काठमाडौं ।
नेपालमा आपतकालीन तयारी र समुदायमा आधारित जीवनरक्षक सेवालाई सुदृढ बनाउने अर्को महत्वपूर्ण कदमस्वरूप काठमाडौँको सबैभन्दा व्यस्त व्यावसायिक केन्द्रहरूमध्ये एक विशाल बजारमा सर्वसाधारणले प्रयोग गर्न सक्ने अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर (एईडी) जडान गरिएको छ।
केही महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यक्रम सुरु गरेपछि हाप्सा नेपाल ले स्थापना गरेको यो दोस्रो सार्वजनिक स्थानको एईडी हो।
हाप्सा नेपाल समुदाय–केन्द्रित सेवा, तयारी र सार्वजनिक स्वास्थ्यमार्फत नेपालको आपतकालीन स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन समर्पित स्थानीय गैरनाफामूलक संस्था हो। यस पहलका लागि अमेरिका नेपाल मेडिकल फाउण्डेशन (एएनएमएफ) ले हाप्सालाई सहयोग प्रदान गरेको हो।
आपतकालीन अवस्थाहरूमा यो एईडी सर्वसाधारणका लागि उपलब्ध हुनेछ, जसको निगरानी र सुरक्षामा विशाल बजार कम्प्लेक्स र नेपाल प्रहरी जनसेवाले सहयोग गर्नेछन्।
व्यस्त सार्वजनिक क्षेत्रमा एईडी को पहुँच उपलब्ध गराएर विशाल बजार कम्प्लेक्सले सार्वजनिक स्थानहरूलाई अझ सुरक्षित बनाउन सहयोग गरिरहेको छ र समुदायको स्वास्थ्य सुरक्षाका लागि मिलेर काम गर्दा कति ठूलो प्रभाव पार्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
संस्थाका अनुसार यो पहल हाप्सा नेपाल र नेपाल प्रहरीबीचको नयाँ सहकार्यको हिस्सा हो।
“आपतकालीन अवस्था आइपर्दा प्रहरी अधिकारीहरू प्रायः सबैभन्दा पहिले घटनास्थल पुग्ने गर्छन्। उनीहरूलाई जीवनरक्षक सीप र एईडी जस्ता उपकरणको पहुँचसहित सुसज्जित बनाउँदा बिरामी अस्पताल पुग्नु अघि नै जीवन बचाउन निर्णायक फरक पार्न सक्छ,” नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भने।
यो जडान नेपालमा कार्डियाक अरेस्टपछि बाँच्ने सम्भावना सुधार गर्न हाप्सा नेपाल ले गरिरहेका निरन्तर प्रयासहरूको विस्तार हो। संस्थाले यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान क्षेत्रमा सार्वजनिक एईडी जडान गरिसकेको छ।
हाप्सा नेपालका उपाध्यक्ष तथा सीपीआर कार्यक्रम प्रमुख डा. कमल थापाले भने, “शपिङ सेन्टर र व्यावसायिक कम्प्लेक्सहरू एईडी राख्न महत्वपूर्ण स्थान हुन्, किनभने यहाँ दैनिक हजारौँ आगन्तुकहरू आउने गर्छन् र अचानक हुने कार्डियाक अरेस्टमा छिटो प्रतिक्रिया दिन यस्ता स्थानहरूले महत्वपूर्ण भूमिका खेल्न सक्छन्।”
नेपालमा अस्पतालबाहिर हुने कार्डियाक अरेस्टपछि बाँच्ने दर शून्य रहेको अनुमान गरिएको छ, जसको मुख्य कारण समयमा पहिचान नहुनु, प्रारम्भिक सीपीआर्रको अभाव र डिफिब्रिलेसनमा सीमित पहुँच हो।
एईडी के हो?
एईडीहरू सरल, सुरक्षित र अत्यन्त प्रभावकारी उपकरण हुन्, जसले आवश्यक पर्दा विद्युत् झटका दिएर जीवन–धम्कीपूर्ण मुटुको लयलाई पुनःस्थापित गर्न सक्छन्।
विशाल बजारमा जडान गरिएको एईडी मा स्पष्ट दृश्यात्मक निर्देशनहरू र छोटो निर्देशनात्मक भिडियोमा जान क्यूआर कोड समावेश गरिएको छ, जसले आपतकालीन अवस्थामा उपस्थित व्यक्तिहरूलाई तत्काल मार्गदर्शन प्राप्त गर्न सहयोग पुर्याउँछ।
संस्थाले जनाएअनुसार यो प्रयास हाप्सा नेपालको व्यापक नेपाल लाइफेभर्स प्रोग्रामको हिस्सा हो। यो देशव्यापी पहल नेपालभर जीवनरक्षक प्रतिकार्यको संस्कृति निर्माण गर्ने र जीवनरक्षाको शृङ्खलालाई सुदृढ बनाउने उद्देश्यले सञ्चालित छ।
हालसम्म यस कार्यक्रमले २,५०० भन्दा बढी सशस्त्र प्रहरी बलका पदाधिकारी लाइ सीपीआर तालिम दिएको, विद्यालयमा आधारित सीपीआर शिक्षा कार्यक्रम सुरु गरेको, जीवनरक्षक सीपलाई राष्ट्रिय पाठ्यक्रममा समावेश गर्न शिक्षा मन्त्रालयसँग सहकार्य सुरु गरेको, नेपाली सीपीआर गीत बनाएको, समुदाय–प्रतिकार्य मोबाइल एप र सीपीआर जनचेतना अभियान विकास गरेको साथै देशभर रणनीतिक स्थानहरूमा सार्वजनिक एईडी पहुँच विस्तार गरेको छ।
“नेपालमा सार्वजनिक स्थानहरूमा एईडी पहुँच विस्तार गर्न हाप्सा लाई सहयोग गर्न पाउँदा एएनएमएफ गर्व गर्दछ। सार्वजनिक स्थानमा राखिएको प्रत्येक एईडीले एउटा जीवन बचाउने अवसर सिर्जना गर्छ,” अमेरिका नेपाल मेडिकल फाउण्डेशनका अध्यक्ष डा. नारायण न्यौपानेले भने।
हाप्सा नेपाल का संस्थापक तथा प्रमुख रणनीतिकार डा. रामु खरेलले यो पहल केवल एउटा उपकरण जडान गर्ने कार्यभन्दा धेरै ठूलो भएको बताए। “यो बिरामी अस्पताल पुग्नु अघि नै जीवन बचाउन सक्ने प्रणालीहरू निर्माण गर्ने कुरा हो। सार्वजनिक एईडी पहुँचलाई सीपीआर्र तालिम र समुदायको सहभागितासँग जोडेर हामी अचानक कार्डियाक अरेस्टबाट बढी मानिसहरू बाँच्ने नेपाल निर्माण गर्न सक्छौँ,” उनले भने।
प्रकाशित: १६ असार २०८३, मंगलवार