एप्पललाई मौसम पूर्वानुमान एप बिक्री गरेका डार्क स्काईका डेभलपरले ल्याए नयाँ एक्मी वेदर एप

  • Technology Khabar | १२ फाल्गुन २०८२, मंगलवार
एप्पललाई मौसम पूर्वानुमान एप बिक्री गरेका डार्क स्काईका डेभलपरले ल्याए नयाँ एक्मी वेदर एप
तस्बिर: टेकक्रञ्च

काठमाडौं ।

एप्पललाई सन् २०२० को मार्चमा आफ्नो लोकप्रिय मौसम एप बिक्री गरेका डार्क स्काईका निर्माणकर्ताहरू नयाँ एपसहित फर्किएका छन्।

टिमले हालै नयाँ मौसम पूर्वानुमान एप एक्मी वेदर सार्वजनिक गरेको घोषणा गरेको हो। उनीहरूका अनुसार यो एपले डार्क स्काई भन्दा अझ राम्रो र भरपर्दो पूर्वानुमान दिनेछ। साथै, यसमा इन्द्रेणी देखिने सम्भावना र सुन्दर सूर्यास्तजस्ता रमाइला सूचनाहरू समेत उपलब्ध हुनेछन्।

टेकक्रञ्चका अनुसार सामान्य मौसम एपभन्दा फरक रूपमा एक्मी वेदर ले मुख्य पूर्वानुमानसँगै वैकल्पिक सम्भावित नतिजाहरू पनि देखाउने सुविधा दिएको छ, जसले शुद्धता बढाउन सहयोग गर्छ।

डार्क स्काईका सह–संस्थापक एडम ग्रसम्यानले ब्लग पोस्टमार्फत एपको पूर्वानुमान प्रणालीले विभिन्न संख्यात्मक मौसम पूर्वानुमान मोडेल, उपग्रह डेटा, भू–स्टेशन अवलोकन र रडार डेटा प्रयोग गर्ने बताए। यसले पूर्वानुमानलाई थप विश्वसनीय बनाउने उनको दाबी छ।

एपमा मुख्य पूर्वानुमान रेखासँगै ग्राफमा खरानी (ग्रे) रेखाका रूपमा अन्य सम्भावित परिणामहरू पनि देखाइनेछ।

ग्रसम्यानले टेकक्रन्चसँगको अन्तर्वार्तामा भने, “मौसम पूर्वानुमान धेरै पटक गलत हुन्छ — आखिर यो मौसम हो। यो अनुमान गर्न सबैभन्दा कठिन विषयमध्ये एक हो। धेरै मौसम एपमा हामीलाई उनीहरूको ‘सर्वोत्तम अनुमान’ मात्र देखाइन्छ, तर उनीहरू कति निश्चित छन् भन्ने थाहा हुँदैन।”

उनका अनुसार सम्भावित विकल्पहरू बुझ्न सक्दा मानिसलाई महत्वपूर्ण कार्यक्रम योजना बनाउन सजिलो हुन्छ।

उनले जाडोको आँधीको उदाहरण दिँदै भने, “सायद बिहान हिउँ पर्ने अनुमान हुन्छ, तर दिउँसो ढिलो गरी वर्षा हुन पनि सक्छ। टाइमलाइनमै सबै मोडेलहरूको धारणा देख्न सक्दा आधाले हिउँ र आधाले वर्षा देखाइरहेका छन् कि सबैले एउटै कुरा भनिरहेका छन् भन्ने सहज रूपमा बुझ्न सकिन्छ।”

यस्तो प्रकारको मौसम डाटा उपभोक्ताका लागि मात्र होइन, अन्य विकासकर्ताका लागि पनि उपयोगी उत्पादन हुन सक्ने जनाइएको छ।

डार्क स्काई का समयमा कम्पनीले विकासकर्तालाई शुल्क लिएर मौसम एपीआई उपलब्ध गराएको थियो। पछि एप्पलले अधिग्रहण गरेपछि टिमले सदस्यतामा आधारित मौसम डाटा उपलब्ध गराउने वेदरकिट विकासकर्ता टुलकिट तयार गरेको थियो। ग्रसम्यानका अनुसार एक्मी वेदर मा विकासकर्ता एपीआई समावेश गर्ने कि नगर्ने भन्ने विषयमा अहिलेसम्म निर्णय गरिएको छैन।

हाल एक्मी वेदर वार्षिक २५ डलर शुल्क लाग्ने उपभोक्ता एपका रूपमा उपलब्ध छ, जसमा दुई साताको निःशुल्क परीक्षण सुविधा छ। विभिन्न मौसम मोडेल र स्रोतबाट डेटा ल्याउने खर्च धान्न यो शुल्क राखिएको जनाइएको छ।

ग्रसम्यानका अनुसार अधिकांश समय आफ्नै पूर्वानुमान प्रणाली विकास गर्न खर्च गरिएको छ। यसले तेस्रो पक्षको नक्सा प्रदायकमा निर्भर नहुँदै आफूले चाहेको नक्सा निर्माण गर्न सकिने सुविधा दिएको छ।

सुरुवाती चरणमै एपले रडार, चट्याङ, वर्षा र हिउँको मात्रा, हावा, तापक्रम, आर्द्रता, बादलको आवरण र आँधीको ट्र्याकजस्ता विभिन्न नक्सा सुविधा उपलब्ध गराएको छ।

यसमा ‘कम्युनिटी रिपोर्ट्स’ नामक सुविधा पनि छ, जसमार्फत प्रयोगकर्ताले आफ्नो स्थानको वर्तमान मौसम अवस्था साझेदारी गर्न सक्नेछन्, जसले रियल–टाइम रिपोर्टिङ सुधार्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित: १२ फाल्गुन २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...