काठमाडौं ।
भारतका प्रधानन्यायाधीशले सरकारको आलोचना गर्ने युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ सँग तुलना गरेको भनिएको टिप्पणीपछि सामाजिक सञ्जालमा गरिएको एउटा व्यङ्ग्यात्मक पोस्टले अहिले विद्यार्थी असन्तुष्टि र विरोध आन्दोलनको रूप लिएको छ। इन्जिनियरिङ स्नातक अभिजीत डिप्केले गरेको उक्त पोस्ट केही घण्टामै भाइरल भएपछि लाखौँ युवाको समर्थन जुटेको छ भने आन्दोलन सामाजिक सञ्जालबाट सडकसम्म पुगेको छ।
संयुक्त राज्य अमेरिकामा रोजगारी खोजिरहेका ३० वर्षीय डिप्केले प्रधानन्यायाधीश सूर्य कान्तको टिप्पणीबाट आफू स्तब्ध भएको बताएका थिए। प्रधानन्यायाधीशले भने आफ्नो भनाइ सन्दर्भबाहिर प्रस्तुत गरिएको दाबी गरेका थिए। तीव्र आर्थिक वृद्धि भए पनि भारतमा लाखौँ युवा स्थायी र राम्रो आम्दानी हुने रोजगारीबाट वञ्चित रहेको अवस्थाले असन्तुष्टि बढाएको डिप्केको भनाइ छ।
उनले मे महिनामा एक्समा व्यङ्ग्यात्मक रूपमा ‘यदि सबै कक्रोचहरू एकजुट भए भने के होला ?’ भन्ने पोस्ट गरेका थिए। त्यसपछि उनले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) को नामसँग मिल्ने गरी कक्रोच जनता पार्टी (सिजेपी) नामक व्यङ्ग्यात्मक अभियान सुरु गरे। अभियान सुरु भएको दुई घण्टामै करिब पाँच हजार जनाले दर्ता गरेका थिए भने २४ घण्टाभित्र ३० हजारभन्दा बढी सहभागी भएका थिए ।
अहिले सिजेपीको इन्स्टाग्राम खातामा दुई करोड २० लाखभन्दा बढी फलोअर्स पुगेका छन्। यो सङ्ख्या भाजपाको एक करोड ३० लाख फलोअर्सभन्दा बढी हो। डिप्केका अनुसार यसले भारतका युवाहरू विद्यमान राजनीतिक दलहरूप्रति गहिरो असन्तुष्ट रहेको स्पष्ट सन्देश दिएको छ। विशेषगरी २० वर्ष आसपासका जेन–जेड विद्यार्थीहरूले अभियानलाई तीव्र रूपमा अघि बढाएका छन् । उनीहरूले आफ्ना समस्या कुनै पनि राजनीतिक दलले नसुनेको गुनासो गर्दै आएका छन् ।
अनलाइन अभियान विस्तारै सडक आन्दोलनमा परिणत भएको छ । सिजेपीले विभिन्न सहरमा प्रदर्शन गरिरहेको छ भने संयुक्त राज्य अमेरिकाबाट जुन ६ मा फर्किएका डिप्केले गत महिना नयाँदिल्लीको जन्तर मन्तरमा दोस्रो चरणको आन्दोलन सुरु गरेका छन्। यो अझै जारी छ।
आन्दोलनको मुख्य माग शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा हो। आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा कमजोरी, विशेषगरी मेडिकल प्रवेश परीक्षामा पटक–पटक देखिएको प्रश्नपत्र चुहावट र अनियमितताप्रति सरकार जिम्मेवार रहेको आरोप लगाएका छन्। यिनै घटनाले आन्दोलनलाई थप बल दिएको उनीहरूको भनाइ छ।
दिल्ली विश्वविद्यालयकी २५ वर्षीया छात्रा अञ्जलीले सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्य अहिले युवाको दीर्घकालीन आक्रोशको अभिव्यक्तिमा परिणत भएको बताइन। उनका अनुसार पछिल्लो एक दशकदेखि युवामा बढ्दै गएको निराशा अहिले खुला रूपमा बाहिर आएको हो ।
प्रख्यात जलवायु अभियन्ता सोनम वाङचुक पनि जुन २८ देखि अनशनसहित आन्दोलनमा सहभागी भएका छन्। उनले विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको दाबी गर्ने सरकार नागरिकको आवाजप्रति संवेदनशील र उत्तरदायी हुनुपर्ने बताए।
यसअघि विपक्षी आम आदमी पार्टीका सञ्चार रणनीतिकारका रूपमा काम गरिसकेका डिप्केले भने आन्दोलनलाई राजनीतिक दलमा रूपान्तरण गर्ने आफ्नो योजना नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार अहिलेको उद्देश्य विद्यार्थीको असन्तुष्टि, परीक्षा प्रणालीमा देखिएका अनियमितता र संस्थाप्रतिको बढ्दो अविश्वासलाई उजागर गर्नु हो। भारतमा समाधान गर्नुपर्ने यस्ता धेरै समस्या अझै बाँकी रहेको उनको भनाइ छ। रासस
प्रकाशित: २४ असार २०८३, बुधबार