
काठमाडौं ।
आगामी सेप्टेम्बरमा आईफोन १८ प्रो लाइनअपसँगै आईफोन अल्ट्रा भनिने हल्ला रहेको एप्पलको फोल्डेबल आईफोन लन्च हुने अपेक्षा गरिएको छ। साथै धेरै लीकहरूले पहिले नै फोल्डेबलको डिजाइनको बारेमा झलक प्रदान गरिसकेका छन्।
अब, एक केस निर्माताले नयाँ रेन्डरहरू मार्फत डिभाइसको डिजाइनको खुलासा गरेको देखा परेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
लीक भएका केस रेन्डरहरूले धेरैओटा कोणहरुबाट आईफोन अल्ट्रा प्रदर्शन गरेको छ। आगामी डिभाइसलाई कालो फिनिशमा देखाइएको छ भने तस्बिरहरूको आधारमा एप्पलको फोल्डेबलमा बिल्ट–इन म्यागसेफ समर्थन उपलब्ध नहुन सक्ने भएकाले प्रयोगकर्ताहरूलाई सम्भावित रूपमा चुम्बकीय तार रहित चार्जिङको लागि केस प्रयोग गर्न आवश्यक पर्ने उल्लेख गरिएको छ।
तस्विरहरूले भोल्युम बटनहरू डिभाइसको माथिल्लो किनारमा राखिएको छ, भने पावर बटन दायाँ छेउमा रहेको सुझाव दिएका छन्।
त्यसैगरी पावर बटनको मुनि देख्न सकिने कटआउट सम्भवतः एन्टेना ब्यान्डको लागि भएको बताइएको छ।
फोल्डेबलको पछाडि आईफोन एयर डिजाइनको सम्झना दिलाउने क्यामरा मोड्युल भित्र राखिएको परिचित डुअल–क्यामरा सेटअप रहेको देखिन्छ।
आईफोन अल्ट्रा अन फोल्ड गर्दा ४.७ एमएम र फोल्ड गर्दा ९.२३ एमएम मोटाई हुने हल्ला रहेको छ। डिभाइसमा ५.५ इन्चको कभर डिस्प्ले र फराकिलो एस्पेक्ट रेसियो भएको ७.८ इन्चको भित्री स्क्रिन हुने अनुमान गरिएको छ।
हार्डवेयरको सन्दर्भमा फोल्डेबलमा ४८ मेगापिक्सेलको प्राइमरी रियर क्यामरा, ए२० प्रो चिपसेट र ५,५०० एमएएच क्षमताको ब्याट्री हुने अपेक्षा गरिएको छ। साथै यो डिभाइस पावर बटनमा टच आईडी एकीकृत हुने हल्ला पनि रहेको छ।

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार