
काठमाडौं ।
यूरोपेली आयोगको जरिवानाबाट बच्न अल्फाबेटको गुगलले प्रकाशकहरूले आलोचना गरेको आफ्नो स्पाम नीतिमा परिवर्तन गर्ने प्रस्ताव गरेको छ। रोयटर्सले हेरेको युरोपेली आयोगको दस्तावेजअनुसार यस्तो कदमले कम्पनीलाई ईयूको प्रतिस्पर्धा सम्बन्धी जरिवानाबाट जोगिन मद्दत गर्न सक्छ।
अमेरिकी प्रविधि कम्पनी गुगल प्रकाशकहरूको गुनासोपछि ईयू नियामकहरूको निगरानीमा परेको थियो। प्रकाशकहरूले गुगलको ‘साइट रेपुटेसन एब्युज’ नीतिको आलोचना गरेका थिए।
रोयटर्सका अनुसार यो नीतिले होस्ट साइटको र्याङ्किङ संकेतको फाइदा उठाएर सर्च र्याङ्किङ दुरुपयोग गर्न तेस्रो पक्षका पृष्ठहरू प्रकाशन गर्ने अभ्यासलाई लक्षित गर्छ, जसलाई सामान्यतया ‘प्यारासाइट एसईओ’ भनिन्छ।
यसपछि बिग टेक कम्पनीहरूको शक्ति नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको डिजिटल मार्केट्स एक्ट (डीएमए) अन्तर्गत युरोपेली आयोगले नोभेम्बरमा अनुसन्धान सुरु गरेको थियो। आयोग ईयूको प्रतिस्पर्धा नियामक निकायका रूपमा काम गर्छ। दस्तावेजमा भनिएअनुसार गुगलले डीएमए पालना गर्न केही परिवर्तन प्रस्ताव गरेको छ र सम्बन्धित पक्षहरूलाई आगामी सातासम्म प्रतिक्रिया दिन समय दिइएको छ।
गुगलले आफू आयोगसँग रचनात्मक रूपमा सहकार्य गरिरहेको जनाएको छ।
कम्पनीका प्रवक्ताले भने, “हाम्रो प्राथमिकता सर्च नतिजालाई प्रयोगकर्ताका लागि उपयोगी र सहयोगी बनाइराख्नु तथा ‘प्यारासाइट एसईओ’ जस्ता भ्रामक अभ्यासबाट जोगाउनु हो, जसले वेब प्रणालीलाई कमजोर बनाउँछ।”
ईयूको नियामक निकायले आफ्नो निगरानीले गुगलको स्पाम नीतिका कारण समाचारमाध्यम र अन्य प्रकाशकका वेबसाइट तथा सामग्री विशेषगरी ती वेबसाइटहरूले व्यावसायिक साझेदारहरूको सामग्री समावेश गर्दा गुगल सर्च नतिजामा तल झर्ने देखाएको जनाएको छ।
नियामकले उक्त नीतिले प्रकाशकहरूले आफ्नो वेबसाइट र सामग्रीबाट आम्दानी गर्ने सामान्य र वैध तरिकामाथि प्रत्यक्ष असर पार्ने जनाएको छ।
डीएमए उल्लङ्घन गरेमा कम्पनीहरूले आफ्नो विश्वव्यापी वार्षिक कारोबारको १० प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने हुन सक्छ।
युरोपेली आयोगले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। गुगलको प्रस्तावबारे पहिलो पटक ब्लूमबर्गले समाचार सार्वजनिक गरेको थियो।
प्रकाशित: २५ बैशाख २०८३, शुक्रबार