एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान

  • Technology Khabar | २४ असार २०८३, बुधबार
एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान
सांकेतिक तस्बिर। एआईको सहयोगमा तयार पारिएको।

काठमाडौं ।

कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकासलगायत अमूर्त सम्पत्तिमा भएको विश्वव्यापी लगानी एक हजार खर्ब अमेरिकी डलर नाघ्दै नयाँ कीर्तिमान कायम गरेको संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व बौद्धिक सम्पत्ति सङ्गठन (डब्लूआईपीओ) ले जनाएको छ।

डब्लूआईपीओका अनुसार अनुसन्धान तथा विकास, सफ्टवेयर, डाटा, ब्रान्ड, डिजाइन र संस्थागत ज्ञानमा हुने लगानी अहिले विश्व अर्थतन्त्रको बढ्दो आधार बन्दै गएको छ।

विश्व कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५७ प्रतिशत हिस्सा ओगट्ने २९ अर्थतन्त्रमा सन् २०२५ मा अमूर्त लगानी एक हजार खर्ब डलरभन्दा माथि पुगेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनमा संयुक्त राज्य अमेरिका, यूरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्र, बेलायत, जापान, भारतलगायत देश समेटिए पनि चीन समावेश गरिएको छैन।

डब्लूआईपीओ र रोमस्थित लुइस बिजनेस स्कुलले संयुक्त रूपमा सार्वजनिक गरेको ‘वल्र्ड इन्ट्यान्जिबल इन्भेस्टमेन्ट हाइलाइट्स २०२६’ प्रतिवेदनअनुसार सन् २००८ यता अमूर्त लगानी वार्षिक औसत ३.५ प्रतिशतले बढेको छ। सोही अवधिमा भौतिक सम्पत्तिमा भएको लगानीको वार्षिक वृद्धि भने करिब ०.९८ प्रतिशत मात्रै रहेको छ।

यसले विश्वव्यापी लगानीको स्वरूप स्थायी रूपमा परिवर्तन हुँदै गएको र मूल्य सिर्जनामा अमूर्त सम्पत्तिको भूमिका निरन्तर बढिरहेको प्रतिवेदनले जनाएको छ।

सन् २०२५ मा करिब ५०० खर्ब अमेरिकी डलरसहित संयुक्त राज्य अमेरिका अमूर्त लगानीमा सबैभन्दा अगाडि रहेको छ। यो दोस्रो स्थानको जापानको तुलनामा झन्डै छ गुणा बढी हो भने जर्मनी तेस्रो स्थानमा रहेको छ।

जिडिपीको अनुपातका आधारमा स्विडेन सबैभन्दा बढी अमूर्त लगानी गर्ने अर्थतन्त्र बनेको छ। त्यहाँ यस्तो लगानी जिडिपीको १७.४ प्रतिशत पुगेको छ। त्यसपछि संयुक्त राज्य अमेरिका १५.६ प्रतिशत र फ्रान्स १५.२ प्रतिशतका साथ रहेका छन्। वृद्धि दरका हिसाबले भारत, जापान र फिलिपिन्स अग्रस्थानमा रहेको प्रतिवेदनले देखाएको छ।

डब्लूआईपीओका अनुसार उच्च ब्याजदर, व्यापारिक तनाव र आर्थिक सुस्तताका बीच पनि अमूर्त लगानी भौतिक लगानीभन्दा बढी लचिलो देखिएको छ। सन् २०२० देखि २०२५ सम्म अमूर्त लगानी वार्षिक ५.५ प्रतिशतले बढ्दा भौतिक लगानीको वृद्धि ३.२ प्रतिशतमा सीमित भएको छ।

प्रतिवेदनले एआईलाई यस परिवर्तनको प्रमुख चालक मानेको छ। प्रारम्भिक चरणमा एआईले डाटा सेन्टर, सेमिकन्डक्टर र ऊर्जा पूर्वाधारमा भौतिक लगानी बढाए पनि यसको दीर्घकालीन प्रभाव मुख्यतः सफ्टवेयर, डाटा, अनुसन्धान तथा विकास र संस्थागत पुनर्संरचनामा हुने लगानीमार्फत देखिएको उल्लेख गरिएको छ।

सन् २०१३ देखि २०२३ सम्म सफ्टवेयर र डाटाबेस क्षेत्रमा भएको लगानी सबै अमूर्त सम्पत्ति समूहमा सबैभन्दा तीव्र, वार्षिक ७.३ प्रतिशतका दरले बढेको छ। सङ्गठनात्मक पूँजीमा ४.९ प्रतिशत र ब्रान्डमा ४.४ प्रतिशत वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।

ब्रान्डमा गरिएको लगानी पनि सन् २०२५ मा १४० खर्ब अमेरिकी डलर पुगेको छ। यसमध्ये संयुक्त राज्य अमेरिकाले ५६६ अर्ब डलरभन्दा बढी लगानी गर्दै अग्रस्थान कायम राखेको छ भने बेलायत १३७ अर्ब डलर र जापान ११२ अर्ब डलरसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

सन् १९६७ मा स्थापना भएको जेनेभास्थित डब्लूआईपीओले विश्वभरका सिर्जनशील व्यक्ति र उद्यमीलाई बौद्धिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनमा सहयोग गर्दै आएको छ।-रासस

प्रकाशित: २४ असार २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार