बेलायती ठूला कम्पनीका वित्त प्रमुख एआईप्रति थप आशावादी, भूराजनीतिक जोखिमको चिन्ता घट्दै

  • Technology Khabar | ५ श्रावण २०८३, मंगलवार
बेलायती ठूला कम्पनीका वित्त प्रमुख एआईप्रति थप आशावादी, भूराजनीतिक जोखिमको चिन्ता घट्दै
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)। सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

बेलायतका ठूला कम्पनीका प्रमुख वित्त अधिकृतहरू आफ्नो व्यवसायमा कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले सकारात्मक प्रभाव पार्नेमा पहिलेभन्दा बढी आशावादी देखिएका छन्। साथै भूराजनीतिक तनावप्रतिको चिन्ता पनि केही घटेको पाइएको छ।

लेखा तथा परामर्श कम्पनी डेलोइटले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार ७३ प्रतिशत बेलायती सीएफओले एआईले आफ्नो कम्पनीको कार्यसम्पादन सुधार्ने विश्वास व्यक्त गरेका छन्। गत वर्षको अन्त्यमा यस्तो विश्वास ५९ प्रतिशत र दुई वर्षअघि ३९ प्रतिशत मात्र थियो।

रोयटर्सका अनुसार सर्वेक्षणले विश्व अर्थतन्त्रप्रति कम्पनीहरूको दृष्टिकोण पनि केही सकारात्मक बन्दै गएको देखाएको छ। भूराजनीतिक जोखिमबारे ० देखि १०० अंकको मापनमा औसत चिन्ताको स्तर ७९ बाट घटेर ६८ मा झरेको छ। इरानसँगको द्वन्द्वका बाबजुद विश्व अर्थतन्त्रले अपेक्षाभन्दा राम्रोसँग त्यसको प्रभाव सामना गरेको डेलोइटले जनाएको छ।

यद्यपि, बेलायती अर्थतन्त्रको कमजोर उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमताप्रतिको चिन्ता भने लगभग यथावत् रहेको छ। यस विषयमा औसत चिन्ताको स्तर ६३ अंकमा कायम रहेको सर्वेक्षणले देखाएको छ।

ऊर्जा मूल्य वृद्धि तथा ऊर्जा सेवामा अवरोध आउने जोखिमप्रतिको चिन्ता पनि घटेको छ। पहिलो त्रैमासिकमा ७० अंक रहेको यस्तो चिन्ता अहिले ६० अंकमा झरेको छ।

डेलोइट यूकेका प्रमुख अर्थशास्त्री देबप्रतिम डेले भूराजनीतिक जोखिम र घरेलु प्रतिस्पर्धात्मकताप्रतिको चिन्ता अझै उच्च रहे पनि विश्व अर्थतन्त्रले इरानसँगको द्वन्द्वबाट अपेक्षाभन्दा कम असर बेहोरेको बताए। उनका अनुसार यही कारण कम्पनीहरू अझै पनि लागत कटौती र नगद प्रवाह ९क्यास कन्ट्रोल० लाई प्राथमिकतामा राखिरहेका छन्।

यो सर्वेक्षण जुलाई १ देखि १३ सम्म सञ्चालन गरिएको थियो, जसमा बेलायतका ५८ प्रमुख वित्त अधिकृत सहभागी थिए।

प्रकाशित: ५ श्रावण २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार