काठमाडौं ।
नेटफ्लिक्सले नयाँ नियामक विवरणमा अभिनेता तथा निर्देशक बेन एफ्लेकले सह-स्थापना गरेको एआई फिल्म निर्माण स्टार्टअप इन्टरपोजिटिभ खरिद गर्न ५८ करोड ७० लाख अमेरिकी डलर नगद भुक्तानी गरेको खुलासा गरेको छ।
स्ट्रिमिङ कम्पनीले मार्चमा यो अधिग्रहणको घोषणा गरेको थियो। त्यसबेला एफ्लेकले मानव सिर्जनशीलताको शक्तिलाई जोगाउन चाहेको बताएका थिए।
एफ्लेकका अनुसार इन्टरपोजिटिभका एआई उपकरणहरूले पोस्ट–प्रोडक्सनका क्रममा फिल्म निर्मातालाई भिडियो सुधार गर्न सहयोग गर्छन्। विशेषगरी छुटेका दृश्य, पृष्ठभूमि परिवर्तन वा गलत प्रकाशजस्ता वास्तविक उत्पादनसम्बन्धी समस्याहरू समाधान गर्न यी उपकरण उपयोगी हुने उनले बताएका थिए।
टेकक्रञ्चका अनुसार अधिग्रहण घोषणा गर्दा नेटफ्लिक्सले इन्टरपोजिटिभको सम्पूर्ण टोली कम्पनीमा आबद्ध हुने र एफ्लेक वरिष्ठ सल्लाहकारका रूपमा जोडिने जनाएको थियो। तर त्यसबेला सम्झौताको आर्थिक विवरण सार्वजनिक गरिएको थिएन।
पछि ब्लुमबर्गले यो सम्झौताको मूल्य ६० करोड डलरसम्म हुन सक्ने जनाएको थियो।
नेटफ्लिक्सले आफ्नो पछिल्लो आय प्रतिवेदनमा कम्पनीका करिब ३०० वटा शीर्षकमा यसअघि नै जेनेरेटिभ एआई प्रयोग भइसकेको जनाएको छ।
प्रकाशित: ५ श्रावण २०८३, मंगलवार