मगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन: मोबाइल तथा डाटा सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने अपेक्षा

  • Technology Khabar | १६ असार २०८३, मंगलवार
मगुको मुर्माटपमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालन: मोबाइल तथा डाटा सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने अपेक्षा

काठमाडौं ।

नेपाल टेलिकमले मुगु जिल्लास्थित प्रसिद्ध पर्यटकीय गन्तव्य मुर्माटपमा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार असार १५ गतेदेखि उक्त सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो।

रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र रहेको मुर्माटप रारा तालको मनोरम दृश्य अवलोकनका लागि लोकप्रिय पर्यटकीय स्थल मानिन्छ। यहाँबाट रारा ताल, हिमशृङ्खला तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका प्राकृतिक दृश्य अवलोकन गर्न सकिन्छ।

फोरजी सेवा विस्तारसँगै पर्यटक, स्थानीय बासिन्दा तथा पदयात्रीहरूले उच्च गतिको मोबाइल इन्टरनेट सेवा सहज रूपमा प्रयोग गर्न सक्ने टेलिकमले जनाएको छ। यस सेवाले मुर्माटप क्षेत्रसँगै आसपासका ट्रेकिङ रुटमा पनि भरपर्दो सञ्चार सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।

कम्पनीका अनुसार सेवाको विस्तारबाट पर्यटकहरूले आफ्ना यात्रा अनुभव, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सहज रूपमा साझा गर्न सक्नेछन्। साथै, स्थानीय होटल, होमस्टे तथा व्यवसायीहरूले विभिन्न डिजिटल सेवाको उपयोग गर्न पाउने भएकाले स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

मुर्माटपमा जडान गरिएको टावरले उक्त क्षेत्र मात्र नभई हुम्ला, बाजुरा लगायतका दुर्गम हिमाली क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि रिपिटर स्टेशनको रूपमा पनि काम गर्ने नेपाल टेलिकमले जनाएको छ। यसबाट कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मोबाइल तथा डाटा सेवाको पहुँच र गुणस्तर थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

नेपाल टेलिकमले देशका दुर्गम क्षेत्रसम्म आधुनिक दूरसञ्चार सेवा तथा सूचना प्रविधिको पहुँच विस्तार गर्ने अभियानलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि सेवाको पहुँच, गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्दै डिजिटल नेपालको परिकल्पना साकार पार्न प्रतिबद्ध रहने जनाएको छ।

टेलिकमले यसअघि २०७६ मंसिर १९ गतेदेखि रारा ताल क्षेत्रमा फोरजी सेवा पूर्ण क्षमतामा सञ्चालन गर्दै आएको थियो।

प्रकाशित: १६ असार २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार