

काठमाडौं ।
भन्सार विभागले विद्युतीय सवारीसाधनको जाँचपास तथा आयातसम्बन्धी उठेका प्रश्नबारे गरिएको छानबिनपछि रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागले आज एक विज्ञप्ति जारी गर्दै अर्थ मन्त्रालयको निर्देशनमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुमोदन टोलीले कार्यालयका अभिलेख तथा सीसीटीभी फुटेजको अध्ययनपछि २०८२ जेठ १२ र १३ गते घोषणा भई नेपाल भित्रिएका ६४९ विद्युतीय सवारीसाधन जाँचपास भई जेठ १४ गते नै नेपाल भित्रिसकेको स्पष्ट पारेको छ।
उता रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारी साधनको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीहरूबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीको प्रतिवेदनले औंल्याएको छ।
अनुगमन टोलीले प्रज्ञापनपत्र, कार्यालयको अभिलेख लगायतको विषयमा स्थलगत अध्ययन गर्दा कतिपय सवारी साधनहरू भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको फेला पारेको उल्लेख गरेको छ।
कानुनी प्रक्रिया पूरा नगरी जाँचपास गरिएको देखिएपछि विभागले तत्कालीन कार्यालय प्रमुखसहित १३ जनालाई निलम्बन गरी विभागीय कारबाही प्रक्रिया अघि बढाएको हो।
यसका साथै विद्युतीय सवारीसाधन आयातसँग सम्बन्धित लक्ष्मी ई-मोबिलिटी प्रालि, साइमेक्स इंक प्रालि, सीजी मोटर्स प्रालि, पुजा इन्टरकन्टिनेन्टल प्रालि र पूजा कन्स्ट्रक्शन प्रालि लगायत कम्पनी तथा एजेन्सी नम्बर २४८, ८३३ र ४७८ अन्तर्गतका भन्सार जाँचपास प्रतिनिधिलाई पनि प्रचलित भन्सार कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको विभागले जनाएको छ।
प्रकाशित: ५ असार २०८३, शुक्रबार