
काठमाडौं ।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा अर्चना श्रेष्ठले आगामी मनसुन, २०२६ को पूर्वानुमान तथा त्यसका सम्भावित प्रभावबारे गहन अध्ययन र छलफल भइरहेको बताएकी छिन्।
जल तथा मौसम विज्ञान विभागद्वारा आयोजित मनसुन फोरममा महानिर्देशक श्रेष्ठले विगतको मनसुन समीक्षा गर्दै आगामी मौसममा हुनसक्ने वर्षा र तापक्रमको अवस्थाबारे प्रस्तुत गरिएका तथ्याङ्कहरूले नीति निर्माण र विकास योजनाका लागि महत्वपूर्ण आधार प्रदान गर्ने बताइन्।
उनले विभागले हाल उपलब्ध प्रविधि, जनशक्ति क्षमता, अध्ययन–अनुसन्धान तथा अन्तरराष्ट्रिय मौसम तथा वैज्ञानिक संस्थाहरूको सहयोगका आधारमा मौसमी पूर्वानुमान गरिरहेको जानकारी दिइन्।
विभागले वर्षका चारै यामका लागि ‘ऋतुगत पूर्वानुमान’ गर्ने लक्ष्य लिएको उल्लेख गर्दै हाल तीनवटा यामको पूर्वानुमान सुरु भइसकेको र अब प्रि–मनसुनको पूर्वानुमान पनि सुरु गर्ने तयारी भइरहेको उनको भनाई थियो।
महानिर्देशक श्रेष्ठका अनुसार एल निनो, इन्डियन ओसियन डाइपोल तथा आर्कटिक ओस्सिलेसनजस्ता विश्वव्यापी वायुमण्डलीय प्रणालीहरूले नेपालको मौसममा प्रभाव पार्ने भएकाले यिनको सम्बन्धबारे थप अनुसन्धान आवश्यक रहेको छ। “वैज्ञानिक अनुसन्धानलाई मजबुत बनाउन सके मौसमी पूर्वानुमान अझ विश्वसनीय र प्रभावकारी बनाउन सकिन्छ”, उनले भनिन्।
उनले विभागले हाल क्षेत्रीय स्तरमा मात्र नभई ‘सब–रिजनल’ अर्थात् स्थानीय तहसम्म पुग्ने मौसमी पूर्वानुमान प्रणाली विकास गर्ने योजना अघि बढाएको जानकारी दिइन्। यसका लागि अनुसन्धान, प्रविधि विस्तार तथा दक्ष जनशक्ति विकासमा जोड दिइएको उनको भनाइ थियो।
महानिर्देशक श्रेष्ठले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने, हिमताल विस्फोटको जोखिम बढ्ने तथा चरम मौसमीय घटनाहरू वृद्धि भइरहेकाले तथ्यमा आधारित योजना निर्माण आवश्यक भएको बताइन्।
विभागले ग्लेसियर मोनिटरिङ तथा जलवायु अध्ययनका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिँदै उनले यस कार्यमा मन्त्रालयको सहयोग रहेको उल्लेख गरिन्।-रासस
प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार