
काठमाडौं ।
अर्बपति इलन मस्क र मार्क जुकरबर्गबीचको सम्बन्ध पहिले यति खराब थियो कि मस्कले जुकरबर्गलाई केजफाइटको चुनौती दिएका थिए, तर शुक्रबार सार्वजनिक गरिएको अदालतका कागजात अनुसार ट्रम्प प्रशासनको दोस्रो कार्यकालको सुरुवाती समयमा भने सम्बन्ध सुधारिएको देखिएको छ।
इन्ग्यजेटका अनुसार जुकरबर्ग र मस्कबीचका यी सन्देशहरू मस्कले ओपनएआईविरुद्ध दायर गरेको मुद्दाको भागका रूपमा सार्वजनिक गरिएका हुन्।
यी सन्देशहरू फेब्रुअरी ३, २०२५ मा पठाइएका थिए, जुन समय जुकरबर्गले जो रोगनको पोडकास्टमा उपस्थित भई कर्पोरेट अमेरिकालाई “कमजोर” भएको भन्दै आलोचना गरेका थिए।
सरकारको खर्च कटौती गर्न मस्कले डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (डीओजीई) मार्फत गरिरहेका आक्रामक प्रयासबारे उल्लेख गर्दै जुकरबर्गले सन्देशमा भनेका छन्, “डीओजीईले प्रगति गरिरहेको जस्तो देखिन्छ। तपाईंको टोलीका मानिसहरूलाई डक्सिङ वा धम्की दिने सामग्री हटाउन हाम्रो टोलीलाई तयारी अवस्थामा राखेको छु। मद्दत गर्न मैले अरू के गर्न सक्छु भने भन्नुहोस्।”
यसमा मस्कले हार्ट इमोजी पठाएर प्रतिक्रिया दिएका थिए र त्यसपछि सोधे, “के तपाईं म र केही अरूसँग मिलेर ओपनएआईमा बोलकबोल गर्ने विषयमा खुला हुनुहुन्छ?”
जवाफमा मेटाका सीईओ जुकरबर्गले यसबारे फोनमा छलफल गर्ने सुझाव दिएका थिए। पहिले सार्वजनिक भएका कागजातअनुसार, जुकरबर्ग अन्ततः मस्कको प्रस्तावमा सहभागी भने भएका थिएनन्।
प्रकाशित: १६ चैत्र २०८२, सोमबार