काठमाडौं ।
सोमबार बिटक्वाइनको मूल्य ८६,००० डलरभन्दा माथि पुगेको छ र पछिल्ला केही दिनयता यस क्रिप्टोकरेन्सीको मूल्यमा तीव्र वृद्धि जारी छ।
‘क्वाइनमेट्रिक्स’ का अनुसार, बिटक्वाइन करिब ५.८ प्रतिशतले बढेर ८५,८६३.४० डलरमा कारोबार भइरहेको थियो। यसअघि सोही दिन यसको मूल्य ८६,३४९.९० डलरसम्म पुगेको थियो, जुन जनवरी २९ यताकै उच्च विन्दु हो।
अक्टोबर २०२५ मा बिटक्वाइनको मूल्य १,२६,००० डलरभन्दा माथि पुगेर ऐतिहासिक उचाइ कायम गरेपछि सुरु भएको ‘क्रिप्टो विन्टर’ (डिजिटल सम्पत्तिको मूल्यमा आएको मन्दीको अवधि) अब समाप्त भयो वा भएन भन्नेबारे लगानीकर्ताहरूले विश्लेषण गरिरहेका सीएनबीसीले रिपोर्ट गरेको छ।
यद्यपि यस वर्ष बिटकोइनको मूल्य अझै पनि समग्रमा घटेको अवस्थामा छ, तर पछिल्लो एक सातामा यसमा ८ प्रतिशतभन्दा बढी र पछिल्लो ३ महिनामा ३४ प्रतिशतले वृद्धि भएको छ। तथापि, यसको मूल्य अझै पनि आफ्नो ऐतिहासिक उच्च विन्दुभन्दा निकै तल छ।
सोमबार अमेरिकी बजारको कारोबारमा ‘स्ट्रेटजी’ र ‘कोइनबेस’ लगायत क्रिप्टो-सम्बन्धित कम्पनीका सेयरहरू उकालो लागेका थिए।
अमेरिकी सिनेटले गत साता ‘क्लारिटी एक्ट’ लाई अघि बढ्नबाट रोकेको भए पनि यो मूल्य वृद्धि देखिएको छ। उक्त विधेयकले अमेरिकामा क्रिप्टोका लागि एउटा संरचना तयार पार्ने तथा यस क्षेत्रको नियमनको जिम्मेवारी ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसन’ र ‘कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसन’ बीच बाँडफाँड गर्ने व्यवस्था गरेको थियो।
प्रकाशित: ६ आश्विन २०८३, मंगलवार