स्टारलिङ्क र एआई व्यवसायको तीव्र वृद्धिसँगै स्पेसएक्सको आम्दानी दोब्बर नजिक

  • Technology Khabar | २० श्रावण २०८३, बुधबार
स्टारलिङ्क र एआई व्यवसायको तीव्र वृद्धिसँगै स्पेसएक्सको आम्दानी दोब्बर नजिक

काठमाडौं ।

एलन मस्क नेतृत्वको स्पेसएक्सले सेयर बजारमा सूचीकृत भएपछि पहिलो पटक सार्वजनिक गरेको वित्तीय प्रतिवेदनमा कम्पनीको आम्दानी झन्डै दोब्बर भएको जनाएको छ।

स्टारलिङ्क स्याटेलाइट सञ्चार सेवा र एआई व्यवसायको तीव्र वृद्धिले आम्दानी बढे पनि कम्पनीले महत्वाकांक्षी योजनाका लागि ठूलो लगानी अझै जारी रहने जनाएको छ।

रोयटर्सका अनुसार स्पेसएक्सले डिसेम्बरसम्म वार्षिक आम्दानीको दर १०० अर्ब डलर पुग्ने अपेक्षा गरेको छ। कम्पनीले एआई कम्प्युटिङ पूर्वाधारमा गरिएको नयाँ लगानीको प्रतिफल एक वर्षभन्दा कम समयमा प्राप्त हुने दावी गरेको छ।

साथै, आगामी एक वर्षभित्र कम्तीमा १,००० वटा नयाँ पुस्ताका भीथ्री स्टारलिङ्क स्याटेलाइट प्रक्षेपण गर्ने र मोबाइल सेवा प्रदायकहरूसँग प्रतिस्पर्धा गर्ने योजना पनि सार्वजनिक गरेको छ।

जुन ३० मा समाप्त भएको त्रैमासिक अवधिको नतिजाले १.७५ ट्रिलियन डलर मूल्यांकन भएको स्पेसएक्सको व्यवसायिक रणनीतिको पहिलो परीक्षण प्रस्तुत गरेको छ।

कम्पनीले स्टारलिङ्कबाट हुने नाफालाई एआई, डाटा सेन्टर र नयाँ पुस्ताका रकेट विकासमा लगानी गर्दै ती व्यवसाय परिपक्व भएपछि दीर्घकालीन आम्दानीको स्रोत बनाउने लक्ष्य राखेको छ।

कम्पनीको एआई व्यवसायले व्यावसायिक प्रगतिको संकेत देखाए पनि त्यसको विस्तारका लागि ठूलो खर्च आवश्यक रहेको व्यवस्थापनले जनाएको छ।

एलन मस्कले नतिजापछि भएको छलफलमा कम्पनीले ठूलो स्तरमा एआई कम्प्युटिङ क्षमता विस्तार गरिरहेको र आफ्ना एआई मोडललाई निरन्तर सुधार गरिरहेको बताए।

स्पेसएक्सले अप्रिलदेखि जुनसम्मको अवधिमा ७.८ अर्ब डलर आम्दानी गरेको छ, जुन एक वर्षअघिको ४.१ अर्ब डलरको तुलनामा झन्डै दोब्बर हो। एलएसईजीको तथ्यांकअनुसार यो विश्लेषकहरूको अनुमानभन्दा बढी हो। कुल आम्दानीको आधाभन्दा बढी हिस्सा ओगटेको स्टारलिङ्कको आम्दानी ६६ प्रतिशत बढेको छ भने एआई व्यवसायबाट हुने आम्दानी करिब २५० प्रतिशतले वृद्धि भएको छ।

यद्यपि कम्पनीको पूँजीगत खर्च पनि तीव्र रूपमा बढेको छ। यो खर्च एक वर्षअघिको २.८३ अर्ब डलरबाट बढेर १८ अर्ब डलरभन्दा बढी पुगेको छ। वित्त प्रमुख ब्रेट जोन्सेनले आगामी केही त्रैमासिकसम्म पनि पूँजीगत खर्च यही स्तरमा रहने अपेक्षा गरिएको बताए। एआई क्षेत्रमा मात्र दोस्रो त्रैमासिकमा १५.८३ अर्ब डलर लगानी गरिएको छ, जुन एक वर्षअघि ७४९ मिलियन डलर थियो।

investing.com का विश्लेषक थोमस मोन्टेइरोले सार्वजनिक कम्पनी बनेपछि स्पेसएक्सको पहिलो त्रैमासिकको मुख्य प्रश्न कम्पनीको व्यवसायिक मोडलले वास्तवमै काम गर्छ कि गर्दैन भन्ने रहेको र प्रारम्भिक नतिजाले केही सकारात्मक संकेत दिएको बताए।

नतिजा सार्वजनिक भएपछि नियमित कारोबारअघि ९.४ प्रतिशत बढेको स्पेसएक्सको सेयर मूल्य आफ्टर-आवर्स कारोबारमा ७.५ प्रतिशत घटेको थियो। जुनमा भएको आईपीओपछि कम्पनीको सेयर मूल्य हालसम्म ८ प्रतिशत घटिसकेको छ।

बिहीबारदेखि लागू हुने पोस्ट-आईपीओ ‘लक-अप’ अवधि समाप्त भएपछि भित्री लगानीकर्ता र प्रारम्भिक सेयरधनीहरूले सेयर बिक्री गर्न पाउने भएकाले बजारमा थप दबाब पर्न सक्ने विश्लेषण गरिएको छ।

स्टारलिङ्क र स्पेसएक्सको कनेक्टिभिटी व्यवसाय कम्पनीको प्रमुख आम्दानीको स्रोत बनेको छ र यही आम्दानीले एआई रणनीतिलाई समर्थन गरिरहेको छ। तर केही आलोचकहरूले स्टारलिङ्कको नाफाबाट एआई व्यवसाय र स्टारशिप कार्यक्रमलाई लामो समयसम्म सञ्चालन गर्नु दिगो रणनीति नहुन सक्ने बताएका छन्।

दोस्रो त्रैमासिकमा कम्पनीको कुल सञ्चालन घाटा ९७० मिलियन डलरबाट घटेर १४३ मिलियन डलरमा झरेको छ। एआई व्यवसायको सञ्चालन घाटा पनि घटेको छ भने स्टारलिङ्कको सञ्चालन आम्दानी ७९ प्रतिशतले बढेको छ।

Zacks Investment Management का प्रमुख बजार रणनीतिकार ब्रायन मुलबेरीले एआई व्यवसायले अहिले नै आम्दानी गर्न थालेको देखिनु स्पेसएक्सका लागि ठूलो सकारात्मक संकेत भएको र कम्पनी अब एआई सञ्चालनका लागि पूर्ण रूपमा स्टारलिङ्कको नाफामा निर्भर नरहेको बताए।

प्रकाशित: २० श्रावण २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार