काठमाडौं ।
‘मन्त्रब्रेन’ टिमले आफ्नै स्रोत र अनुभवबाट निर्माण गरेको ‘प्रगति’ नामक एआई प्लेटफर्म सञ्चालनमा आएको छ।
नेपालमा लोकसेवा, बैंकिङ, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी, इन्जिनियरिङ तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूलाई सहज होस भन्नका लागि यो सञ्चालनमा ल्याएको हो।
प्रगति तथा मन्त्रब्रेनका संस्थापक उमेश घिमिरेले भने, ‘नेपालका विद्यार्थीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न विदेशी प्लेटफर्म र विदेशी भाषामा निर्भर हुनुपर्ने अवस्था क्रमशः बदलिँदै छ। हामी विश्वास गर्छौँ कि विश्वस्तरीय प्रविधि र गुणस्तरीय शैक्षिक सामग्री नेपालमै निर्माण गर्न सकिन्छ। प्रगति त्यही विश्वासको परिणाम हो।’
नेपालमा प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने विद्यार्थीहरूको संख्या ठूलो भए पनि गुणस्तरीय अध्ययन सामग्री, अभ्यास प्रणाली तथा व्यक्तिगत मार्गदर्शनमा सबैको समान पहुँच छैन। यही समस्यालाई समाधान गर्ने उद्देश्यले ‘प्रगति’ नामक एआई सञ्चालित परीक्षा तयारी प्लेटफर्म निर्माण गरिएको छ।
यसले विभिन्न परीक्षाहरूका लागि दैनिक एमसिक्यू अभ्यास, समयबद्ध मोक टेस्ट, स्पेस्ड रिपिटिसन प्रविधिमा आधारित पुनरावृत्ति प्रणाली तथा एआई ट्यूटरमार्फत प्रत्येक प्रश्नको विस्तृत व्याख्या नेपाली र अंग्रेजी दुवै भाषामा उपलब्ध गराउँछ।
यस एपमा हाल १० हजारभन्दा बढी वस्तुगत प्रश्न, ५०० भन्दा बढी ‘मक टेस्ट’, नेपाली र अंग्रेजी दुवै भाषामा अध्ययन सुविधा उपलब्ध रहेका छन्।
‘प्रगति’को उद्देश्य नेपालमा परीक्षा तयारीलाई डिजिटल, स्मार्ट र परिणाममुखी बनाउँदै परम्परागत र समयखर्ची परीक्षा तयारीलाई आधुनिक प्रविधिमार्फत अझ प्रभावकारी, व्यक्तिगत र पहुँचयोग्य बनाउँदै विद्यार्थीलाई आत्मविश्वासका साथ आफ्नो भविष्य निर्माण गर्न सहयोग गर्नु रहेको छ।
गुणस्तरीय परीक्षा तयारी सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्छ भन्दै ‘प्रगति’ले मोबाइल–प्रथम अनुभव, वैज्ञानिक अध्ययन विधि र कृत्रिम बुद्धिमत्ताको संयोजनमार्फत विद्यार्थीलाई कम समयमा अझ प्रभावकारी रूपमा सिक्न र आफ्नो लक्ष्य हासिल गर्न सहयोग गर्ने कम्पनीको विश्वास रहेको छ।
प्रकाशित: १६ असार २०८३, मंगलवार