काठमाडौं ।
नेपालमा इलेक्ट्रिक तथा दूरसञ्चासम्बद्ध अन्य उपकरण तथा सामग्रीहरु झैं सिम कार्डको आयात पनि बढ्दो क्रममा रहेको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को २०८३ असार महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा २४ करोड २५ लाख ७६ हजार रुपैयाँ बराबरको सिम कार्ड आयात भएको छ।
उक्त अवधिसम्म माथि उल्लिखित रकम बराबरको ६३ लाख ४२ हजार ४६६ थान सिम कार्ड आयात भएको विवरणमा उल्लेख छ।
सरकारले उक्त परिमाणको सिम कार्ड आयातबाट यो अवधिमा ५ करोड ८९ लाख ५९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १२ मुलुकबाट सिम कार्ड आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट २४ करोड ५ लाख ६२ हजार रुपैयाँ बराबरको ६२ लाख ११ हजार ३९९ थान सिम कार्ड आयात भएको छ। यसैगरी मेक्सिकोबाट ९ लाख १७ हजार बराबरको ९३ हजार थान, बेलायतबाट ६ लाख ९८ हजार बराबरको २५ हजार ५०२ थान, अस्ट्रेलियाबाट २ लाख ६२ हजार बराबरको १२ हजार १ थान सिम कार्ड आयात भएको छ।
यसैगरी दक्षिण कोरियाबाट १ लाख १७ हजार बराबरको ५०१ थान, अमेरिकाबाट ९ हजार बराबरको ३ थान, जापानबाट ३ हजार बराबरको ५० थान, भारतबाट ३ हजार बराबरको ४ थान सिम कार्ड भित्रिएको छ।
यस्तो छ विवरणः
| क्रं.सं. | देश | विवरण | रकम (हजारमा) |
| १ | चीन | ६२११३९९ | २४०५६२ |
| २ | मेक्सिको | ९३००० | ९२१ |
| ३ | बेलायत | २५५०२ | ६९८ |
| ४ | अस्ट्रेलिया | १२००१ | २६२ |
| ५ | दक्षिण कोरिया | ५०१ | ११७ |
| ६ | जापान | ५० | ३ |
| ७ | अमेरिका | ३ | ९ |
| ८ | भारत | ४ | ३ |
| ९ | डेनमार्क | १ | ० |
| १० | कुवेत | १ | ० |
| ११ | कतार | २ | ० |
| १२ | सिङ्गापुर | २ | ० |
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार