काठमाडौं ।
किशोरकिशोरीहरुका लागि लक्षित च्याटजीपीटीले संकटपूर्ण परिस्थितिमा भरपर्दो सुरक्षा प्रदान गर्न नसकेको भन्दै बालाबालिकाका लागि जोखिम सिर्जना गरेको एक प्रतिवेदनले औंल्याएको छ।
कमन सेन्स मिडिया नामक संस्थाले सार्बजनिक गरेको प्रतिबेदनमा यस्तो उल्लेख गरेको हो।
कृत्रिम बुद्धिमता (एआई) को प्रयोगमा युवाको सुरक्षा सम्बन्धी संस्थानले तयार पारेको प्रतिवेदनअनुसार परिक्षणका क्रममा च्याटबोटले आत्महत्या सम्बन्धी सोच, आत्महानी तथा खानपान सम्बन्धी भएका कुराकानिका विषयमा अभिभाबकलाई जानकारी दिन ढिलाई गरेको वा जानकारी नै नदिएको पाइएको छ।
संस्थाकाअनुसार सिस्टमले किशोरकिशोरीलाई संकटका बेलामा सहयोग उपलब्ध गराउने सेवा परामर्शदाता सम्म पुर्याउने काम पनि निरन्तर र भरपर्दो रुपमा गर्न नसकेको जनाएको छ।
कमन सेन्स मिडियाले परीक्षणका क्रममा ४ हजारभन्दा बढी प्रश्न तथा अनुरोध प्रयोग गरेको थियो। ती प्रश्नका जवाफहरुको बालमनोचिकित्सक र एक बालरोग विशेषज्ञले विश्लेषण गरेका थिए। संस्थाले थप प्रभावकारि सुरक्षा व्यवस्था लागू नभएसम्म किशोरकिशोरीमाझ उक्त उत्पादनको प्रचारप्रसार तथा प्रयोग स्थगित गर्न ओपनएआईलाई आग्रह गरेको छ।
ओपनएआईले प्रतिवेदनका निष्कर्षप्रति असहमति जनाउँदै परीक्षणमा पछिल्लो समय थप गरिएका अभिभावकीय नियन्त्रण सुविधाहरू पूर्ण रूपमा समावेश नभएको हुन सक्ने बताएको छ। कम्पनीले कमन सेन्स मिडियालाई फेरीे परीक्षण गर्न आग्रह गरेको छ।
परीक्षण सुरु गर्नुअघि नै किशोरकिशोरीका लागि बनाइएका सुरक्षा सुविधाहरू सक्रिय अवस्थामा रहेको विषयमा ओपनएआईसँग पुष्टि गरेको कमन सेन्स मिडियाले जनाएको छ।
टेलिग्राफका अनुसार, प्रतिवेदनले च्याटजीपीटीले प्रयोगकर्ताको उमेर भरपर्दो रूपमा पहिचान गर्न नसक्ने पनि देखाएको छ। यसबारे ओपनएआईले उमेरको अनुमान विभिन्न संकेतका आधारमा गरिने बताएको छ। कुराकानीका क्रममा प्रयोगकर्ताले आफ्नो उमेर उल्लेख गर्दैमा खाताको सञ्चालन प्रणाली परिवर्तन नहुने कम्पनीको भनाइ छ।
ओपनएआईले किशोरकिशोरीको सुरक्षा आफ्नो प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै सुरक्षा संयन्त्र र अभिभावकीय निगरानीका उपकरणहरू विकास गर्ने काम निरन्तर भइरहेको जनाएको छ।
प्रकाशित: २४ आश्विन २०८३, शनिबार