टोखा नगर क्षेत्रमा सिसी क्यामरा जडान गरिँदै

  • Technology Khabar | २० भाद्र २०८३, शनिबार
टोखा नगर क्षेत्रमा सिसी क्यामरा जडान गरिँदै

काठमाडौं ।

काठमाडौँको टोखा नगरपालिकाले रु चार करोड लागतमा सिसी क्यामरा जडान गर्ने भएको छ। टोखाले नगर क्षेत्रभित्रको शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन तथा सुशासनलाई थप प्रभावकारी बनाउन अत्याधुनिक प्रविधिको सिसी क्यामरा जडान गर्न लागेको हो।

सिसी क्यामरा जडान गर्न नगरपालिका र काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीबीच बिहीबार समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी र काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सुशीलसिंह राठौरले हस्ताक्षर गरे।

सम्झौताअनुसार चालु आवको अन्त्यसम्म नगरपालिकाभित्र पहिचान गरिएका मुख्यमुख्य चोक तथा संवेदनशील स्थानमा प्रहरीले निर्धारण गरेको मापदण्डअनुसार सिसीटिभी जडान गरिनेछ। नगरपालिकाले सिसी क्यामरा जडानका लागि जनता सुरक्षा कार्यक्रमअन्तर्गत रु चार करोड उपलब्ध गराउनेछ। सिसीटिभी प्रणाली खरिद तथा जडानसम्बन्धी प्रक्रिया भने प्रचलित सार्वजनिक खरिद कानुनबमोजिम काठमाडौँ उपत्यका प्रहरी कार्यालयले गर्नेछ।

सिसी क्यामरा जडानसँगै टोखाभित्रको सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाउनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार प्रणालीको सञ्चालन, व्यवस्थापन तथा अनुगमनका लागि नगरपालिका र प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त समिति रहनेछ ।

समितिले प्रणालीबाट प्राप्त उपलब्धि तथा नगरको सुरक्षा र सुशासनमा परेको प्रभावको मूल्याङ्कन गर्दै आगामी दिनमा यसको निरन्तरता, विस्तार र क्षमता अभिवृद्धिका लागि आवश्यक सिफारिस गर्नेछ ।

टोखा नगरपालिकामा यसअघि जडान भई सञ्चालनमा रहेका सिसीटिभी प्रणालीलाई समेत नयाँ प्रणालीसँग आबद्ध गर्दै एकीकृत सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाइने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित: २० भाद्र २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...