
काठमाडौं ।
आधुनिक प्रविधिसँग अनुकूलन हुँदै नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले नवोदित कलेजमा विज्ञान प्रदर्शनी आयोजना गरिएको छ। नवोदित कलेज सामाखुशीको आयोजनामा आज भएका प्रदर्शनीमा विज्ञान, व्यवस्थापन, नवीन आविष्कारलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित ३५ कक्ष राखिएका छन्।
प्रदर्शनीको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले गुणस्तरीय जनशक्ति उत्पादन र समावेशी शिक्षाको प्रवर्द्धनमा कलेजले पुर्याएको योगदान महत्वपूर्ण रहेको बताए।
उनले विद्यार्थीहरूको शैक्षिक तथा व्यावसायिक दक्षता अभिवृद्धि र भविष्य निर्माणमा निरन्तर नगरपालिकाको निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय सङ्घ (हिसान)का उपाध्यक्ष एवम् कलेजका प्राचार्य राजेन्द्र अधिकारीले आजको शिक्षामा नवप्रवर्तन र स्वतन्त्र सोच आवश्यक रहेको बताए।
उनले सिकाइले विद्यार्थी आत्मनिर्भर बन्न, स्थानीयदेखि अन्तरराष्ट्रिय तहसम्म प्रतिस्पर्धी बन्न, व्यावहारिक सिकाइलगायत सकारात्मक नतिजाका लागि प्रदर्शनी अत्यन्त प्रभावकारी माध्यम रहेको उल्लेख गरे।
कलेजका सहप्राचार्य जिवी अधिकारीले प्रदर्शनीले विद्यार्थीलाई सिक्ने, आफ्नो प्रतिभा प्रदर्शन गर्ने र प्रतिस्पर्धी बन्ने अवसर प्रदान गरेको धारणा राखे।
उक्त प्रदर्शनीमा ‘फुड कोर्ट’, ‘हेल्थ डेक्स’ र विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। काठमाडौँभित्रका एक दर्जनभन्दा बढी विद्यालयका विद्यार्थीले प्रदर्शन अवलोकन गरेका छन्।-रासस
प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार