
काठमाडौं ।
सरकारले आर्थिक विधेयक २०८३ मार्फत् राइड–सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर लगाएको छ। यसका साथै अग्रिम कर असुल गर्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा ल्याएको छ।
आर्थिक विधेयकमार्फत् मूल्य अभिवृद्धि करमा संसोधन गर्दै सरकारले दफा ७ र ८ मा थप गरेर राइड–सेयरिङ सेवामा ५ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको हो।
विधेयककाअनुसार, जुनसुकै कुरा लेखिएको भए तापनि बासिन्दा राइड शेयरिङ सेवा संचालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ प्लेटफर्म सञ्चालन गर्ने व्यक्तिलाई कर लाग्ने मूल्यमा ५ प्रतिशतका दरले भ्याट निर्धारण गरिएको उल्लेख छ।
“बासिन्दा राइड शेयरिङ सेवा संचालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लेटफर्ममा आबद्ध भई सवारी वा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ प्लेटफर्म सञ्चालकले यो ऐन र यस ऐन अन्तरगत बनेको नियम बमोजिम कर लाग्ने मूल्यमा कर निर्धारण गरी असुल गर्नुपर्नेछ।” विद्येयकको दफा ८ मा भनिएको छ।
यसका साथै आयकर ऐनको दफा ९५ मा संशोधन गर्दै सरकारले १ प्रतिशत अग्रीम कर असुल गर्नुपर्ने व्यवस्था समेत ल्याएको छ।
सरकारले राइड सेयरिङमा ५ प्रतिशत भ्याट लगाएसँगै इतिहासमै पहिलोपटक भ्याटको बहुदरमा प्रवेश गरेको छ।
प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार