अब ट्राफिक जरिवाना, कर तथा दस्तुरका लागि विद्युतीय चलान प्रणाली अनिवार्य गरिने

  • Technology Khabar | १४ बैशाख २०८३, सोमबार
अब ट्राफिक जरिवाना, कर तथा दस्तुरका लागि विद्युतीय चलान प्रणाली अनिवार्य गरिने
फाइल तस्बिर। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँच गर्दै। तस्विरः रासस।

काठमाडौं ।

अबदेखि ट्राफिक जरिवाना (ट्राफिक ई-चलान) र सवारी नियम उल्लङ्घनमा जरिवाना, कर, दस्तुर, शुल्क भुक्तानीका लागि विद्युतीय चालान अनिवार्य गरिने भएको छ।

विद्युतीय चलानमा चलान नम्बर (डिजिटल आईडी), मिति र समय, सेवा र कारवाहीको विवरण, तिनुपर्ने रकम, भुक्तानीको अवस्था (पेइड/अनपेइड) समेत खुल्ने गरी क्यूआर कोड वा अनलाइन पेमेन्ट लिङ्क समेत राख्नु पर्नेछ।

हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सवारी साधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउनेसम्बन्धि निर्देशिका, २०८२ (मस्यौदा) मा यस्तो व्यवस्था गरिएको हो।

निर्देशिका अनुसार ट्राफिक नियम उल्लङ्घनमा ई-चलान काट्दा ऐन तथा नियमावलीको परिधिमा रही रातो बत्ती उल्लङ्घन, हेलमेट नलगाएको, सिटबेल्ट नलगाएको, सवारी चलाउँदा मोबाइल प्रयोग, निषिद्ध स्थानमा पार्किङ, कागजात (सवारी चालक अनुमतिपत्र, ब्लुबुक) नभएको, लेन उल्लङ्घन, ओभर स्पिड र ऐन, नियमको कुन दफा वा नियम उल्लङ्घन भएको हो र कुन कसमा चलान काटिएको हो सो कुरा स्पष्ट रुपमा उल्लेख गरी प्रणालीमा व्यवस्था गर्नु पर्नेछ।

ई-चलान प्रणाली व्यवस्थापनका लागि टीभीआरएस प्रणाली, कर प्रणाली, र विभागको ईडीएलभीआरएस प्रणालीको अन्तरआवद्धता कायम गर्न पर्नेछ भने सडक दूरी, दुर्घटना जोखिम क्षेत्र, ट्राफिक चाप, भौगोलिक अवस्थाका आधारमा मुख्य राजमार्ग तथा सार्वजनिक सवारीको नियमित सञ्चालन हुने रुटहरूमा आवश्यकताअनुसार चेकपोष्ट स्थापना गर्नु पर्नेछ।

सम्बन्धित समाचार

डिजिटल चिट ‘ई–चलान’ र ट्राफिक भायोलेसन रेकर्ड सिस्टम आधिकारिक रुपमा शुरु

यस्तै सार्वजनिक सवारी साधनबाट हुने रुट अनुसार सवारी नम्बर, रुट विवरण, चेकपोष्टहरू, न्यूनतम यात्रा समय, जारी मिति विभाग, नेपाल प्रहरी वा सम्बन्धित निकायले टाइम कार्ड जारी गर्नु पर्ने, चालक वा सवारी सञ्चालकले प्रत्येक चेकपोष्टमा टाइम कार्ड प्रमाणीकरण गराउनु पर्ने तथा सार्वजनिक सवारीको गति नियन्त्रण, सुरक्षा र समय व्यवस्थापनका लागि प्रहरी चेकपोष्ट हुने सुरक्षा जाँच र टाईम कार्ड व्यवस्थापनका लागि अनलाईन प्रणालीको विकास गर्नु पर्नेछ।

प्रणालीमा सवारी चालक अनुमति पत्र, ब्लुबूक (सवारी दर्ता), बीमा, प्रदूषण जाँच प्रमाणपत्र, रुट परमिट, सवारीको अवस्था (ब्रेक, टायर आदि), ओभरलोड वा यात्री क्षमता भन्दा बढी यात्री, मद्यपान गरेर चलाएको छ कि छैन, सवारीको गति तोकिए भन्दा कढी वा कम, सवारी साधनको चेकपोष्ट प्रवेश र निर्गमन समय स्वचालित रूपमा दर्ता तथा निगरानी गर्ने गरी प्रणाली व्यवस्थापन गर्नु पर्ने निर्देशिकामा उल्लेख छ।

विभाग र नेपाल प्रहरीको समन्वयमा चरणबद्ध रूपमा टाइम कार्ड प्रणालीलाई डिजिटल प्रणालीमा रूपान्तरण गरिनेछ भने चेकपोष्टमा डिजिटल उपकरण, मोबाइल एप वा अन्य प्रविधिको माध्यमबाट सवारी साधनको समय दर्ता गरिनेछ।

यस्तै सवारी साधनको नम्बर प्लेट, क्यूआर कोड वा अन्य पहिचान प्रणाली प्रयोग गरी समय अभिलेख केन्द्रीय डाटाबेसमा सुरक्षित राखिनेछ। व्यवस्था विपरितका कार्यहरु भएमा ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिमको सजाय समेत हुनेछ।

प्रकाशित: १४ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार