काठमाडौं ।
चिनियाँ अप्टिकल मोड्युल निर्माता कम्पनीहरूको सेयर बुधबार तीव्र रूपमा घटेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चिनियाँ डाटा सेन्टरका नयाँ मोडेलका कम्पोनेन्ट आयातमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको रोयटर्सको समाचारपछि लगानीकर्ताले ती कम्पनीका सेयर बिक्री गरेका हुन्।
टेलिकम्युनिकेसन सर्भिसेज सूचकांक प्रारम्भिक कारोबारमा ९ प्रतिशतसम्म घट्यो।
निर्यातमा निर्भर अप्टिकल मोड्युल निर्माता कम्पनीहरू झोङ्जी इनोलाइट, इओप्टोलिङ्क टेक्नोलोजी र सुझोउ टीएफसी अप्टिकल कम्युनिकेसन्सको सेयर पनि उल्लेखनीय रूपमा घट्यो।
रोयटर्सका अनुसार अमेरिकी सरकारले राष्ट्रिय सुरक्षाको आधारमा चीनमा बनेका नयाँ अप्टिकल ट्रान्ससिभर आयातमा प्रतिबन्ध लगाउने उपाय तयार गरिरहेको छ। यी उपकरणले डाटा सेन्टरभित्र फाइबर अप्टिक केबलमार्फत प्रकाशको गतिमा डाटा आदानप्रदान गर्न सहयोग गर्छन्।
यस समाचारले चीनका एआई हार्डवेयर कम्पनीका सेयरप्रति लगानीकर्ताको विश्वासमा थप असर पार्ने जोखिम देखिएको छ। यद्यपि केही विश्लेषकले बजारले आवश्यकता भन्दा बढी प्रतिक्रिया दिएको हुन सक्ने बताएका छन्।
जेफ्रिजले एक नोटमा “ट्रम्प प्रशासनले यस्तो प्रतिबन्ध वास्तवमै लागू गर्ने सम्भावना कम रहेको” उल्लेख गरेको छ।
कम्पनीका अनुसार यो कदम सेप्टेम्बरमा राष्ट्रपति सी चिनफिङको अमेरिका भ्रमणअघि वार्तामा दबाब सिर्जना गर्ने रणनीति हुन सक्छ, विशेषगरी चीनले दुर्लभ धातु (रेयर अर्थ) निर्यातमा लगाएको नियन्त्रणका कारण अमेरिकी अप्टिक्स उद्योग प्रभावित भइरहेका बेला।
बुधबार यसको मनोवैज्ञानिक प्रभाव स्पष्ट देखिएको थियो। घरेलु चिप निर्माता कम्पनीहरूको सेयर बढिरहेका बेला लगानीकर्ताले अप्टिकल मोड्युल कम्पनीहरूको सेयर बिक्री गरे।
बजार मूल्यका आधारमा चीनको दशौं ठूलो सूचीकृत कम्पनी झोङ्जी इनोलाइटको सेयर सांघाई र हङकङ दुवै बजारमा करिब १० प्रतिशत घट्यो।
कम्पनीले यस वर्षको पहिलो त्रैमासिकमा आफ्नो ६२ प्रतिशत आम्दानी अमेरिकी बजारबाट गरेको थियो। यसअघि कम्पनीले चीन–अमेरिका व्यापार तनाव बढेमा आफ्नो प्रदर्शनमा ठूलो गिरावट आउन सक्ने वा घाटा हुन सक्ने चेतावनी दिएको थियो।
विदेशी बजारबाट ९६ प्रतिशत बिक्री गर्ने इओप्टोलिङ्क टेक्नोलोजीको सेयर १० प्रतिशत घट्यो। विदेशी बजारमा धेरै निर्भर टीएफसी अप्टिकलको सेयर पनि करिब ६ प्रतिशतले ओरालो लाग्यो।
सांघाईस्थित कानुनी फर्म डाचेङका साझेदार झान काईले अमेरिकाको यो कदम आश्चर्यजनक नभएको बताए। उनका अनुसार चीनप्रतिको अमेरिकी नीति व्यापार असन्तुलनको चिन्ता र चीनको प्राविधिक विकासलाई सीमित गर्ने प्रयासबाट निर्देशित छ।
उनले अमेरिका अब चीनतर्फ प्रविधि हस्तान्तरण रोक्ने नीतिबाट अघि बढेर चिनियाँ लगानी र चिनियाँ कम्पनीको आफ्नो बजारमा पहुँचसमेत रोक्ने दिशामा गएको बताए।
झानका अनुसार चिनियाँ कम्पनीहरूले अब प्रविधि प्राप्त गर्नेभन्दा पनि आफ्ना ग्राहक र लक्षित बजार विविधीकरण गर्न प्राथमिकता दिनुपर्छ।
प्रकाशित: २१ श्रावण २०८३, बिहीबार