दिगो ग्रुप र घाम पावरले इटहरीमा सोलार ब्याट्री स्टोरेजसहितको स्मार्ट ईभी चार्जिङ स्टेशन बनाउने

  • Technology Khabar | ५ श्रावण २०८३, मंगलवार
दिगो ग्रुप र घाम पावरले इटहरीमा सोलार ब्याट्री स्टोरेजसहितको स्मार्ट ईभी चार्जिङ स्टेशन बनाउने

काठमाडौं ।

दिगो ग्रुप र घाम पावरले इटहरीस्थित दिगो चार्जप्वाइन्टमा सौर्य ऊर्जामा आधारित ब्याट्री ऊर्जा भण्डारण प्रणाली विकास गर्न रणनीतिक साझेदारी गरेका छन्।

दुवै कम्पनीबीच ब्याट्री इनर्जी स्टोरेज सिस्टम (बीईएसएस) विकाससम्बन्धी रणनीतिक टर्म शीटमा हस्ताक्षर भएको हो।

परियोजनाअन्तर्गत सौर्य ऊर्जा उत्पादन प्रणालीलाई अत्याधुनिक ब्याट्री भण्डारण प्रविधिसँग एकीकृत गरिनेछ। यसबाट उच्च विद्युत् माग हुने समयमा राष्ट्रिय प्रसारण प्रणालीमाथिको निर्भरता घटाउनुका साथै विद्युतीय सवारीसाधन चार्जिङमा नवीकरणीय ऊर्जाको प्रयोग बढाइने कम्पनीहरूले जनाएका छन्।

प्रस्तावित प्रणालीले दिनको समयमा सोलारबाट उत्पादन भएको अतिरिक्त विद्युत् ब्याट्रीमा सञ्चय गर्नेछ। सञ्चित ऊर्जा आवश्यकताअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्न प्रयोग गरिनेछ। यसले चार्जिङ केन्द्रमा ऊर्जा आपूर्तिको विश्वसनीयता बढाउने, विद्युत्को प्रभावकारी उपयोग गर्ने र अविरल चार्जिङ सेवा सञ्चालनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

दिगोका एकीकृत ऊर्जा समाधानतर्फका व्यवसाय प्रमुख नवीन अधिकारीले घाम पावरसँगको सहकार्य नेपालमा दिगो विद्युतीय सवारीसाधन इकोसिस्टम निर्माण गर्ने अभियानको महत्त्वपूर्ण उपलब्धि भएको बताए। “चार्जिङ स्टेसनमा सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीलाई एकीकृत गरेर विद्युतीय यातायातको भविष्यलाई थप स्मार्ट, स्वच्छ र भरपर्दो बनाउने पूर्वाधार निर्माण गर्दै छौँ,” उनले भने।

घाम पावरका प्राविधिक निर्देशक प्रदीप हुमागाईंले सौर्य ऊर्जा र ब्याट्री भण्डारण प्रणालीको संयोजनले ऊर्जा दक्षता बढाउनुका साथै नेपालमा विद्युतीय सवारीसाधन चार्जिङ पूर्वाधार सुदृढ बनाउन योगदान पुर्याउने बताए।

इटहरीमा विकास गरिने परियोजनालाई भविष्यमा देशभर स्थापना हुने स्वच्छ ऊर्जामा आधारित विद्युतीय सवारीसाधन चार्जिङ केन्द्रका लागि नमुना परियोजनाका रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ।

प्रकाशित: ५ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार