
काठमाडौं ।
सरकारले हेलो सरकार संयन्त्रलाई स्तरोन्नति गरी नागरिक संवादको प्लेटफर्मका रूपमा विकास गर्ने तथा एकीकृत ड्यासबोर्डमार्फत सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय गरी गुनासो समाधानको प्रगति (रियल टाइम) मा अनुगमन गर्ने योजना सार्वजनिक गरेको छ।
सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गर्दै उक्त लक्ष्य लिएको हो।
पासपोर्ट, नागरिकता, सवारी चालक अनुमतिपत्रलगायतका सेवाहरू नागरिकलाई छिटो, सहज र बिचौलिया–मुक्त तरिकाले पूर्वानुमानयोग्य समयमा उपलब्ध गराउने व्यवस्था लागू गर्ने तथा सम्पूर्ण सेवा प्रक्रियालाई मुहारविहीन र समयबद्ध र डिजिटल प्रणालीमा रूपान्तरण गर्ने कार्यसूचीमा भनिएको छ।
यसैगरी, सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्मेन्ट कुरियर सर्भिस’ का रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्सलगायतका सरकारी कागजातहरू/सामग्रीहरू घरमै पुर्याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने योजना लिईएको छ।
प्रकाशित: १५ चैत्र २०८२, आईतवार