
काठमाडौं ।
हिमाली जिल्ला जुम्लामा पहिलोपटक सरकारका स्थायी कर्मचारीका लागि ई–पेन्सन सुरु गरिएको छ।
सङ्घीय सरकारको अर्थ मन्त्रालयले सुरु गरेको ई–पेन्सन सेवा जुम्लाबाट सुरु गरी कार्यान्वयनमा ल्याएको कोष तथा लेखा नियन्त्रक कार्यालय जुम्लाका कोष नियन्त्रक मन्जित अछामीले जानकारी दिए।
सो सेवाअन्तर्गत चन्दननाथ नगरपालिकाबाट निवृत्त कृषि विकास कार्यालयका कृषि अधिकृत कमल थापा क्षेत्रीले पहिलो सेवाग्राहीका रुपमा सेवा लिएका छन्। कार्यालयमार्फत अधिकार पत्रसँगै सञ्चित बिदाको रकम र उपचार खर्चसमेत एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था रहेको कोष नियन्त्रक अछामीले बताए।
ई–पेन्सन सेवा उपलब्ध भएपछि काठमाडौँ जाने बाध्यता हटेको छ। समय र खर्चको बचतसमेत भएको छ । सेवा प्रवाहलाई थप डिजिटल बनाउन लागिपरेको कोष नियन्त्रकको कार्यालयले जनाएको छ।-रासस
प्रकाशित: १४ बैशाख २०८३, सोमबार