काठमाडौं ।
आगामी अगस्ट १२ मा स्पेनबाट देखिने खग्रास सूर्यग्रहणलाई वैज्ञानिकहरूले सूर्यको चुम्बकीय क्षेत्र, बाह्य वायुमण्डल र सौर्य आँधीको रहस्य बुझ्ने दुर्लभ अवसरका रूपमा उपयोग गर्ने तयारी गरेका छन्। चन्द्रमाले केही समयका लागि सूर्यलाई पूर्ण रूपमा ढाक्ने भएकाले सामान्य अवस्थामा देख्न कठिन हुने सूर्यको बाहिरी तहको प्रत्यक्ष अध्ययन गर्न सहज हुने वैज्ञानिकहरूको विश्वास छ।
खग्रास सूर्यग्रहणका क्रममा चन्द्रमाले सूर्यको तीव्र प्रकाश छेक्ने भएकाले वैज्ञानिकहरूले सूर्यको कोरोना र क्रोमोस्फियरको विस्तृत अवलोकन गर्नेछन्। फ्रान्सको आणविक ऊर्जा आयोग (सिइए) का खगोलशास्त्री एलन साचा ब्रुनका अनुसार यस अध्ययनले सूर्यको गतिविधिलाई सञ्चालन गर्ने भौतिक प्रक्रियालाई अझ राम्रोसँग बुझ्न र यसको दीर्घकालीन विकासक्रमको व्याख्या गर्न सहयोग पुर्याउनेछ।
वैज्ञानिकहरूले सूर्यबाट निरन्तर निस्कने आवेशित कण, प्लाज्मा र सौर्य आँधीको व्यवहारबारे पनि थप जानकारी सङ्कलन गर्ने योजना बनाएका छन्। यस्ता सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रभाव पार्दा भूउपग्रह, अन्तरिक्षयान, सञ्चार प्रणाली र विद्युत् सञ्जालमा अवरोध सिर्जना गर्न सक्छन् भने ध्रुवीय क्षेत्रमा देखिने अरोरा पनि यिनै प्रक्रियाको परिणाम मानिन्छ।
ब्रुनका अनुसार सूर्यको गतिविधि करिब ११ वर्षको चक्रमा चल्ने गर्छ र सन् २०२४ मा वर्तमान २५औँ चक्रको उच्च विन्दुमा पुगेको थियो । उनले चन्द्रमा सूर्यभन्दा करिब ४०० गुणा सानो भए पनि पृथ्वीसँग लगभग ४०० गुणा नजिक भएकाले खग्रास सूर्यग्रहण सम्भव भएको उल्लेख गर्दै यसलाई वैज्ञानिकका लागि असाधारण प्राकृतिक अवसरका रूपमा व्याख्या गरे।
सामान्य अवस्थामा वैज्ञानिकहरूले कोरोनोग्राफयुक्त अन्तरिक्ष उपकरणबाट सूर्यको बाहिरी वायुमण्डल अध्ययन गर्ने भए पनि खग्रास सूर्यग्रहणले कोरोना र सूर्यको सतहबीच रहेको क्रोमोस्फियरलाई प्रत्यक्ष अवलोकन गर्ने दुर्लभ अवसर प्रदान गर्छ । सूर्यको कोरोना करिब एक करोड किलोमिटरसम्म फैलिएको भए पनि यसको तापक्रम २० लाख डिग्री सेल्सियससम्म पुग्न सक्छ।
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले पनि ग्रहणका क्रममा सौर्य हावा र सौर्य आँधीको संरचना तथा त्यसको पूर्वानुमानसम्बन्धी अध्ययन गर्ने जनाएको छ । इएसएका विज्ञान निर्देशक क्यारोल मुन्डेलकाअनुसार सौर्य आँधी कसरी विकसित हुन्छ र त्यसको विश्वसनीय पूर्वानुमान कसरी गर्न सकिन्छ भन्ने विषय अहिलेको प्रमुख अनुसन्धानको केन्द्रमा रहेको छ ।
सन् २०२० मा प्रक्षेपण गरिएको इएसएको ‘सोलार अर्बिटर’ यानले सूर्यको वातावरणबारे नियमित तथ्याङ्क सङ्कलन गरिरहेको छ भने ‘प्रोबा–३’ अभियानले अन्तरिक्षमै कृत्रिम सूर्यग्रहण सिर्जना गरेर अनुसन्धान गरिरहेको छ । भविष्यमा ‘मेसोम’ नामक अर्को अभियानमार्फत चन्द्रमाको छायाबाट अझ लामो समय सूर्यको अध्ययन गर्ने योजना पनि अघि बढाइएको छ ।
युनिभर्सिटी कलेज लन्डनकी सौर्य भौतिकशास्त्री लुसी ग्रीनले खग्रास सूर्यग्रहण वैज्ञानिक मात्र नभई, कलाकार र सर्वसाधारणका लागि पनि प्रेरणाको स्रोत रहेको बताउँदै यस्ता प्राकृतिक घटनाले अन्तरिक्ष विज्ञानसम्बन्धी नयाँ अनुसन्धानलाई निरन्तर ऊर्जा प्रदान गर्ने बताइन्। रासस/एएफपी
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार