काठमाडौं ।
गुगल अर्थमा देखिएको विशाल खाल्डो प्राचीन उल्कापिण्ड ठोक्किएको निशान हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
क्यानडाको उत्तर क्षेत्रमा छुट्टी मनाउन जाने योजना बनाएका एक शौखिन खगोलप्रेमीले दुई वर्षअघि गरेको अवलोकन अहिले सम्भावित नयाँ उल्कापिण्ड प्रभाव खाल्डो (इम्प्याक्ट क्रेटर) को खोजमा परिणत भएको छ।
सन् २०२४ मा क्युबेकको कोट-नोर्ड क्षेत्रमा पर्ने लेक मार्साल आसपासको यात्रा योजना बनाउन गुगल म्याप्स प्रयोग गरिरहेका जोएल लापोइन्टले असामान्य भू–आकृति देखे। उनले यो उल्कापिण्ड ठोक्किएर बनेको खाल्डो हुन सक्ने अनुमान गर्दै क्यानडाको वेस्टर्न विश्वविद्यालयसँग सम्बन्धित क्राउडसोर्सिङ वेबसाइट इम्प्याक्ट अर्थमा जानकारी पठाए।
स्पेस डटकमका अनुसार सन् २०२५ मा वेस्टर्न विश्वविद्यालयका ग्रह भूवैज्ञानिक गर्डन ओसिन्स्कीले उक्त क्षेत्रमा पुगेर प्रारम्भिक अध्ययन गर्दा यो वास्तवमै उल्कापिण्ड प्रभावबाट बनेको खाल्डो हुन सक्ने र हालैका वर्षमा फेला परेका सबैभन्दा ठूलोमध्ये एक हुन सक्ने बताए। करिब ३९ करोड वर्ष पुरानो यो संरचनाको चौडाइ झण्डै २५ किलोमिटर रहेको छ।
हाल स्कटल्यान्ड भ्रमणमा रहेका ओसिन्स्कीले स्पेस डटकमसँगको इमेल अन्तर्वार्तामा आफ्नो जानकारीअनुसार यस आकारको पछिल्लो खोज सन् २०१८ मा ग्रीनल्यान्डमा भेटिएको करिब ३१ किलोमिटर चौडा हियावाथा संरचना रहेको बताए। तर त्यो संरचना बरफमुनि भएकाले यसको वास्तविक आकार र उत्पत्तिबारे अझै विवाद रहेको उनले बताए।
नयाँ खाल्डोलाई स्थानीय इनु समुदायको सहमतिमा “उहाकाटिक” नाम दिइएको छ। ओसिन्स्कीको टोलीले त्यहाँ उल्कापिण्ड ठोक्किँदा उत्पन्न हुने उच्च ताप र शक्तिशाली धक्काका कारण चट्टानमा हुने “शक मेटामोर्फिक प्रभाव” स्पष्ट रूपमा फेला पारेको जनाएको छ।
उनका अनुसार टोलीले प्रभावका कारण चट्टान पग्लिएर फेरि जम्दा बन्ने “इम्प्याक्ट मेल्ट रक्स” पनि भेटाएको छ। यस्ता चट्टानहरू सामान्यतया समयसँगै क्षय भएर हराउने भएकाले सुरक्षित अवस्थामा भेटिनु ठूलो उपलब्धि भएको उनले बताए।
धेरै प्रमाण सूक्ष्मदर्शीबाट मात्र देखिने भए पनि अनुसन्धान टोलीले स्थलमै प्रभावका कारण बनेका “शाटर कोन” भनिने शाखायुक्त चट्टानी संरचना देख्न सकेको जनाएको छ। यो अध्ययन अझै सहकर्मी समीक्षा (पियर रिभ्यु) भएको छैन, तर आगामी अगस्टमा जर्मनीको फ्र्याङ्कफर्टमा हुने ८८औँ मेटियोरिटिकल सोसाइटीको वार्षिक बैठकमा प्रस्तुत गरिनेछ।
वैज्ञानिकहरूका अनुसार करिब ४० करोड वर्ष पुराना पृथ्वीका प्रभाव खाल्डा भेट्टाउन निकै कठिन हुन्छ, किनभने समयसँगै भूगर्भीय गतिविधि र क्षयका कारण तिनको स्वरूप परिवर्तन हुन्छ। यस्ता प्रमाणले चन्द्रमा, मंगल ग्रह र अन्य चट्टानी ग्रहमा उल्कापिण्डको प्रभावबारे राम्रोसँग बुझ्न सहयोग पुर्याउँछन्।
ओसिन्स्कीका अनुसार उमेरका हिसाबले चन्द्रमाको प्रसिद्ध टाइको खाल्डो उहाकाटिक ३९ करोड वर्षअघि कस्तो देखिन्थ्यो भन्ने बुझ्न राम्रो उदाहरण हो।
पृथ्वीमा भने उत्तरी ल्याब्राडोरस्थित कामेस्टास्टिन (मिस्टास्टिन) खाल्डोसँग यसको धेरै समानता रहेको उनले बताए। नासाको आर्टेमिस–२ अभियानका अन्तरिक्षयात्रीहरूले चन्द्र अभियानको तयारीका लागि सन् २०२३ मा यही खाल्डोमा भूवैज्ञानिक अभ्यास गरेका थिए।
उहाकाटिक वास्तवमै अन्तरिक्षबाट आएको उल्कापिण्डको प्रभावबाट बनेको हो भन्ने अन्तिम पुष्टि गर्न अनुसन्धानकर्ताहरूले अहिले चट्टानका नमुनाको सूक्ष्मदर्शीमार्फत अध्ययन गरिरहेका छन्। त्यस क्रममा उच्च तापमा पग्लिएको संकेत दिने रासायनिक प्रमाण तथा क्वार्ट्जमा भएको विकृति खोजिनेछ।
यसैबीच ओसिन्स्कीले नासासँगको चन्द्र अनुसन्धान पनि जारी राखेका छन्। उनी सन् २०२८ देखि सुरु हुन सक्ने आर्टेमिस–४ र आर्टेमिस–५ चन्द्र अवतरण अभियानका अन्तरिक्षयात्रीलाई सहयोग गर्ने भूवैज्ञानिक टोलीमा रहनेछन्।
प्रकाशित: ६ श्रावण २०८३, बुधबार