अमेरिकामा क्वेस्ट भीआर हेडसेटको मूल्य बढाउँदै मेटा प्लेटफर्म्स

  • Technology Khabar | ५ बैशाख २०८३, शनिबार
अमेरिकामा क्वेस्ट भीआर हेडसेटको मूल्य बढाउँदै मेटा प्लेटफर्म्स

काठमाडौं ।

मेटा प्लेटफर्म्सले मेमोरी चिपको लागत बढेपछि अमेरिकामा आफ्नो क्वेस्ट भीआर हेडसेटको मूल्य बढाउने जनाएको छ।

कम्पनीले बिहीबार दिएको जानकारीअनुसार अप्रिल १९ देखि नयाँ मूल्य लागू हुनेछ।

मेटाको प्रवेश-स्तर क्वेस्ट ३एस (१२६जीबी) हेडसेटको मूल्य अब ३४९.९९ डलर हुनेछ, जुन पहिले २९९.९९ डलर थियो। उच्च स्तरको क्वेस्ट ३ (५१२ जीबी) हेडसेटको मूल्य १ सय डलरले बढेर ५९९.९९ डलर पुगेको छ।

२५६ जीबी संस्करणको मूल्य पनि ५० डलरले बढेर ४९९.९९ डलर निर्धारण गरिएको छ। ओपनएआई, अल्फाबेटको गुगल र माइक्रोसफ्टजस्ता कम्पनीहरूले एआई पूर्वाधार तीव्र रूपमा विस्तार गर्दा मेमोरी चिपको माग बढेको छ। यसका कारण उत्पादकहरूले उपभोक्ता उपकरणभन्दा बढी नाफा दिने डेटा सेन्टरका लागि कम्पोनेन्ट प्राथमिकता दिएका छन्।

सीमित आपूर्तिको प्रभाव व्यवस्थापन गर्न डेल, एचपी र माइक्रोसफ्टजस्ता कम्पनीहरूले पनि आफ्ना उपकरणहरूको मूल्य बढाएका छन्। गत महिना सोनीले पनि प्लेस्टेशन ५ कन्सोलको मूल्य एक वर्षभित्र दोस्रो पटक बढाएको थियो जसमा अमेरिकामा १ सय डलर वृद्धि गरिएको थियो।

रोयटर्सका अनुसार मेटाले नयाँ मूल्य रिफर्बिस्ड क्वेस्ट उपकरणहरूमा पनि लागू हुने जनाएको छ भने सहायक उपकरणहरूको मूल्य भने यथावत रहनेछ। कम्पनीका पछिल्ला कदमहरूले भीआरबाट एआईतर्फ रणनीतिक ध्यान सारिएको संकेत गर्छ। मेटाले रियालिटी ल्याब्स मार्फत मेटाभर्समा ठूलो लगानी गरेको थियो जुन क्वेस्ट हेडसेट र स्मार्ट चस्मा विकास गर्ने विभाग हो।

जनवरीमा कम्पनीले रियालिटी ल्याब्स समूहमा करिब १० प्रतिशत कर्मचारी कटौती गरेको थियो र भीआर प्लेटफर्म होराइजन वर्ल्डस्मा पनि कटौती गरेको छ।

मेटाभर्स परियोजनाकै कारण २०२१ मा फेसबुकबाट मेटा नाम परिवर्तन गरिएको थियो। त्यसयता रियालिटी ल्याब्सले ७० अर्ब डलरभन्दा बढी सञ्चालन घाटा बेहोरेको छ।

प्रकाशित: ५ बैशाख २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार