काठमाडौं ।
एप्पलविरुद्ध आफ्नो एप स्टोरको सुरक्षा व्यवस्थामा लापरवाही गरेको आरोप लगाउँदै अमेरिकामा मुद्दा दायर भएको छ।
अमेरिकाको उत्तरी क्यालिफोर्निया जिल्ला अदालतमा शुक्रबार दायर गरिएको मुद्दामा तीन जनाले नक्कली क्रिप्टो वालेट एप डाउनलोड गर्दा ठगिएको र त्यसबाट उनीहरूले संयुक्त रूपमा १८ लाख डलरभन्दा बढी बराबरको बिटक्वाइन गुमाएको दावी गरेका छन्।
मुद्दा एप्पलको एप स्टोरमा उपलब्ध एपहरू सार्वजनिक गर्नुअघि समीक्षा गरेर प्रयोगकर्तालाई ठगी तथा हानिकारक एपबाट सुरक्षित राख्ने दावीमा केन्द्रित छ।
उनीहरूका अनुसार उनीहरुले आईओएसका लागि उपलब्ध नभएको स्प्यारो वालेट नामको एप डाउनलोड गरेका थिए। उजुरीअनुसार उनीहरूले आफ्नो बिटक्वाइन उक्त नक्कली एपमा स्थानान्तरण गरेपछि ठूलो परिमाणमा क्रिप्टोकरेन्सी गुमाएका थिए।
उजुरीअनुसार जेम्स रामिरेजले करिब ८ लाख ७५ हजार डलर, क्रिस्टोफर एलिसले करिब ८ लाख ४० हजार डलर र जालेन डेलगाडोले करिब १ लाख २० हजार डलर बराबरको बिटक्वाइन गुमाएका छन्।
टेकक्रञ्चका अनुसार मुद्दामा एप्पलले एप स्टोरमाथिको कडा नियन्त्रणका कारण आफ्नो प्लेटफर्म प्रतिस्पर्धीहरूको तुलनामा बढी सुरक्षित रहेको दावी गर्दै आएको विषयलाई पनि चुनौती दिइएको छ। कम्पनीले तेस्रो पक्षका एप स्टोर र साइडलोडिङलाई अनुमति दिने प्रयासहरूको विरोध गर्दै यही सुरक्षा दावी प्रयोग गर्दै आएको छ।
उजुरीमा एप्पलले आफ्ना उत्पादन र सेवाहरूलाई अन्य प्रविधि कम्पनीभन्दा बढी सुरक्षित र विश्वासयोग्य भएको भन्दै लामो समयदेखि प्रचार गर्दै आएको उल्लेख गरिएको छ।
साथै एप स्टोरमार्फत वितरण हुने एपहरू सुरक्षित हुने आश्वासन दिएको र कुन एप आईफोनमा उपलब्ध हुने भन्ने पूर्ण नियन्त्रण आफैंसँग राखेर प्रयोगकर्तालाई आफ्नै सुरक्षा दाबीमा निर्भर बनाएको आरोप लगाइएको छ।
उजुरीमा स्प्यारो बिटक्वाइन वालेटका निर्माता क्रेग रले एप्पलले नक्कली स्प्यारो वालेट एपहरू एप स्टोरमा रहन दिएको भन्दै सार्वजनिक रूपमा आलोचना गरेको विषय पनि उल्लेख गरिएको छ।
उजुरीकर्ताहरुले जुरीमार्फत सुनुवाइको माग गर्दै आफूहरूले गुमाएको रकम र अन्य क्षतिपूर्ति दिलाउन आग्रह गरेका छन्। साथै एप स्टोरमा रहेका सम्भावित जोखिमबारे एप्पलले स्पष्ट चेतावनी र जानकारी उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।
एप्पलले यस मुद्दाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। तर कम्पनीले अर्काको नक्कल गर्ने एपहरू आफ्ना नियमविपरीत हुने र त्यस्ता एप हटाउन छिटो कदम चालिने जनाएको छ। साथै हाल एप स्टोरमा स्प्यारो वालेटको कुनै नक्कली एप नरहेको पनि एप्पलले जनाएको छ।
कम्पनीले सन् २०२५ सम्बन्धी आफ्नो पछिल्लो विश्लेषण उद्धृत गर्दै अरू एपको नक्कल गर्ने, स्पाम हुने वा प्रयोगकर्तालाई भ्रममा पार्ने ३ लाख ७१ हजारभन्दा बढी एप आवेदन अस्वीकृत गरेको जनाएको छ।
प्रकाशित: १३ श्रावण २०८३, बुधबार