टिपी-लिंक विरुद्ध अमेरिकाका चार राज्यमा कानुनी कारबाही

  • Technology Khabar | २४ आश्विन २०८३, शनिबार
टिपी-लिंक विरुद्ध अमेरिकाका चार राज्यमा कानुनी कारबाही

काठमाडौं ।

अमेरिकाका फ्लोरिडा, आयोवा, नेब्रास्का र मोन्टाना राज्यका महान्यायाधिवक्ताहरूले टिपी-लिंक सिस्टम्स विरुद्ध संयुक्त कानुनी कारबाही अघि बढाएका छन्। उनीहरूले उपभोक्ता स्तरका राउटरहरूको आपूर्ति शृङ्खला (सप्लाई चेन) का विषयमा खरिदकर्ताहरूलाई झुक्याउने प्रयास गरेको आरोप लगाएका छन्।

कम्पनीले चीनसँगको आफ्नो सम्बन्ध र चिनियाँ सरकारी ह्याकरहरूद्वारा आफ्ना राउटरहरूको दुरुपयोग हुन सक्ने जोखिमबारे उपभोक्ताहरूलाई झूटो जानकारी दिएको उनीहरुको आरोप छ।

आफ्नो पूर्व चिनियाँ मातृ कम्पनी ‘टिपी-लिंक टेक्नोलोजीज’ बाट अलग भएदेखि नै, ‘टिपी-लिंक सिस्टम्स’ ले आफू सञ्चालनका हिसाबले स्वतन्त्र रहेको र अमेरिकामा बिक्री गरिने डिभाइसहरू भियतनामस्थित उत्पादन केन्द्रबाट ल्याउने गरेको दाबी गर्दै आएको छ।

अमेरिकाभन्दा बाहिर पूर्ण वा आंशिक रूपमा उत्पादन गरिएका उपभोक्ता-स्तरका राउटरहरूमाथि ‘फेडरल कम्युनिकेसन्स कमिसन’ (एफसीसी) ले व्यापक प्रतिबन्धको घोषणा गरेको करिब छ महिनापछि हिजो यी मुद्दाहरू दायर गरिएका हुन्। धेरै राउटर निर्माताहरूले यस प्रतिबन्धबाट छुट पाएका छन्, तर ट्रम्प प्रशासनले हालसम्म टिपी-लिंकलाई भने यस्तो छुट दिएको छैन।

हालका लागि, टिपी-लिंकले अमेरिकामा आफ्ना नवीनतम वाई-फाई ८ राउटरहरू बिक्री गर्न पाएको छैन, यद्यपि प्रतिबन्ध अघि स्वीकृत भएका मोडलहरू भने बिक्री गर्न सकिन्छ।

राज्यहरूद्वारा दायर मुद्दाहरूमा दाबी गरिएको छ कि टिपी-लिंकले आफ्ना राउटरहरू सुरक्षित छन् भनी अमेरिकी उपभोक्ताहरूलाई भ्रममा पारेको थियो। मुद्दाहरूमा आरोप लगाइएको छ कि टिपी-लिंकले राज्यहरूको उपभोक्ता संरक्षण कानुनको उल्लङ्घन गर्दै अनुचित र भ्रामक व्यापारिक गतिविधिहरू गरेको छ।

फ्लोरिडाको काउन्टी अदालतमा दायर मुद्दाबारे जानकारी दिँदै फ्लोरिडाका महान्यायाधिवक्ता जेम्स उथमेयरले भने, “चिनियाँ सरकार-प्रायोजित ह्याकरहरूले अमेरिकी घरहरूको बैठक कोठामा रहेका टिपी-लिंक राउटरहरूको दुरुपयोग गरे।”

प्रकाशित: २४ आश्विन २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार