सामाजिक सञ्जाल एक्सले सुरु गर्यो “हिस्ट्री” ट्याब

  • Technology Khabar | १ जेष्ठ २०८३, शुक्रबार
सामाजिक सञ्जाल एक्सले सुरु गर्यो “हिस्ट्री” ट्याब

काठमाडौं ।

सामाजिक सञ्जाल एक्सले बुकमार्क, लाइक, भिडियो र लेखहरूलाई एउटै स्थानमा राख्ने नयाँ “हिस्ट्री” ट्याब सुरु गरेको छ। यसले प्रयोगकर्तालाई पछि हेर्न वा पढ्नका लागि सुरक्षित सामग्री सजिलै फेला पार्न मद्दत गर्ने कम्पनीले जनाएको छ।

सुरुआतमा यो सुविधा आईओएसमा उपलब्ध हुनेछ। निकिता बिएरका अनुसार नयाँ हिस्ट्री फिचरले प्रयोगकर्तालाई मनपर्ने सामग्री ट्र्याक गर्न र पछि पढ्न वा हेर्न चाहेको सामग्रीमा फर्किन सहज बनाउनेछ।

यो अपडेटसँगै मोबाइल एपको बायाँपट्टि रहेको “बुकमार्क्स” बटनलाई “हिस्ट्री” मा परिवर्तन गरिएको छ। नयाँ पेजमा बुकमार्क्स, लाइक्स, भिडियो र आर्टिकल्स गरी चार छुट्टाछुट्टै ट्याब राखिएको छ।

बुकमार्क्स र लाइक्स प्रयोगकर्ताले आफैं सुरक्षित गरेका सामग्री हुन् भने भिडियो र आर्टिकल्स ट्याब प्रयोगकर्ताले X मा हेरेका वा पढेका सामग्रीका आधारमा स्वतः भरिनेछन्। हिस्ट्री सेक्शन भने प्रयोगकर्ताका लागि मात्रै निजी रहनेछ।

टेकक्रञ्चका अनुसार यो परिवर्तनपछि एक्स केही हदसम्म वेब ब्राउजरजस्तै देखिन थालेको छ, जहाँ प्रयोगकर्ताले पहिले हेरेका सामग्रीमा पछि फर्किन सक्छन्, चाहे उनीहरूले त्यसलाई सुरक्षित गर्न बटन थिचेका नहुन्।

यसअघि एपभित्र फरक-फरक स्थानमा रहेका फिचरहरूलाई अब एउटै स्थानमा ल्याइएको छ। बुकमार्क मुख्य मेनुमा थियो भने लाइक्स प्रयोगकर्ताको प्रोफाइलभित्र छुट्टै ट्याबमा राखिएको थियो।

यो कदमले एक्स को लामो लेख लेख्ने फर्म्याटको प्रयोग पनि बढाउन सक्ने अनुमान गरिएको छ। कम्पनीले यसलाई व्यवसाय र कन्टेन्ट निर्माता लागि २८० अक्षरभन्दा लामो सामग्री साझा गर्ने माध्यमका रूपमा अघि बढाइरहेको छ।

हाल फेसबुक र गुगलजस्ता प्लेटफर्मबाट वेबसाइटहरूमा जाने ट्राफिक घटिरहेको छ। बदलिँदो एल्गोरिदम र एआई-आधारित सेवाका कारण बाह्य वेबसाइटमा क्लिक कम हुन थालेपछि एक्स ले यसलाई अवसरका रूपमा लिएको छ। कम्पनीले प्रकाशक र कन्टेन्ट निर्मातालाई आफ्नै प्लेटफर्ममा सिधै सामग्री लेख्न आकर्षित गर्न खोजिरहेको छ।

प्रकाशित: १ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...