नेपालमा ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच रणनीतिक सहकार्य

  • Technology Khabar | ९ श्रावण २०८३, शनिबार
नेपालमा ‘एआई इन जर्नलिज्म वर्कसप’ आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच रणनीतिक सहकार्य

काठमाडौं ।

क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा ‘एआई इन जर्नलिज्म वर्कसप’ हुने भएको छ। उक्त कार्यक्रममा विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान) का अध्यक्ष चिरञ्जीवी अधिकारी र, महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा ‘एआई इन जर्नलिज्म वर्कसप’ (पत्रकारितामा एआई कार्यशाला) आयोजना हुने भएको हो।

कार्यक्रम जुलाई २६ (साउन १०) गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ। नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई बढावा दिन यो कार्यक्रम एउटा महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको आयोजकले जनाएको छ।

यस अभियानलाई मूर्तरूप दिन क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारी र फेजाका अध्यक्ष शर्मिला ठकुरीबीच हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको हो।

कार्यक्रमको एआई पार्टनर रहेको सनवे कलेज काठमाडौंका निर्देशक सिमोली देसाई, र टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (टिबान) का अध्यक्ष सन्तोष ढुङ्गानाले हस्ताक्षर गरेका छन्।

फेजाका अध्यक्ष शर्मिला ठकुरीले यस पहलको उच्च प्रशंसा गर्दै डिजिटल युगमा प्राविधिक रूपमा सक्षम हुनका लागि यो एआई इन जर्नलिज्म कार्यशाला विशेष गरी महिला पत्रकारहरूका लागि अत्यन्तै फलदायी हुने बताइन्।

सहकार्यको उद्देश्यमाथि प्रकाश पार्दै क्यान महासंघका अध्यक्ष चिरञ्जीवी अधिकारीले आधुनिक न्युजरुमहरूमा प्रविधिको भूमिका अपरिहार्य रहेको उल्लेख गरे।

फेजासँगको यस रणनीतिक साझेदारीले पत्रकारिता क्षेत्रमा देखा पर्ने वित्तीय वा डाटासम्बन्धी ठगी पहिचान गर्न र समाजमा फैलाइने मिथ्या सूचना भ्रामक सूचना तथा फेक न्युजलाई न्यूनीकरण गर्न एआई औजारहरूको सही प्रयोग सिकाउने उनले थपे।

क्षेत्रगत विज्ञहरूद्वारा प्राविधिक प्रशिक्षण

दुई घण्टा चल्ने यस सघन कार्यशालामा नेपालको सूचना प्रविधि र सञ्चार क्षेत्रका प्रतिष्ठित विज्ञहरूले प्रशिक्षण दिनेछन्।

यो कार्यशाला पत्रकार, डिजिटल मार्केटर, कन्टेन्ट क्रिएटर र मिडिया सञ्चालकहरूलाई लक्षित गरी तयार पारिएको छ। आयोजकका अनुसार यसमा निम्न विषयहरू समेटिनेछन्ः

  • सञ्चार माध्यममा एआईको आधारभूत पक्षः आधुनिक सञ्चारमा आर्टिफिसियल इन्टेलिजेन्सको आधारभूत क्षमता बुझ्ने।
  • एआई–सहायता प्राप्त समाचार संकलन र उत्पादनः समाचारका स्रोतहरू खोज्न र तिनलाई व्यवस्थित गर्न एआईको प्रयोग।
  • डाटा जर्नलिज्म र स्वचालित सामग्री निर्माणः जटिल तथ्याङ्कहरूको विश्लेषण र द्रुत अपडेटहरू तयार पार्न एल्गोरिदमको प्रयोग।
  • सम्पादकीय र न्युजरुम औजारहरूः न्युजरुमको कार्यक्षमता बढाउन र तार्किक प्रस्तुति दिन एआई टूल्सको प्रयोग।
  • दर्शक जोड्ने र वैयक्तिकीकरणः एआई(सञ्चालित रिकमन्डेसन सिस्टममार्फत पाठक वा दर्शकलाई बाँधिराख्ने उपाय।
  • प्रोटोटाइपिङ र टुल विकासः आफ्नै न्युजरुमका लागि आवश्यक एआई टूल्सको परीक्षण र विकास गर्ने तरिका।
  • व्यावहारिक सीप विकासः विशेष गरी एआई प्रविधि प्रयोग गरेर द्रुत र गुणस्तरीय भिडियो एडिटिङ सम्बन्धी व्यावहारिक अभ्यास।

प्रकाशित: ९ श्रावण २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार