एसके टेलिकमको हाइपर–एआई कन्सोर्टियमका लागि एरिक्सन एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदार चयन

  • Technology Khabar | २१ श्रावण २०८३, बिहीबार
एसके टेलिकमको हाइपर–एआई कन्सोर्टियमका लागि एरिक्सन एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदार चयन

काठमाडौं ।

एरिक्सनलाई एसके टेलिकम नेतृत्वको हाइपर–एआई नेटवर्क इन्फ्रास्ट्रक्चर डेमोन्स्ट्रेसन परियोजनाका लागि एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि साझेदारका रूपमा चयन गरिएको छ। यो परियोजना दक्षिण कोरियाली सरकारको समर्थनमा एआई–र्यान र फिजिकल एआई प्रविधिको परीक्षणका लागि सञ्चालन हुँदैछ।

यस परियोजनाको उद्देश्य कोरियाको राष्ट्रिय “एआई हाइवे” रणनीतिअन्तर्गत एआई– र्यान पाइलट नेटवर्कको परीक्षण गर्नुका साथै एआई र ६जी प्रविधिमा नेतृत्व स्थापित गर्ने लक्ष्यलाई अघि बढाउनु हो।

हाइपर–एआई नेटवर्क इन्फ्रास्ट्रक्चर डेमोन्स्ट्रेसन परियोजनाले फिजिकल एआई सेवाका लागि आवश्यक अति न्यून विलम्बता, उच्च विश्वसनीयता, फरक प्रकारको कनेक्टिभिटी, ठूलो क्षमताको अपलिङ्क, वितरित एआई कम्प्युटिङ, गतिशीलता र नेटवर्क स्वचालन क्षमताको परीक्षण गर्नेछ। यसको प्रयोग स्वचालित यातायात, औद्योगिक सुरक्षा अनुगमन तथा मानवजस्तै रोबोट सञ्चालनजस्ता क्षेत्रमा हुन सक्ने बताइएको छ।

एरिक्सनले सम्पूर्ण नेटवर्क पूर्वाधार उपलब्ध गराउनेछ, जसले बुद्धिमान मेसिन र स्वचालित औद्योगिक प्रणालीलाई जोड्ने, समन्वय गर्ने र निरन्तर अनुकूलन गर्ने काम गर्ने कम्पनीले जनाएको छ।

नेटवर्क, एआई, रोबोटिक्स र औद्योगिक क्षेत्रका कम्पनीहरू सम्मिलित कन्सोर्टियमसँग मिलेर एसके टेलिकमले सन् २०२७ सम्म एआई–र्यान पाइलट नेटवर्क निर्माण गर्ने र तीनवटा फिजिकल एआई सेवाको प्रदर्शन गर्ने योजना बनाएको छ।

परियोजनामा एआई–र्यान मार्फत उपकरण, रेडियो पहुँच नेटवर्क, एज पूर्वाधार र डाटा सेन्टरबीच कम्प्युटिङ क्षमता वितरण गरिनेछ। यसले उपकरणको कार्यभार घटाउने, प्रतिक्रिया समय सुधार गर्ने, ब्याट्री आयु बढाउने र जटिल औद्योगिक वातावरणमा वास्तविक समयमा भरपर्दो निर्णय लिन सहयोग गर्ने अपेक्षा गरिएको छ।

यस परियोजनामा एरिक्सन एआई र्यान, एरिक्सन इन्टेलिजेन्ट अटोमेसन प्लेटफर्म (ईआईएपी) तथा एआईद्वारा सञ्चालित आरएप्स प्रयोग गरिनेछ। यसको उद्देश्य भविष्यका नेटवर्कलाई केवल कनेक्टिभिटीका लागि नभई फिजिकल एआई सेवाको आधारका रूपमा विकास गर्न सकिने देखाउनु हो।

एरिक्सनले उन्नत रेडियो पहुँच नेटवर्क (र्यान), ५जी स्ट्यान्डअलोन, एआई– र्यान प्रविधि र बुद्धिमान नेटवर्क स्वचालन समेटिएको पाइलट नेटवर्कको विकास र प्रदर्शनमा योगदान गर्ने जनाएको छ।

कम्पनीका अनुसार यसको योगदान नेटवर्क सञ्चालनका लागि एआईमा मात्र सीमित नभई र्यान भित्रको एआई र समय–संवेदनशील ५जी एड्भान्स्ड क्षमतासम्म फैलिएको हुनेछ।
परियोजनाको दोस्रो चरणमा एरिक्सनको एआई– र्यान पाइलट नेटवर्क केजी मोबिलिटीको प्योङटेक कारखानाको वास्तविक लजिस्टिक्स वातावरणमा प्रयोग गरिनेछ।

एरिक्सनको कोरिया ग्राहक इकाइ प्रमुख सिबेल टोम्बाजले सरकार समर्थित यस परियोजनामा प्रमुख विश्वव्यापी प्रविधि साझेदारका रूपमा चयन हुनु कम्पनीको प्रविधिगत नेतृत्व र एसके टेलिकमसँगको दीर्घकालीन सहकार्यको मान्यता भएको बताए।

एसके टेलिकमका नेटवर्क अनुसन्धान तथा विकास प्रमुख ताक्की यूले यो परियोजना कोरियाको हाइपर–एआई नेटवर्क रणनीतिअन्तर्गतको प्रमुख राष्ट्रिय परियोजना भएको भन्दै एरिक्सनसँगको सहकार्यबाट एआई–र्यान प्रविधिको विकास, व्यावहारिक औद्योगिक उपयोग र भविष्यका लागि कोरियाको एआई–र्यान प्रणालीलाई मजबुत बनाउन सहयोग पुग्ने बताए।

एसके टेलिकमले गत महिना हाइपर–एआई नेटवर्क इन्फ्रास्ट्रक्चर विकास परियोजना घोषणा गर्दा एरिक्सन, नोकिया, सामसुङ र निजी मोबाइल नेटवर्क कम्पनी एचएफआरले आवश्यक उपकरण तथा नेटवर्क समाधान उपलब्ध गराउने जानकारी दिएको थियो।

तर पछिल्लो घोषणामा एरिक्सनलाई “मुख्य कन्सोर्टियम साझेदारका रूपमा चयन गरिएको एकमात्र विश्वव्यापी नेटवर्क प्रविधि कम्पनी”, “मुख्य प्रविधि साझेदार” र “मुख्य साझेदारहरूमध्ये एकमात्र विश्वव्यापी आपूर्तिकर्ता” भनेर उल्लेख गरिएको छ। अन्य उपकरण आपूर्तिकर्ताहरू परियोजनाका कुन पक्षमा संलग्न हुनेछन् भन्ने विषय भने स्पष्ट गरिएको छैन।

 

प्रकाशित: २१ श्रावण २०८३, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार