काठमाडौं ।
इन्टरनेट एक्सचेन्ज अपरेटर डीई–सिक्सले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार क्लाउड कनेक्टिभिटीसम्बन्धी समस्याका कारण आईटी टोलीहरूले हरेक हप्ता एक कार्यदिवसभन्दा बढी समय खर्च गर्नुपरेको छ।
अमेरिका र बेलायतका ४०० उद्यममा सेन्ससवाइडले गरेको सर्वेक्षणमा आधारित प्रतिवेदनअनुसार ९६ प्रतिशत सहभागीले आफ्नो नेटवर्क भविष्यका क्लाउड र एआई पहलका लागि तयार रहेको बताएका छन्। तर औसतमा प्रत्येक आईटी टोलीले क्लाउड कनेक्टिभिटी समस्या समाधान गर्न हरेक हप्ता ११ घण्टाभन्दा बढी समय खर्च गरिरहेको पाइएको छ।
प्रतिवेदनमा एआई पूर्वाधार विस्तारमा अर्बौं डलर लगानी भइरहे पनि धेरै उद्यमहरूले प्रयोगकर्ता, अनुप्रयोग, डाटा र क्लाउड वातावरणलाई जोड्ने नेटवर्कलाई पर्याप्त प्राथमिकता नदिएको उल्लेख गरिएको छ।
यसमा सन् २०३० सम्म विश्वभरका कम्पनीहरूले डेटा सेन्टर पूर्वाधारमा करिब ७ ट्रिलियन डलर लगानी गर्ने र त्यसको ४० प्रतिशतभन्दा बढी हिस्सा अमेरिकामा हुने उल्लेख छ। साथै बेलायतले जुलाई २०२४ यता निजी क्षेत्रको एआई पूर्वाधारमा ६० अर्ब डलर लगानी गरिसकेको जनाएको छ।
टेलिकम्स डटकमका अनुसार डीई–सिक्सका प्रमुख कार्यकारी अधिकृत इभो इभानोभले एआईका कारण जीपीयू, डाटा सेन्टर र कम्प्युटिङ क्षमतामा ध्यान केन्द्रित भए पनि तिनलाई जोड्ने नेटवर्कबिना ती लगानीको पूर्ण लाभ प्राप्त नहुने बताए।
उनका अनुसार हरेक एआई अनुप्रयोग प्रयोगकर्ता, क्लाउड र एआई पूर्वाधारबीच डेटा छिटो, सुरक्षित र भरपर्दो रूपमा आदानप्रदान हुने नेटवर्कमा निर्भर हुन्छ। सर्वेक्षणले धेरै उद्यमहरूले अझै पनि यस्तो कनेक्टिभिटी कायम राख्न ठूलो समय खर्च गरिरहेको देखाएको उनले बताए।
प्रतिवेदनअनुसार ३५ प्रतिशतभन्दा बढी संस्थाले हरेक हप्ता ११ देखि २० घण्टा कनेक्टिभिटी समस्या समाधानमा खर्च गर्छन् भने करिब १० प्रतिशत संस्थाले २१ देखि ४० घण्टासम्म खर्च गर्ने बताएका छन्। यसले नेटवर्क संरचनाले एआई अपनाउने प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने देखाएको इभानोभले बताए।
प्रतिवेदनमा डाटा कहाँ भण्डारण, प्रशोधन र स्थानान्तरण हुन्छ भन्ने विषयमा उद्यमहरूले बढी नियन्त्रण खोज्न थालेकाले डाटा सार्वभौमिकता क्लाउड रणनीतिको महत्वपूर्ण पक्ष बनेको उल्लेख गरिएको छ।
परिवर्तनशील नियम, भूराजनीतिक अनिश्चितता र डिजिटल लचिलोपनसम्बन्धी चिन्ताका कारण आगामी एक वर्षमा २३ प्रतिशत सहभागीले डाटा सार्वभौमिकता र भूराजनीतिलाई सबैभन्दा ठूलो क्लाउड कनेक्टिभिटी चुनौतीका रूपमा औंल्याएका छन्।
अन्य प्रमुख चुनौतीमा २८ प्रतिशतले ढिलो कार्यसम्पादन वा लेटेन्सी, २७ प्रतिशतले सुरक्षा कमजोरी तथा डिडिओएस (डीडीओएस) आक्रमण, र २६ प्रतिशतले सेवा अवरोध वा विश्वसनीयताको समस्या उल्लेख गरेका छन्। कनेक्टिभिटीको लागत, दक्ष जनशक्तिको अभाव तथा डेटा प्रवाहमाथिको सीमित नियन्त्रण पनि प्रमुख चिन्ताका विषय बनेका छन्।
प्रतिवेदनले क्लाउड र एआई एक्सचेन्जमार्फत प्रत्यक्ष कनेक्टिभिटी अपनाउँदा उद्यमहरूले व्यवस्थापनलाई केन्द्रित गर्न, क्लाउड तथा नेटवर्क साझेदारसँगको जडान सरल बनाउन, सार्वजनिक इन्टरनेटमाथिको निर्भरता घटाउन तथा लेटेन्सी, विश्वसनीयता, सुरक्षा र डाटा प्रवाहमा राम्रो नियन्त्रण प्राप्त गर्न सक्ने जनाएको छ।
इभानोभका अनुसार यदि औसत आईटी टोलीले हरेक हप्ता ११.५ घण्टा कनेक्टिभिटी समस्या समाधानमै खर्च गरिरहेको छ भने त्यो समय बचत गरेर एआई कार्यान्वयन, क्लाउड आधुनिकीकरण, सुरक्षा सुधार र प्रयोगकर्ताको अनुभव बढाउने काममा लगाउन सकिन्छ।
उनले विशेषगरी साना कम्पनीहरू कनेक्टिभिटी समस्याबाट बढी प्रभावित भएको उल्लेख गर्दै महत्त्वपूर्ण डेटा ट्राफिकलाई सार्वजनिक इन्टरनेटको सट्टा निजी प्रत्यक्ष नेटवर्कमार्फत सञ्चालन गर्दा प्रयोगकर्ता, अनुप्रयोग, क्लाउड र डेटा वातावरणबीच थप भरपर्दो र पूर्वानुमानयोग्य जडान बनाउन सकिने बताए।
यसैबीच, गार्टनरले गत महिना सार्वजनिक गरेको प्रतिवेदनमा यस वर्षको उत्तरार्धमा डाटा सेन्टरमा हुने पूँजीगत लगानी तीव्र रूपमा बढ्ने र सन् २०२६ मा कुल लगानी १ ट्रिलियन डलर नाघ्ने अनुमान गरिएको छ।
डेल’ओरो ग्रुपको अर्को प्रतिवेदनअनुसार पहिलो त्रैमासिकमा अमेजन, गुगल, मेटा र माइक्रोसफ्ट गरी अमेरिकाका चार प्रमुख क्लाउड सेवा प्रदायकको डेटा सेन्टर खर्च वार्षिक आधारमा ७८ प्रतिशतले बढेको छ।
प्रकाशित: १५ श्रावण २०८३, शुक्रबार