काठमाडौं ।
फोन कलमार्फत पीडितको प्रणालीमा प्रवेश गरी फिरौती माग्ने ह्याकरहरूले पछिल्लो एक महिनामा अमेरिकाका दर्जनौं प्रमुख वित्तीय संस्था तथा अन्य व्यवसायलाई निशाना बनाएको गुगल र इन्टरनेट इन्टेलिजेन्ससम्बन्धी तथ्यांकले देखाएको छ।
तथ्यांकअनुसार ह्याकरहरूले ब्ल्याकस्टोन, ब्रिजवाटर एसोसिएट्स, अपोलो ग्लोबल म्यानेजमेन्ट, बेन क्यापिटल, केकेआर, टीपीजी, सीएमई ग्रुप, क्लियरलेक क्यापिटल र मुडीज्सहित निजी इक्विटी फर्म तथा वित्तीय कम्पनीका कर्मचारीको पासवर्ड चोरी गर्न वेबसाइटहरू तयार गरेका थिए।
गुगलले बिहीबार प्रकाशित गरेको ह्याकिङ अभियानसम्बन्धी ब्लग पोस्टमा ह्याकरहरूले रेड्याक्ट, पिंक, फाल्कन र हेलिक्सलगायत विभिन्न नाम प्रयोग गर्ने बताएको छ।
गुगलले निष्कर्षबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ। गुगलको ब्लगअनुसार केही कम्पनीले ह्याकरलाई फिरौती रकमसमेत तिरेका थिए। तर कुन कम्पनी सफलतापूर्वक ह्याक भएको थियो भन्ने रोयटर्सले पुष्टि गर्न सकेन।
विज्ञहरूका अनुसार वित्तीय क्षेत्रलाई निशाना बनाउन ह्याकरहरूले फोन कलजस्ता सामान्य प्रविधि प्रयोग गर्नुले अत्याधुनिक सुरक्षा प्रणाली र एआईमा आधारित साइबर जोखिमका बाबजुद पुराना तरिका अझै प्रभावकारी रहेको देखाउँछ। सफल आक्रमण भए अमेरिकाका ठूला निजी इक्विटी फर्महरूसँग सम्बन्धित संवेदनशील डाटा चोरी हुन सक्छ।
“सुरक्षाको पर्खाल निकै आधुनिक र उच्च प्रविधिको भइसकेकाले अब हामीले ढोका खोल्न सुरक्षाकर्मीलाई नै झुक्याउनुपर्छ,” रिटेल एन्ड हस्पिटालिटी आईएसएसीका साइबरथ्रेट इन्टेलिजेन्स उत्पादन व्यवस्थापक ली क्लार्कले भने।
उनका अनुसार मानवीय पक्षकै कमजोरीका कारण यस्तो गतिविधि तीव्र रूपमा बढेको हो।
केकेआर, बेन क्यापिटल, क्लियरलेक क्यापिटल, सीएमई, टीपीजी र अपोलोले टिप्पणी गर्न अस्वीकार गरेका छन्। ब्ल्याकस्टोन, ब्रिजवाटर एसोसिएट्स र मुडीज्ले तत्काल टिप्पणीका लागि गरिएको अनुरोधको जवाफ दिएका छैनन्।
गुगलको नजरमा ह्याकर
अल्फाबेटको एकाइ गुगलले आफ्नो ब्लग पोस्टमा ह्याकरहरूले पछिल्लो समय निजी इक्विटी फर्म, कानुनी फर्म र वित्तीय रेटिङ एजेन्सीलाई निशाना बनाउन थालेको जनाएको छ।
गुगलको थ्रेट इन्टेलिजेन्स ग्रुपका प्रमुख थ्रेट विश्लेषक अस्टिन लार्सनले ह्याकरहरूले सामान्यतया आर्थिक हिसाबले फाइदा हुने क्षेत्रमा निशाना बनाउने र धेरैपटक सफल हुने बताए।
“यो वास्तवमै पैसाको कुरा हो,” लार्सनले भने। “यी फर्म वा संस्थासँग चोरी भएमा पैसा तिरेर रोक्न चाहने खालको संवेदनशील डेटा हुन्छ भन्ने उनीहरूको अनुमान हुन्छ।”
गुगलले ह्याकरहरूले निशाना बनाएका कुनै पनि कम्पनीको नाम सार्वजनिक गरेको थिएन। रोयटर्सले गुगलको रिपोर्टमा उल्लेख गरिएका ७२ वटा हानिकारक वेबसाइटलाई डोमेनटुल्स र युआरएलस्क्यानजस्ता वेब इन्टेलिजेन्स प्लेटफर्ममार्फत परीक्षण गरी धेरै कम्पनीका लागि तयार गरिएका अनलाइन जालहरू पहिचान गरेको थियो।
सबडोमेनहरूबारे बोल्दै लार्सनले ती सबै सम्भावित रूपमा ह्याकिङ प्रयासमा प्रयोग भएको बताए। तर ती सबै आक्रमण सफल नभएको उनले स्पष्ट पारे।
गुगलका अनुसार ह्याकरहरूले “अत्यन्तै योजनाबद्ध सामाजिक इन्जिनियरिङ प्रविधि” प्रयोग गरेका थिए। उनीहरूले कर्मचारीको व्यक्तिगत मोबाइल नम्बरमा फोन गरी आफू कम्पनीको हेल्प डेस्कबाट फोन गरेको बताउँथे। कतिपय अवस्थामा उनीहरूले कम्पनीको वास्तविक हेल्प डेस्कको फोन नम्बरसमेत देखाउने गरेका थिए।
ह्याकरहरूले लक्षित कर्मचारीलाई आईटी विभागबाट पासकी वा मल्टिफ्याक्टर अथेन्टिकेसन अपडेट गर्न तत्काल निर्देशन आएको बताएका थिए। त्यसपछि उनीहरूले कर्मचारीलाई “passkeyhelpdesk” वा “secure-passkey” जस्ता डोमेन नाम भएका नक्कली वेबसाइटमा लैजान्थे।
कर्मचारीले त्यहाँ आफ्नो पासवर्ड राखेमा ह्याकरहरूले त्यसपछि आवश्यक हुने प्रमाणीकरण कोड पनि फोनमार्फत तत्काल प्राप्त गर्थे। यस्तो कोड सामान्यतया एसएमएसमार्फत पठाइन्छ वा एपबाट उत्पन्न हुन्छ। त्यसपछि फोन कल समाप्त हुनुअघि नै ह्याकरहरूले खातामा नियन्त्रण लिन्थे।
लार्सनका अनुसार यो प्रविधिलाई विशेष रूपमा उन्नत मान्नु गलत हुनेछ।
“यसलाई परिष्कृत भन्नु सही शब्द होइन,” उनले भने। “यो केवल निकै प्रभावकारी छ।”
बदलिँदा ह्याकरका नाम
रोयटर्सले आरोपित ह्याकरहरूसँग सम्पर्क गर्न नसकिएको उल्लेख गरेको छ। पहिले ब्ल्याकफाइल नामबाट चिनिएको रेड्याक्टले आफ्नो डार्कनेट वेबसाइटमा आफ्ना ह्याकरहरू “राजनीतिक वा नैतिक उद्देश्यबाट प्रेरित नभएको” र “हाल सञ्चारमाध्यमका प्रश्नको जवाफ नदिइरहेको” जनाएको छ।
फाल्कनले आफ्नो वेबसाइटमा आफू रेड्याक्टसँग सम्बन्धित रहेको स्वीकार गरेको छ। तर हेलिक्स वा पिंकसँग आफ्नो कुनै सम्बन्ध नरहेको बताएको छ।
लार्सनले ह्याकरहरू वास्तवमा को हुन् र उनीहरूबीच कस्तो सम्बन्ध छ भन्ने स्पष्ट नभएको बताए। उनीहरूले फरक–फरक नाम प्रयोग गरे पनि समान पूर्वाधारबाट जोडिएको देखिएको उनको भनाइ छ।
“यहाँ अझै केही कुरा स्पष्ट हुन बाँकी छन्,” उनले भने।
केही आक्रमणबारे यसअघि ब्लुमबर्गले पनि समाचार प्रकाशित गरेको थियो। पछिल्लो ह्याकिङ प्रयासले वाल स्ट्रिटमा चिन्ता बढाएको छ।
उदाहरणका लागि, स्रोतका अनुसार पोइन्ट७२ एसेट म्यानेजमेन्टले बुधबार आफ्ना लगानीकर्तालाई आफू ह्याकरको निशानामा परेको जानकारी दिएको थियो।
ती स्रोत र घटनाबारे जानकार अर्को स्रोतका अनुसार ह्याकरहरूले टु सिग्मा इन्भेस्टमेन्ट्स र सिटाडेलसहित अन्य हेज फन्डमा पनि प्रवेश गर्ने प्रयास गरेका थिए। रोयटर्सले समीक्षा गरेको तथ्यांकमा पनि यी कम्पनीका नाम देखिएका थिए।
टु सिग्माले टिप्पणीका लागि पठाइएको सन्देशको जवाफ दिएको छैन। सिटाडेल र पोइन्ट७२ले टिप्पणी गर्न अस्वीकार गरेका छन्।
गुगलको ब्लग पोस्ट र तथ्यांकअनुसार वित्तीय संस्थातर्फ ध्यान केन्द्रित गर्नुअघि ह्याकरहरूले अन्य धेरै कम्पनीलाई पनि निशाना बनाएका थिए।
तथ्यांकअनुसार पछिल्लो पाँच सातामात्रै साइबर अपराधीहरूले २०० भन्दा बढी कम्पनीका लागि डिजिटल जाल तयार गरेका थिए। यसमा राइड–हेलिङ कम्पनी उबर, अनलाइन ब्रोकर जिलोलो र जिन्स ब्रान्ड लेभी स्ट्राउसका साथै पल हेस्टिङ्स र ग्रिनबर्ग ट्राउरिगजस्ता कानुनी फर्म पनि थिए।
उबर, जिलोलो, पल हेस्टिङ्स र लेभी स्ट्राउसले टिप्पणीका लागि पठाइएको सन्देशको जवाफ दिएका छैनन्। ग्रिनबर्ग ट्राउरिगले आफ्नो सुरक्षा प्रणालीका विभिन्न तहका कारण कम्पनीमा डेटा चोरी नभएको जनाएको छ। कम्पनीले यसबारे थप विवरण दिएको छैन।
प्रकाशित: २३ श्रावण २०८३, शनिबार