
काठमाडौं ।
स्मार्ट टेलिकमको सम्पत्ति लिलामी गराउने कार्यमा संलग्न थप दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले सरकारको अधिनमा आएको स्मार्ट टेलिकम प्रालिको सम्पत्ति गैरकानूनीरुपमा लिलामी गराएको भन्दै हाल ललितपुर म.न.पा. ३, झम्सीखेल बस्ने पलिना श्रेष्ठ र हाल टोखा न.पा. ७, धापसी, काठमाडौं बस्ने नरेन्द्र उलाकलाई पक्राउ गरेको हो।
यसअघि सोही प्रकरणमा सिआईबीले कम्पनीका सञ्चालक सर्वेश जोशीलाई पक्राउ गरिसकेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७०।०१।०२ गते दूरसञ्चार सेवा सञ्चालन गर्नको लागि आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (नं. BTSL-01) लिई सञ्चालन भएको “स्मार्ट टेलिकम प्रा. लि.” ले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम २०८०/०१/०३ गतेदेखि अनुमतिपत्र स्वतः रद्द भएको थियो।
अनुमति बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा सरकारको सम्पत्ति बेइमानी पूर्वक नेपाल सरकारको हक टुटाउने उदेश्यका साथ गैरकानूनी रुपमा लिलामी गर्ने प्रक्रियामा संलग्न रही ठगी तथा आपराधिक विश्वासघात कसूरमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
अभियुक्तहरुलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति समेत लिई यस ब्यूरोबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी अनुसन्धान भईरहेको सिआईबीले उल्लेख गरेको छ।
प्रकाशित: २६ बैशाख २०८३, शनिबार