
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा फैलिने सूचना सत्य हो कि होइन छुट्याउन नागरिक सचेत हुनुपर्ने बताएका छन्।
पछिल्लो समय ‘सरकारले सबै मन्त्रीलाई नयाँ मोबाइल फोन दिने तयारी गरिरहेको’ भन्ने आशयमा फैलिएका विषय पूर्ण रूपमा झूटो र बनावटी रहेको उनले स्पष्ट पारे।
आइतवार बिहान नुवाकोटको लिखु गाउँपालिका–६ छहरे बजारमा स्थानीयसँग भेटघाट गर्दै मन्त्री तिमिल्सिनाले यस्ता गलत सूचना सरकार प्रति अनावश्यक अविश्वास फैलाउने नियतले आएका हुन सक्ने पनि बताए। केही व्यक्तिले जानाजानी भ्रम फैलाएको हुनसक्ने उनको भनाइ थियो।
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सन्जालमा कुनै पनि सूचना साझा गर्नु अघि त्यसको सत्यता र स्रोत जाँच गर्न सबैलाई आग्रह गरे।
उनले सरकार जनताको करबाट उठेको पैसाको सही प्रयोग गर्न प्रतिबद्ध रहेको बताउँदै दुरुपयोग देखिए नागरिकले प्रश्न उठाउनुपर्ने पनि बताए । “सत्यमा आधारित प्रश्नले सरकारलाई थप जवाफदेही बनाउँछ । हामी जिम्मेवार भएर खबरदारी गर्न र प्रश्न गर्न छाड्न हुँदैन”, उनले भने, “तर खराब नियतले गलत सूचना सम्प्रेषण भएको छ भने त्यसलाई पहिचान गर्न आवस्यक छ।”
अहिले सरकार भ्रष्टाचार र अनियमिततामा शून्य सहनशीलताको नीतिमा अघि बढेको पनि उनले बताए।
सञ्चारमन्त्री तिमिल्सिनाले अब बोल्नेभन्दा काम गरेर देखाउने समय आएको उल्लेख गर्दै परिणाममुखी काममा जोड दिईने बताए।
सरकारले गाउँ–गाउँमा पुगेर नागरिकको समस्या सुन्ने र त्यसकै आधारमा नीति बनाउने योजना रहेको उनको भनाइ छ।
प्रकाशित: ६ बैशाख २०८३, आईतवार