अमेरिकी प्रतिबन्धपछि ह्वावेका डिभाइसको अर्डर रोक्दै मोबाइल नेटवर्क कम्पनी

  • Technology Khabar | ९ जेष्ठ २०७६, बिहीबार
अमेरिकी प्रतिबन्धपछि ह्वावेका डिभाइसको अर्डर रोक्दै मोबाइल नेटवर्क कम्पनी

काठमाडौं ।

काठमाडौं । एशिया तथा यूरोपका मोबाइल नेटवर्क कम्पनीहरुले ह्वावे स्मार्टफोनहरुको अर्डरलाई निलम्बन गरिरहेको समाचार बाहिर आएको छ । गत साता ह्वावेलाई अमेरिकी प्रविधि प्रयोगमा प्रतिबन्ध लगाईएपछि कम्पनीहरुले ह्वावेसँगको अर्डरलाई रोकेका हुन् ।

चिनियाँ टेक कम्पनीलाई लगाईएको प्रतिबन्धपछि अमेरिकी सप्लायरहरुसँगबाट सफ्टवेयर तथा कम्पोनेन्टहरुको अनुमति लिन नसक्ने हुँदा सो अर्डरमा हाल रोक लगाईएको बताईएको छ ।

विश्वको दोस्रो ठूलो मोबाइल अपरेटर कम्पनी भोडाफोनले ह्वावेको मेट २० एक्स फाइभजी स्मार्टफोनको प्रि अर्डरलाई बेलायतमा हालको लागि रोकेको जानकारी दिएको छ । ह्वावेको ५जी डिभाइसहरुको बारेमा अनिश्चितता भएको हुँदा यो अस्थाई रोक भएको कम्पनीले उल्लेख गरेको छ ।

बेलायतको ठूलो क्यारियर नेटवर्क ईईले पनि ह्वावेका नयाँ स्मार्टफोनहरु ल्याउन ढिलाई गरिरहेको छ । जबकी कम्पनीले गएको साता मात्र ह्वावेको मेट २० एक्स ५जी नेटवर्कमा प्रयोग गर्ने उल्लेख गरेको थियो ।

जापानको मोबाइल अपरेटरहरुले पनि ह्वावेका डिभाइसहरुमा सोहि कदम चालिरहेका छन् । जापानको प्रमुख टेलीकम कम्पनी एनटिटि डोकोमोले ह्वावेको पी ३० लाईटको लागि रिजर्भेसन रोकेको घोषणा गरेको छ भने अमेरिकी प्रतिबन्धको असर बारे हेरिरहेको उल्लेख गरेको छ ।

अर्को जापानी प्रतिस्पर्धी कम्पनी केडिडिआई र सफ्टबैंक कर्पोरेशनले पनि नयाँ ह्वावे फोन रिलिज गर्न ढिला गर्ने जानकारी दिएका छन् ।

विश्वभर विभिन्न मोबाइल नेटवर्कहरुले ह्वावेका फोनहरुको अर्डर रोक्दा कम्पनीलाई देखिने गरि समस्यामा पारेको छ भने यो अमेरिकी प्रशासनको प्रतिबन्धको प्रत्यक्ष असर भएको छ ।

गत वर्षको तथ्यांककाअनुसार ह्वावे विश्वको स्मार्टफोन बजारमा एप्पललाई उछिन्दै दोस्रो ठूलो स्मार्टफोन मेकर कम्पनी भएको थियो ।

तर अमेरिकी प्रतिबन्धले गूगलको एन्ड्रोयड इको सिस्टम प्रयोगमा ह्वावेका नयाँ डिभाइसहरुलाई रोक लगाएको हुँदा समस्या देखिएको हो ।

ह्वावेले भने राजनीति अभिप्रेरित निर्णयको परिणाम कम्पनीका पार्टनरहरुलाई दबाब भएको भन्दै यो समस्यागस्त समय छिटै समाधान हुने र आफ्ना प्राथमिकताहरुले फेरी गति लिने विश्वास व्यक्त गरेकोछ ।

करिब ८५ प्रतिशत ह्वावे डिभाइसहरु एन्ड्रोयड अपरेटिंग सिस्टममा संचालन हुने गरेको बताईएको छ जसमा जीमेल, यूट्यूब, गूगल म्याप्स जस्ता एप्स र सेवाहरु प्रयोगमा छन् । सिएनएनबाट

प्रकाशित: ९ जेष्ठ २०७६, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...