्छ। यसले करिब ४ अर्ब ५० करोड वर्षअघि पृथ्वी–चन्द्रमा प्रणाली कसरी बनेको थियो भन्ने बुझ्न वैज्ञानिकलाई सहयोग गर्छ।
मानव निर्मित वस्तु चन्द्रमामा ठोक्किएको यो पहिलो घटना भने होइन। सन् १९५९ यता दर्जनौँ अन्तरिक्ष यान चन्द्रमामा ठोक्किएका छन्। तीमध्ये केही दुर्घटनावश र धेरैजसो वैज्ञानिक अनुसन्धानका लागि जानाजानी ठोक्काइएका थिए।
सोभियत संघको लुना २ यस्तो अभियान गर्ने पहिलो मिशन थियो। त्यसपछि सन् १९६० को दशकमा नासाका रेन्जर मिसन, अपोलो युगका धेरै रकेट चरण र सन् २००९ मा एलक्रस मिसन चन्द्रमामा ठोक्किएका थिए।
एलक्रसलाई पानीको बरफ खोज्न जानाजानी चन्द्रमामा ठोक्काइएको थियो।
सन् २०२२ मा भएको पछिल्लो पुष्टि भएको आकस्मिक ठक्कर सन् २०१४ मा प्रक्षेपण गरिएको चिनियाँ चन्द्र अभियानको बाँकी बुस्टरका कारण भएको थियो। यसले यस्तो अन्तरिक्ष मलबा आधा शताब्दीभन्दा बढी समयदेखि चुपचाप अन्तरिक्षमा जम्मा हुँदै आएको तथ्यलाई पनि देखाउने बीबीसीहिन्दीले उल्लेख गरेको छ।
प्रकाशित: २३ श्रावण २०८३, शनिबार