अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी कार्यशाला

  • Technology Khabar | १७ जेष्ठ २०८३, आईतवार
अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी कार्यशाला
सांकेतिक तस्बिर

काठमाडौं ।

पोखरास्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्कायअन्तर्गत एमबीएस तहमा अध्ययनरत विद्यार्थीहरूको अनुसन्धान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अनुसन्धान प्रस्तावना लेखनसम्बन्धी दुईदिने कार्यशाला गोष्ठी सुरु गरिएको छ।

उच्च शिक्षामा अनुसन्धानको महत्त्व दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्याम्पसको अनुसन्धान व्यवस्थापन समितिको आयोजनामा कार्याशाला आयोजना गरिएको क्याम्पस प्रमुख धर्मराज बरालले जानकारी दिए। विश्वविद्यालयीय शिक्षाको प्रमुख उद्देश्य केवल पाठ्यक्रम पूरा गर्नु मात्र नभई अनुसन्धान, विश्लेषण र नवीन ज्ञान सिर्जनातर्फ विद्यार्थीलाई प्रेरित गर्नु रहेको उनले बताए।

क्याम्पसले विद्यार्थीहरूको अनुसन्धानमूलक गतिविधिलाई प्रोत्साहन गर्न नियमित रूपमा विभिन्न शैक्षिक तथा प्राज्ञिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। उनका अनुसार कार्यशालाले विद्यार्थीहरूलाई अनुसन्धान प्रस्तावना तयार गर्ने, अनुसन्धान समस्या पहिचान गर्ने तथा वैज्ञानिक ढङ्गले अध्ययन सञ्चालन गर्ने सीप विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने छ।

अनुसन्धान व्यवस्थापन समितिका संयोजक मोहन भण्डारीले अनुसन्धान प्रस्तावना लेखन अनुसन्धान प्रक्रियाको पहिलो र महत्त्वपूर्ण चरण भएको उल्लेख गरे। गुणस्तरीय अनुसन्धानका लागि समस्या छनोट, उद्देश्य निर्धारण, साहित्य समीक्षा, परिकल्पना निर्माण, अनुसन्धान विधि तथा तथ्याङ्क विश्लेषणसम्बन्धी ज्ञान अपरिहार्य हुने उनको भनाइ छ।

कार्यशालामार्फत विद्यार्थीहरूले अनुसन्धान प्रस्तावनाको संरचना, लेखन शैली, उद्धरण तथा सन्दर्भ व्यवस्थापन, अनुसन्धान नैतिकता र तथ्याङ्कीय विश्लेषणका आधारभूत पक्षहरूबारे व्यवहारिक ज्ञान प्राप्त गर्ने विश्वास लिइएको छ। कार्यशालाका सहभागीले दुईदिनको अवधिमा समूह तथा व्यक्तिगत रूपमा नमूना अनुसन्धान प्रस्ताव तयार गरी समापन सत्रअघि प्रस्तुति गर्नुपर्ने व्यवस्था रहेको उनले जानकारी दिए। रासस

प्रकाशित: १७ जेष्ठ २०८३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार