फोर्डले अर्को वर्ष नयाँ ईभी पिकअप ट्रक ल्याउने

  • Technology Khabar | ६ फाल्गुन २०८२, बुधबार
फोर्डले अर्को वर्ष नयाँ ईभी पिकअप ट्रक ल्याउने

काठमाडौं ।

फोर्ड मोटर कम्पनीले ३० हजार डलरबाट सुरु हुने नयाँ विद्युतीय पिकअप ट्रक (ईभी) अर्को वर्ष ल्याउने वाचा गरेको छ, जसले चिनियाँ अटोमेकरहरूसँग प्रतिस्पर्धा गर्न सक्ने र नाफा घटाउन नपर्ने कम्पनीले मंगलबार जनाएको छ।

थ्रीडी–प्रिन्ट गरिएको लेगो-जस्तै पार्ट्स, फर्मुला १ शैलीको सोच र बाउण्टी कार्यक्रमको संयोजनले यो लक्ष्य हासिल गर्न मद्दत गर्ने फोर्डले बताएको छ।

यसको आवश्यकता पनि छ। फोर्डले डिसेम्बरमा १९.५ अर्ब डलर घाटा व्यहोरेको थियो र आफ्नो ब्याट्री–विद्युतीय एफ-१५० लाइटनिङ उत्पादन बन्द गरेको थियो। नयाँ ईभी रणनीति असफल भए कम्पनीका लागि ठूलो जोखिम हुने देखिन्छ।

सस्तो ईभीहरूको लाइनअपमा फोर्डको दाउ केही वर्षअघि सुरु भएको थियो, जसको नेतृत्व १२ वर्ष टेस्ला इंकमा काम गरेका एलन क्लार्कले गरेका थिए। गत अगस्टमा फोर्डले परम्परागत चलायमान एसेम्ब्ली लाइन त्यागेर लुइसभिल कारखानामा २ अर्ब डलर लगानी गरी नयाँ उत्पादन प्रणाली अपनाउने घोषणा गरेको थियो, जसले उत्पादन गति १५ प्रतिशतसम्म बढाउने दाबी गरिएको थियो।

कम्पनीका अनुसार नयाँ ईभीहरू एक युनिभर्सल प्लेटफर्ममा आधारित हुनेछन्, जसमा एकै टुक्रामा ढालिएका ठूलो एल्युमिनियम युनिकास्टिङ पार्ट्स प्रयोग गरिनेछ — जसले पार्ट्स संख्या घटाएर छिटो असेंब्ली सम्भव बनाउँछ। साथै, चीनको सीएटीएलबाट लाइसेन्स गरिएको लिथियम आइरन फस्फेट ब्याट्री प्रयोग गरिनेछ।

हाल फोर्डले ब्लग र सामाजिक सञ्जालमार्फत थप विवरण सार्वजनिक गर्दै २० हजार डलर सस्तो तर नाफामूलक यूईभी ट्रक कसरी बनाउने योजना रहेको स्पष्ट पारेको छ। यद्यपि, दायरा, फिचर वा चार्जिङ समयबारे कम्पनीले जानकारी दिएको छैन। तर कम पार्ट्स प्रयोग गरी हल्का, सस्तो र दक्ष यूईभी बनाउने योजनाबारे भने खुलासा गरेको छ।

टेकक्रञ्चका अनुसार यसको आधार युनिभर्सल ईभी प्लेटफर्म (यूईभी) हुनेछ। क्लार्कका अनुसार यही प्लेटफर्ममा सुरुमा मिडसाइज ट्रक बन्नेछ, त्यसपछि सेडान, क्रसओभर, तीन-रो एसयूभी र साना कमर्शियल भ्यानसमेत उत्पादन गर्न सकिनेछ। यूईभी फोर्डको पहिलो “क्लिन–शीट” यूईभी हो, जुन सुरुदेखि नै नयाँ रूपमा विकास गरिएको हो। यसअघि कम्पनीले मस्ट्याङ माक-ई र लाइटनिङ ईभीहरू पुरानै संरचना र उत्पादन प्रणाली प्रयोग गरेर बनाएको थियो।

“यो प्लेटफर्म दक्षता र पहुँचयोग्य मूल्यलाई ध्यानमा राखेर बनाइएको हो,” क्लार्कले मिडिया ब्रिफिङमा भने। “लामो दूरीको विद्युतीय यात्रा धेरै मानिसका लागि किफायती बनाउने लक्ष्य राखिएको छ।”

यो लक्ष्य पूरा गर्न क्लार्कले फर्मुला-१, एप्पल इंक, ल्युसिड मोटर्स, रिभियन र टेस्ला इंक जस्ता कम्पनीबाट प्रतिभा ल्याएर नयाँ कार्यसंस्कृति विकास गरेका छन्। साथै, २०२३ मा फोर्डले अधिग्रहण गरेको स्टार्टअप अटो मोटिभ पावरका सदस्यहरू पनि टोलीमा छन्। क्यालिफोर्नियाको लङ बीचमा करिब ४५० र पालो आल्टोमा २०० जनाको टोलीले काम गरिरहेको छ।

टोलीले “बाउण्टी कार्यक्रम” अपनाएको छ, जसले इन्जिनियरहरूलाई आफ्ना दैनिक निर्णयहरूले ग्राहक र अन्तिम उत्पादनमा कस्तो प्रभाव पार्छ भन्ने बुझ्न सहयोग गर्छ। यस कार्यक्रमको मुख्य ध्यान दक्षतामा छ। सवारीको तौल, हावाको प्रतिरोध (एरोडाइनामिक ड्र्याग) र विशिष्ट पार्ट्ससम्मका लागि संख्यात्मक लक्ष्य निर्धारण गरिएको छ।

यसअनुसार, तौल घटाएर समग्र लागत र दक्षता सुधार हुने भए महँगो पार्ट्स प्रयोग गर्ने निर्णय पनि लिन सकिन्छ। “हामीले लागत घटाउँदा मूल्य र गुणस्तर नघट्ने सुनिश्चित गरेका छौं,” क्लार्कले भने।

उदाहरणका लागि, आधारभूत मोडलमै पावर–फोल्डिङ मिरर हुनेछ, जुन प्रायः सवारीमा प्रिमियम फिचर मानिन्छ, किनकि यसले हावाको प्रतिरोध घटाउँछ। कम्पनीले दुईवटा सट्टा एउटै मोटर प्रयोग गरेर मिरर समायोजन र फोल्डिङ दुवै काम गराई लागत बचत गरेको जनाएको छ।

प्रकाशित: ६ फाल्गुन २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Foton has been the no. 1 commercial vehicle exporter for 15 years: claims the company

  • Technology Khabar
  • ६ फाल्गुन २०८२, बुधबार