ह्वावेले सार्वजनिक गर्यो डाटा सेन्टरमा एनभिडियासँग प्रतिस्पर्धा गर्ने नयाँ प्रयास: एटलस ९६०ई सुपरपड

  • Technology Khabar | ६ आश्विन २०८३, मंगलवार
ह्वावेले सार्वजनिक गर्यो डाटा सेन्टरमा एनभिडियासँग प्रतिस्पर्धा गर्ने नयाँ प्रयास: एटलस ९६०ई सुपरपड

काठमाडौं ।

चिनियाँ प्रविधि कम्पनी ह्वावे पछिल्लो समय चीनको प्रमुख सेमिकन्डक्टर कम्पनीका रूपमा अगाडि आएको छ। कम्पनीले कृत्रिम बुद्धिमताका डाटा सेन्टरमा आफ्नो ध्यान बढाउँदै लगेको छ।

सेमिकन्डक्टर उपकरण र सेवामा निर्यात प्रतिबन्ध लगाएर चीनको प्रविधिगत विकास रोक्ने अमेरिकी रणनीतिका कारण चीनलाई चिप प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर बन्न ठूलो दबाब परेको छ।

यस प्रयासमा ह्वावे प्रमुख कम्पनीका रूपमा अगाडि आएको छ। ह्वावे पनि अमेरिकी प्रतिबन्धको मुख्य निशानामा पर्दै आएको कम्पनी हो।

टेलिकम्स डटकमका अनुसार यसै महिनाको सुरुवातमा ह्वावेले ६ वर्षपछि आफ्नो पहिलो प्रमुख स्मार्टफोन चिप सार्वजनिक गरेको थियो। यसले अमेरिकी प्रतिबन्धबाट प्रभावित नभएका प्रविधि प्रयोग गर्दै विश्वका उत्कृष्ट चिपसँग प्रतिस्पर्धा गर्ने आफ्नै सेमिकन्डक्टर उत्पादन प्रविधिको विकासमा सफलता हासिल गरेको संकेत गरेको थियो।

किरीन ९०५० प्रो हाल उपलब्ध सबैभन्दा उन्नत स्मार्टफोन चिपसँग कति प्रतिस्पर्धी छ भन्ने अझै स्पष्ट हुन बाँकी छ। तर यसले ह्वावेको योजनालाई भने स्पष्ट रूपमा देखाएको छ।

हालै ह्वावेले सांघाईमा कनेक्ट २०२६ कार्यक्रम सुरु गरेको छ। कार्यक्रममा कृत्रिम बुद्धिमता, डाटा सेन्टरलगायतका विषयमा केन्द्रित गरिएको छ। कार्यक्रमको मुख्य घोषणा एटलस ९६०ई सुपरपड रहेको छ।

यो अमेरिकी चिप कम्पनी एनभिडियाका समान उत्पादनसँग प्रतिस्पर्धा गर्न डिजाइन गरिएका विभिन्न नयाँ प्रविधि समावेश गरिएको कम्प्युट क्लस्टर हो। यसमा डाटा सेन्टरका विभिन्न भागबीच डाटा स्थानान्तरणलाई तीव्र बनाउने नयाँ प्रविधि, पियरियम नामको नयाँ आर्किटेक्चर र ‘एनपीओ अप्टिकल इन्जिन’ भनिने हाई-वन प्रविधि समावेश छन्।

कार्यक्रममा ह्वावेका रोटेटिङ अध्यक्ष डेभिड वाङले कम्पनीले आफ्नो एसेन्ड चिप सिरिजलाई प्रत्येक वर्ष नयाँ पुस्ता ल्याउने योजनाअनुसार विकास गरिरहेको बताए।

उनले भने, “हामी एक पुस्ता प्रतिवर्षको चक्रमा आफ्नो एसेन्ड चिप सिरिज विकास गरिरहेका छौं। सन् २०२८ र २०२९ मा क्रमशः एसेन्ड ९७० र ९८० चिप ल्याउनेछौं। टाउ स्केलिङ कानुनका कारण तिनको कम्प्युट क्षमतामा निरन्तर दोब्बर वृद्धि मात्र हुनेछैन, मेमोरी ब्यान्डविथ, मेमोरी क्षमता, इन्टरकनेक्ट ब्यान्डविथलगायतका क्षेत्रमा पनि ठूलो सुधार देखिने अपेक्षा गर्न सकिन्छ।”

रोयटर्सका अनुसार ह्वावेका अर्का रोटेटिङ अध्यक्ष एरिक सुले यो प्रविधिको घरेलु मागलाई जोड दिएका छन्। उनले चीनभित्रकै माग पूरा गर्न पर्याप्त उत्पादन क्षमता नभएकाले तत्काल पूर्ण रूपमा अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने ह्वावेको योजना नरहेको बताए।

एनभिडियाका चिपमा चीनले भोगिरहेको प्रतिबन्धका कारण चिनियाँ बजार ह्वावेका लागि सुनिश्चित भएको र एनभिडिया वा एएमडीजस्ता कम्पनीको उत्कृष्ट प्रविधिमा पहुँच भएका अवस्थामा अन्य देशका ग्राहकले ह्वावेका डाटा सेन्टर चिप किन रोज्ने भन्ने प्रश्न पनि उठेको छ।

सुले भने, “चिप बिक्री गर्ने वा नगर्ने अरूको इच्छामा हाम्रो भविष्य निर्भर हुने र आफ्नो भाग्य नियन्त्रण गर्न नसक्ने अवस्था हामी स्वीकार गर्न सक्दैनौं। चिनियाँ सरकार, चीनको उद्योग वा ह्वावेका लागि होस्, चिपमा पूर्ण आत्मनिर्भरता हासिल गर्ने प्रयास अगाडि बढाउनु नै बाटो हो।”

अमेरिकामा हालै भएको अल-इन समिट कार्यक्रममा एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले सन् २०३० सम्ममा चीनले उन्नत लिथोग्राफी अर्थात् चिप उत्पादन प्रविधिमा अमेरिकी प्रभाव क्षेत्रसँगको दूरी पूरा गरिसक्ने बताएका थिए।

उनको यो अनुमानले तीव्र रूपमा अघि बढिरहेको कृत्रिम बुद्धिमता क्षेत्रलाई थप गति दिन खोजेको हो वा होइन भन्ने स्पष्ट छैन। तर यस्तो अवस्था आएमा त्यो महत्वपूर्ण क्षण हुने उनको भनाइ थियो।

ह्वावेले आफ्ना पछिल्ला घोषणालाई त्यही दिशातर्फको महत्वपूर्ण कदमका रूपमा प्रस्तुत गरेको छ। तर कम्पनीसामु अझै धेरै प्राविधिक चुनौती छन्। रेडियो फ्री मोबाइलले निकट भविष्यमा चिप प्रविधिमा ह्वावेले प्रतिस्पर्धी कम्पनीलाई उछिन्ने सम्भावनाप्रति शंका व्यक्त गरेको छ।

कम्पनीका अनुसार अहिले समान स्तरको कम्प्युट क्षमता उत्पादन गर्न ह्वावेको प्रणालीलाई एनभिडियाको समान प्रणालीभन्दा ६ गुणाभन्दा बढी स्रोत आवश्यक पर्छ। एक वर्षभित्र ह्वावेले यो अनुपात उल्लेख्य रूपमा घटाउन सकेमा हुआङको अनुमान थप सम्भावित देखिन सक्नेछ।

प्रकाशित: ६ आश्विन २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार