जर्मनीको सार्वभौम क्लाउड क्षेत्रमा अब डोयच टेलिकमको प्रतिस्पर्धी बन्दै थालेस र गुगल

  • Technology Khabar | १३ जेष्ठ २०८३, बुधबार
जर्मनीको सार्वभौम क्लाउड क्षेत्रमा अब डोयच टेलिकमको प्रतिस्पर्धी बन्दै थालेस र गुगल

काठमाडौं ।

जर्मनीको सार्वभौम क्लाउड क्षेत्रमा थालेस र गुगलले डोयच टेलिकमसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

सार्वभौम मापदण्ड पालना सुनिश्चित गर्न थालेसले गुगल क्लाउडबाट कानुनी र सञ्चालन दुवै हिसाबले स्वतन्त्र नयाँ जर्मन कम्पनी स्थापना गर्ने भएको छ, जसमा स्थानीय कर्मचारी मात्रै रहनेछन्। यसले युरोप बाहिरका कुनै पनि तेस्रो पक्षले त्यहाँ भण्डारण गरिएका डाटामा पहुँच वा प्रशोधन गर्न नसक्ने जनाइएको छ।

थालेसका अनुसार यो संरचना फ्रान्समा यसको क्लाउड सहायक कम्पनी एस३एनएसमार्फत लागू गरिएको मोडेलकै जस्तै हो, जुन जर्मन सार्वजनिक क्षेत्र र कडा नियमन भएका उद्योगहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएको हो।

थालेस जर्मनीका सीईओ तथा कन्ट्री डाइरेक्टर क्रिस्टोफ रफनरले जर्मनी सार्वभौम प्रविधिका लागि महत्वपूर्ण बजार रहेको र यो साझेदारी पूर्ण जर्मन नियन्त्रणअन्तर्गत गुगल क्लाउडको प्रविधिमा पहुँच चाहने निजी तथा सार्वजनिक संस्थाहरूको मागको प्रत्यक्ष प्रतिक्रिया भएको बताए।

गुगल क्लाउडका ईएमइए नर्थकी उपाध्यक्ष म्यारिएन जानिकले गुगल क्लाउडको क्षमता र थालेसको साइबर सुरक्षा तथा स्थानीय सञ्चालन नियन्त्रणको अनुभवलाई संयोजन गरेर जर्मनीका संवेदनशील क्षेत्रहरूलाई पनि स्थानीय कानुनी तथा सञ्चालन सुरक्षासहित नवप्रवर्तन गर्न सक्षम बनाइने बताइन्।

यो सेवा हाल ‘प्रिभ्यु’ स्वरूपमा सुरु गरिएको छ भने वर्षको अन्त्यसम्म पूर्ण रूपमा उपलब्ध गराइने योजना छ।

थालेस र गुगल क्लाउडको प्रवेशले डोयच टेलिकमको सार्वभौम क्लाउड प्लेटफर्म टी क्लाउडलाई थप प्रतिस्पर्धात्मक चुनौती दिएको छ।

डीटीले यसअघि नै अमेजन वेब सर्भिसेजसँग प्रतिस्पर्धा गरिरहेको छ, जसले यस वर्षको सुरुमा जर्मनीमा आफ्नो पहिलो युरोपेली सार्वभौम क्लाउड सेवा सुरु गरेको थियो।

टी क्लाउड पब्लिक हालै क्लाउड र एआई खरिदसम्बन्धी सरकारी फ्रेमवर्क सम्झौतामा समावेश भएपछि थप बलियो बनेको थियो। तर गुगलजस्तो ठूलो कम्पनीको आगमनले डीटीमाथि थप दबाब पर्ने बताइएको छ।

यसैबीच डीटीले जर्मन सफ्टवेयर कम्पनी एसएपीसँग मिलेर संघीय सरकार, राज्य र नगरपालिका लागि साझा पूर्वाधार उपलब्ध गराउने एआई प्लेटफर्म निर्माण गरिरहेको घोषणा गरेको छ। यो कदम गुगल र एडेसोले खरिद प्रक्रियासम्बन्धी गुनासो फिर्ता लिएपछि आएको हो।

डीटीका सीईओ टिम हट्जले डिजिटल सार्वभौमिकताको दौडमा अगाडि रहनुपर्ने र युरोपले अझै धेरै प्रगति गर्न बाँकी रहेको बताए। उनले टेलिकम र एसएपीले जर्मनी र यूरोपलाई आफ्नै डिजिटल भविष्य निर्माण गर्न सहयोग गरिरहेको बताए। उता फ्रान्समा विभिन्न क्षेत्रका आठ कम्पनीहरूको समूहले युरोपेली संघको एआई गिगाफ्याक्ट्री कोषका लागि आवेदन दिएको छ।

गत वर्ष गठन भएको एआईओएन कन्सोर्टियममा आर्डियन, आर्टेफ्याक्ट, बुल, क्यापजेमिनि, ईडीएफ, इलियड, यसको क्लाउड शाखा स्केलवे र  अरेञ्ज समावेश छन्।

समूहले युरोपभर एआई पूर्वाधार विस्तार गर्न ल्याइएको २० अर्ब यूरोको यूरोपियन यूनियनको एआई गिगाफ्याक्ट्री योजनाअन्तर्गत सहयोगका लागि आवेदन दिएको हो। अर्डियनका पूर्वाधार लगानी प्रमुख बेनोइत गाइलोशेले एआइओएनको फ्रान्सस्थित गिगाफ्याक्ट्रीको लागत युरोपेली संघको कुल कोषको आधासम्म पुग्न सक्ने बताएका छन्।

समूहले फ्रान्सको आणविक तथा जलविद्युत् ऊर्जा, एआई तथा क्लाउडसम्बन्धी दक्ष जनशक्ति र बलियो डिजिटल पूर्वाधारका कारण गिगाफ्याक्ट्री निर्माणका लागि उपयुक्त रहेको दाबी गरेको छ। ओरेन्जकी सीईओ क्रिस्टेल ह‍ेडेमानले यूरोपेली एआईको अर्को चरण निर्माण गर्न फ्रान्ससँग आवश्यक पूर्वाधार, कम कार्बन ऊर्जा र अनुसन्धान क्षमता रहेको बताइन्।

इलियाडका सीईओ टमस रेनाउडले कम्प्युटिङ क्षमता शक्ति बन्ने विश्वमा युरोपले बाहिरी पूर्वाधारमा निर्भर रहन नसक्ने बताए। उनले एआइओएनमार्फत फ्रान्समा विश्वस्तरीय युरोपेली एआई पूर्वाधार निर्माण गर्ने लक्ष्य रहेको बताए।

थालेस र एआइओएनका घोषणाले ‘सार्वभौम’ शब्दको अर्थ विभिन्न पक्षका लागि फरक हुन सक्ने देखाएको छ। एडब्लुएस, थालेस र गुगलजस्ता कम्पनीहरूले स्थानीय कानुनअन्तर्गत स्थानीय कर्मचारीद्वारा सञ्चालन हुने पूर्वाधारमा डाटा सुरक्षित रहने भएकाले आफ्ना सेवा सार्वभौम भएको दाबी गर्न सक्छन्।

तर केही पक्षका लागि त्यो पर्याप्त नहुन सक्छ। उदाहरणका लागि युरोपेली एआई डाटा सेन्टर कम्पनी एनस्केलले एआईबाट सिर्जित मूल्य पनि पूर्वाधार र प्रतिभा रहेको देशमै रहनुपर्ने बताएको थियो।

पूर्ण रूपमा फ्रान्सेली कम्पनीहरू मिलेर फ्रान्समै एआई कारखाना बनाउन खोजिएको योजना, अमेरिकी हाइपरस्केलरसँग मिलेर जर्मनीमा क्लाउड सेवा बनाउने योजनाभन्दा बढी सार्वभौम देखिए पनि अन्ततः कुन सेवा कति सार्वभौम हो भन्ने निर्णय अन्तिम प्रयोगकर्ता र उनीहरूमा लागू हुने नियमनले तय गर्ने उल्लेख गरिएको छ।

प्रकाशित: १३ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार