
काठमाडौं ।
गुगलका एक उपाध्यक्षले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा काम गर्ने दुई प्रकारका स्टार्टअप टिक्न नसक्ने चेतावनी दिएका छन्।
जेनेरेटिभ एआई बूमसँगै हरेक मिनेटजस्तै नयाँ स्टार्टअप सुरु भए। तर विस्तारै अवस्था स्पष्ट हुँदै जाँदा पहिले निकै चर्चामा रहेका दुई व्यवसायिक मोडल अहिले जोखिममा देखिएका छन्: एलएलएम र्यापर र एआई एग्रिगेटर।
गुगल क्लाउड, डीपसिकमाइण्ड र अल्फाबेट अन्तर्गतको ग्लोबल स्टार्टअप संगठनको नेतृत्व गरिरहेका डारेन मोवरीका अनुसार यस्ता स्टार्टअपहरूको “चेक इन्जिन लाइट” बलिरहेको जस्तै अवस्था छ।
एलएलएम र्यापर भनेको पहिलेबाट उपलब्ध ठूला भाषा मोडेल — जस्तै एन्थ्रोपिकको क्लाउड, ओपनएआईको जीपीटी वा गुगलको जेमिनीमाथि आफ्नो उत्पादन वा प्रयोगकर्ता इन्टरफेस थपेर कुनै विशेष समस्या समाधान गर्ने स्टार्टअप हो। उदाहरणका लागि, विद्यार्थीलाई पढाइमा सहयोग गर्ने एआई एप।
मोवरीका अनुसार यदि स्टार्टअपले सबै काम पछाडिको मोडेलमै निर्भर गरिरहेको छ र आफूले खासै फरक बौद्धिक सम्पत्ति थपेको छैन भने उद्योगले त्यस्तो मोडललाई धेरै समय धैर्य गर्दैन। जेमिनी वा जीपीटी-५ जस्ता मोडेलमाथि निकै पातलो तहको बौद्धिक सम्पत्ति थप्नुले आफूलाई फरक रूपमा स्थापित गर्न नसकेको संकेत दिन्छ।
उनका अनुसार स्टार्टअपले अगाडि बढ्न र विस्तार हुन गहिरो र फराकिलो प्रतिस्पर्धात्मक मजबुती बनाउनु आवश्यक छ। जीपीटी-आधारित कोडिङ सहायक कर्सर वा कानुनी क्षेत्रमा काम गर्ने हार्भे एआई जस्ता स्टार्टअपलाई उनले बलियो र्यापरको उदाहरण दिएका छन्।
यसको अर्थ सन् २०२४ को बीचतिर ओपनएआईले च्याटजीपीटी स्टोर सुरु गर्दा जस्तै जीपीटीमाथि सामान्य यूआई थपेर मात्रै बजारमा छिट्टै सफलता पाउने समय अब सकिएको छ। अब दीगो उत्पादन मूल्य सिर्जना गर्नु नै मुख्य चुनौती भएको टेकक्रञ्चले उल्लेख गरेको छ।
एआई एग्रिगेटर भने एलएलएम र्यापरकै एउटा उपसमूह हुन्। यस्ता स्टार्टअपले धेरै एलएलएमहरूलाई एउटै इन्टरफेस वा एपीआई मार्फत जोड्छन्, जसले प्रयोगकर्ताको प्रश्न फरक–फरक मोडेलमा पठाएर नतिजा दिन्छ।
यसमा निगरानी, गभर्नेन्स वा मूल्याङ्कन उपकरणजस्ता व्यवस्थापन तह पनि समावेश हुन्छ। उदाहरणका रूपमा एआई सर्च स्टार्टअप पर्प्लेक्सिटी वा एकल एपीआई मार्फत धेरै मोडेल पहुँच दिने डेभलपर प्लेटफर्म ओपनराउटर उल्लेखनीय छन्।
यद्यपि केही प्लेटफर्मले प्रगति गरेका छन्, मोवरीले नयाँ स्टार्टअपलाई “एग्रिगेटर व्यवसायबाट टाढा रहन” सल्लाह दिएका छन्। उनका अनुसार अहिले यस्ता एग्रिगेटरहरूले खासै वृद्धि देखिरहेका छैनन् किनकि प्रयोगकर्ताले आफ्ना आवश्यकता अनुसार सही समयमा सही मोडेलमा पहुँच सुनिश्चित गर्ने स्पष्ट बौद्धिक सम्पत्ति चाहन्छन्, केवल पछाडि चलिरहेको कम्प्युट वा पहुँच सीमितताको कारण होइन।
मोवरीले दशकौँदेखि क्लाउड क्षेत्रमा काम गरेका छन्। उनी पहिले अमेजन वेब सर्भिसेज र माइक्रोसफ्टमा कार्यरत थिए। उनका अनुसार अहिलेको अवस्था सन् २००० को दशकको अन्त्य र २०१० को सुरुवाततिर क्लाउड कम्प्युटिङ सुरु भएको समयसँग मिल्दोजुल्दो छ।
त्यतिबेला धेरै स्टार्टअपले एडब्लूएस पूर्वाधार पुनःबिक्री गर्दै सजिलो प्रवेश बिन्दु, बिलिङ व्यवस्थापन र सहयोग सेवा दिने दाबी गरेका थिए। तर जब अमेजनले आफ्नै उद्यम–स्तरका उपकरण विकास गर्यो र ग्राहकहरूले आफैं क्लाउड सेवा व्यवस्थापन गर्न सिके, अधिकांश त्यस्ता स्टार्टअप बजारबाट बाहिरिए। सुरक्षा, माइग्रेसन वा डेभअफ्स परामर्श जस्ता वास्तविक सेवा थप्नेहरू मात्र टिक्न सके।
आजका एआई एग्रिगेटरहरूले पनि त्यस्तै मार्जिन दबाब सामना गरिरहेका छन्, किनकि मोडेल प्रदायकहरूले आफैं उद्यम–स्तरका सुविधा विस्तार गरिरहेका छन्, जसले बिचौलियाको भूमिका कमजोर बनाउन सक्छ।
मोवरी भने २०२५ मा रेकर्ड लगानी र ग्राहक आकर्षण हासिल गरेका डेभलपर प्लेटफर्म र “भाइब कोडिङ” प्रवृत्तिप्रति आशावादी छन्। उनका अनुसार रेप्लिट, लभेबल र कर्सरजस्ता स्टार्टअपहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्।
उनले उपभोक्ता–केन्द्रित प्रविधिमा पनि बलियो वृद्धि हुने अपेक्षा गरेका छन्। उदाहरणका रूपमा फिल्म तथा टेलिभिजनका विद्यार्थीहरूले Google को एआई भिडियो जेनेरेटर भिओ प्रयोग गरेर आफ्ना कथा जीवन्त बनाउन सक्ने अवसर रहेको उनले बताए।
एआई बाहेक बायोटेक र क्लाइमेट टेक क्षेत्र पनि अहिले लगानी र डेटा उपलब्धताका हिसाबले तीव्र गतिमा अघि बढिरहेको उनले बताएका छन्। उनका अनुसार यी क्षेत्रमा उपलब्ध “अविश्वसनीय मात्राको डाटा” प्रयोग गरेर पहिले सम्भव नभएका तरिकाले वास्तविक मूल्य सिर्जना गर्न सकिन्छ।
प्रकाशित: ११ फाल्गुन २०८२, सोमबार