
काठमाडौं ।
गुगलले सोमबार चुपचाप अफलाइनमा काम गर्ने “गुगल एआई एज एलोक्वेण्ट” नामको एआई डिक्टेशन एप आईओएसमा सार्वजनिक गरेको छ, जसले विस्पर फ्लो, सुपर व्हिस्पर, विलो लगायतका एपहरूसँग प्रतिस्पर्धा गर्नेछ।
यो एप निःशुल्क डाउनलोड गर्न सकिन्छ, र यसको जेम्मा-आधारित अटोमेटिक स्पीच रिकग्निसन (एएसआर) मोडेल डाउनलोड गरेपछि प्रयोगकर्ताले आफ्नो फोनमा बोल्दै लेखाउन सुरु गर्न सक्छन्। एपमा लाइभ ट्रान्सक्रिप्सन देख्न सकिन्छ र पज गर्दा एपले “अम्” र “अँ” जस्ता अनावश्यक शब्दहरू हटाएर टेक्स्टलाई मिलाउँछ।
टेकक्रञ्चका अनुसार ट्रान्सक्रिप्टको तल “की पोइण्ट्स,” “फर्मल,” “शर्ट,” र “लङ” जस्ता विकल्पहरू हुन्छन्, जसले टेक्स्टलाई रूपान्तरण गर्न मद्दत गर्छ। प्रयोगकर्ताले क्लाउड मोड बन्द गरेर केवल लोकल प्रोसेसिङ पनि प्रयोग गर्न सक्छन्। (क्लाउड मोड चालु हुँदा एपले टेक्स्ट सफा गर्न क्लाउड-आधारित जेमिनी मोडेल प्रयोग गर्छ।)
गुगल एआई एज एलोक्वेण्टले चाहेको खण्डमा जीमेल खाताबाट केही किवर्ड, नाम र प्राविधिक शब्दहरू पनि आयात गर्न सक्छ। साथै प्रयोगकर्ताले आफ्नै कस्टम शब्दहरू पनि थप्न सक्छन्।
एपले ट्रान्सक्रिप्सन सेसनको इतिहास देखाउँछ र ती सबैमा खोजी गर्न पनि दिन्छ। यसले पछिल्लो सेसनमा बोलेका शब्दहरू, प्रति मिनेट बोलेको शब्द संख्या र कुल बोलेका शब्दहरूको संख्या पनि देखाउँछ।
एप स्टोरमा दिइएको विवरण अनुसार, “गुगल एआई एज एलोक्वेण्ट प्राकृतिक बोली र पेशागत रूपमा प्रयोग गर्न मिल्ने टेक्स्टबीचको अन्तर घटाउन डिजाइन गरिएको उन्नत डिक्टेशन एप हो। साधारण डिक्टेशन सफ्टवेयरले जस्तो सबै गल्ती र अनावश्यक शब्दहरू जस्ताको तस्तै लेख्ने होइन, एलोक्वेण्टले एआई प्रयोग गरेर प्रयोगकर्ताको आशय बुझ्छ। यसले अम,’ ‘अँ’ र वाक्यबीचका सुधारहरू हटाएर सफा र सटीक टेक्स्ट तयार गर्छ।”
हाल यो एप आईओएसमा मात्र उपलब्ध भए पनि एप स्टोरको विवरणमा एण्ड्रोइड संस्करणको पनि उल्लेख गरिएको छ।
विवरण अनुसार एलोक्वेण्टले एण्ड्रोइडसँग त्रुटिरहित एकीकरण गर्न सक्ने पनि दिनेछ, जसअन्तर्गत यसलाई डिफल्ट किबोर्डका रूपमा सेट गरेर जुनसुकै टेक्स्ट फिल्डमा प्रयोग गर्न सकिनेछ।
साथै विस्पर फ्लो जस्तै फ्लोटिङ बटन फिचर पनि उपलब्ध हुनेछ, जसले जहाँबाट पनि सजिलै ट्रान्सक्रिप्सन सुरु गर्न मद्दत गर्नेछ।
स्पीच-टु-टेक्स्ट मोडेलहरू सुधारिँदै जाँदा एआई-आधारित ट्रान्सक्रिप्सन एपहरू प्रयोगकर्तामाझ लोकप्रिय बन्दै गएका छन्। यस प्रयोगात्मक एपमार्फत गुगल पनि यही प्रवृत्तिमा सामेल भएको छ। यो परीक्षण सफल भएमा एण्ड्रोइडमा पनि अझ सुधारिएको ट्रान्सक्रिप्सन फिचर देख्न सकिनेछ।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार