काठमाडौं ।
नेपाल टेलिकमले २०८३ भदौ महिनामा विभिन्न स्थानमा १३ वटा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याएको जनाएको छ।
टेलिकमका अनुसार नयाँ साइटहरू बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी पाँच प्रदेशका ११ जिल्लामा सञ्चालनमा ल्याइएको हो।
टेलिकमले आज एक विवरण सार्वजनिक गर्दै बागमती प्रदेशअन्तर्गत ललितपुरका ललितपुर वडा नं. ३ कार्यालय र र्याङ डाँडा तथा चितवनको मोहनपुरमा नयाँ मोबाइल साइट सञ्चालनमा आएको जनाएको छ।
त्यस्तै गण्डकी प्रदेशअन्तर्गत नवलपुरको पोखरी डाँडा र लमजुङको मध्य मर्स्याङ्दीमा साइट सञ्चालनमा ल्याइएको छ।
लुम्बिनी प्रदेशमा कपिलवस्तुको धरमपानी तथा पाल्पाका रामपुर र होङ्सी माइन् क्षेत्रमा नयाँ साइट सञ्चालनमा आएको टेलिकमले जनाएको छ।
कर्णाली प्रदेशअन्तर्गत जुम्लाको कनकासुन्दरी र सुर्खेतको जुम्ला रोडमा नयाँ साइट सञ्चालनमा आएका छन्।
यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुराको बडीमालिका, डडेल्धुराको गाडरसेत र दार्चुलाको रिठावापाटा क्षेत्रमा नयाँ टूजी/फोरजी मोबाइल साइट सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ।
टेलिकमका अनुसार भदौमा सञ्चालनमा आएका यी १३ साइट पाँच प्रदेशका ११ जिल्लामा रहेका छन्। नयाँ साइट सञ्चालनसँगै ती क्षेत्रमा मोबाइल सेवाको पहुँच विस्तार भएको टेलिकमको भनाइ छ।
प्रकाशित: ६ आश्विन २०८३, मंगलवार