प्रविधि

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि

दुई वर्षयताकै न्यून विन्दुमा झरेपछि बिटक्वाइनको मूल्यमा वृद्धि
बिटक्वाइनको सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।
Global IME Bank

बजार मूल्यका आधारमा विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य शनिबार ८ प्रतिशतभन्दा बढीले बढेर करिब ५९ हजार ९५२ अमेरिकी डलर पुगेको छ। यसअघि सोही दिन यसको मूल्य दुई वर्षयताकै न्यून विन्दुमा झरेको थियो।

अमेरिकी पूर्वी समयअनुसार शनिबार बिहान करिब ८:३० बजे (ग्रिनविच समय १३:३० बजे) बिटक्वाइनको मूल्य केही समयका लागि ६० हजार डलर नाघेको थियो।

यसअघि शनिबार बिटक्वाइनको मूल्य घटेर ५५ हजार २५१.६० डलर पुगेको थियो। यो दुई वर्षयताकै न्यून मूल्य हो। शुक्रबार यसको मूल्य ५७ हजार ७४२ डलरभन्दा तल झरेको थियो। सन् २०२४ को सेप्टेम्बरपछि पहिलो पटक बिटक्वाइनको मूल्य उक्त विन्दुभन्दा तल पुगेको हो।

कृत्रिम बुद्धिमता कम्पनीहरूको सेयर मूल्य अत्यधिक बढेको भन्दै लगानीकर्तामा चिन्ता बढेपछि बिटक्वाइनसहित जोखिमयुक्त सम्पत्तिको मूल्यमा दबाब परेको हो।

रोयटर्सका अनुसार ठूलो परिमाणमा कृत्रिम बुद्धिमतासम्बन्धी पूर्वाधार निर्माणमा भइरहेको खर्चबाट नाफा कमाउन सकिने विषयमा पछिल्ला केही सातादेखि प्रश्न उठिरहेका छन्। यसका साथै ऋण लिने लागतमा वृद्धि, अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्र्याटिक पार्टीको जितपछि बढेको नियामकीय जोखिम र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको राजीनामाले पछिल्ला कारोबारमा क्रिप्टोकरेन्सी बजार प्रभावित भएको छ।

अमेरिकी डलर बलियो हुनु, वास्तविक प्रतिफल दर बढ्नु र बजारमा उतारचढाव बढ्नुले पनि क्रिप्टोकरेन्सी बजारमा दबाब सिर्जना गरेको छ। पछिल्लो समय बिटक्वाइनको मूल्य सेयर बजारको उतारचढावसँगै परिवर्तन हुन थालेको छ।

शुक्रबार अमेरिकी सेयर बजारमा गिरावट थप तीव्र भएको थियो। सन् २०२५ को अप्रिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिबरेसन डे’ नाम दिएर भन्सार शुल्क घोषणा गरेयताकै एक सातामा भएको ठूलो गिरावटमध्ये यो एक थियो।

एन्थ्रोपिक कम्पनीको महत्वपूर्ण सेयर बजार प्रवेश अपेक्षाअनुसार सफल हुन नसकेपछि कृत्रिम बुद्धिमतासम्बन्धी लगानीप्रति चिन्ता थपिएको थियो। यसले यस वर्ष अमेरिकी सेयर बजारको वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको कृत्रिम बुद्धिमतासम्बन्धी लगानीमाथि थप प्रश्न उठाएको छ। त्यसपछि एसएन्डपी ५०० र डाउ जोन्स दुवै सूचकले बजारमा सुधारात्मक गिरावट (करेक्शन) भएको पुष्टि गरेका छन्।

Sajilo Visa
easy care