एआईको प्रयोगलाई लिएर इन्टरनेट आर्काइभ र सञ्चारमाध्यमबीच तनाव बढ्दो

  • Technology Khabar | १८ माघ २०८२, आईतवार
एआईको प्रयोगलाई लिएर इन्टरनेट आर्काइभ र सञ्चारमाध्यमबीच तनाव बढ्दो
क्यान्भा एआईमार्फत् बनाइएको सांकेतिक तस्बि्र

काठमाडौं ।

इन्टरनेट आर्काइभ पत्रकारहरूका लागि लामो समयदेखि उपयोगी स्रोत रहँदै आएको छ। हटाइएका ट्वीटहरूको अभिलेख फेला पार्नेदेखि पृष्ठभूमि अध्ययनका लागि शैक्षिक सामग्री उपलब्ध गराउनेसम्म यसको भूमिका महत्वपूर्ण मानिन्छ।

तर कृत्रिम बुद्धिमत्ता (एआई) को उदयसँगै इन्टरनेट आर्काइभ र ठूला सञ्चारमाध्यमबीच नयाँ प्रकारको तनाव देखिन थालेको छ।

केही प्रमुख प्रकाशन संस्थाले एआई कम्पनीहरूले इन्टरनेट आर्काइभको सामग्री प्रयोग गरेर अप्रत्यक्ष रूपमा आफ्ना समाचार स्क्र्याप गरिरहेको आशंकामा गैर–नाफामुखी डिजिटल पुस्तकालयको पहुँच रोक्न थालेका छन्।

इन्ग्याजेटका अनुसार द गार्डियनका व्यवसायिक मामिला तथा लाइसेन्सिङ प्रमुख रोबर्ट हानले नाइमन ल्याबसँग भनेका छन्, “धेरै एआई कम्पनीहरू सजिलै उपलब्ध र संरचित सामग्रीको डाटाबेस खोजिरहेका हुन्छन्। इन्टरनेट आर्काइभको एपीआई उनीहरूले आफ्ना मेसिन जडान गरेर बौद्धिक सम्पत्ति (IP) निकाल्न सजिलो माध्यम बन्न सक्थ्यो।”

द न्युयोर्क टाइम्सले पनि यस्तै कदम चालेको छ। पत्रिकाका एक प्रतिनिधिले नाइमन ल्याबलाई दिएको जानकारीअनुसार, “वेब्याक मेसिनले टाइम्सको सामग्रीमा अनुमति बिना—एआई कम्पनीहरूलाई समेत—असीमित पहुँच दिएकाले इन्टरनेट आर्काइभको बोटलाई टाइम्सको सामग्री पहुँच गर्न रोकिएको हो।”

सब्स्क्रिप्सन–केन्द्रित फाइनान्सियल टाइम्स र अनलाइन फोरम रेडिटले पनि इन्टरनेट आर्काइभले आफ्नो सामग्री कसरी संग्रह गर्छ भन्ने विषयमा चयनात्मक रोक लगाएका छन्।

यसैबीच धेरै प्रकाशकहरूले ठूलो भाषा मोडेल तालिमका लागि सामग्री प्रयोग गरिएको भन्दै एआई कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन्।

पत्रकारिता क्षेत्रमै सीमित उदाहरण हेर्दा द न्युयोर्क टाइम्सले ओपनएआई र माइक्रोसफ्टविरुद्ध, सेन्टर फर इन्भेस्टिगेटिभ रिपोर्टिङले ओपनएआई र माइक्रोसफ्टलाई, वाल स्ट्रिट जर्नल र न्युयोर्क पोस्टले पर्प्लेक्सिटीविरुद्ध, द एटलान्टिक, द गार्डियन र पोलिटिकोसहितका प्रकाशक समूहले कोहेयरविरुद्ध, पेनस्के मिडियाले गुगलविरुद्ध तथा द न्युयोर्क टाइम्स र शिकागो ट्रिब्युनले पर्प्लेक्सिटीविरुद्ध संयुक्त रूपमा मुद्दा हालेका छन्।

कतिपय सञ्चारमाध्यमले भने कानुनी बाटो रोज्नु अघि एआई कम्पनीसँग आर्थिक सम्झौता गरेर आफ्ना अभिलेख तालिम सामग्रीका रूपमा उपलब्ध गराएका छन्। तर यस्ता सम्झौताबाट प्राप्त क्षतिपूर्ति मुख्यतः प्रकाशन संस्थालाई जाने र पत्रकार वा लेखकलाई प्रत्यक्ष फाइदा नपुग्ने आलोचना पनि छ।

यो बहस पत्रकारितामा मात्र सीमित छैन। कथा लेखक, दृश्य कलाकार र संगीतकर्मीहरू समेत एआई उपकरणका कारण उत्पन्न प्रतिलिपि अधिकार र पाइरेसीसम्बन्धी विवादमा संलग्न छन्। एआईप्रति सृजनात्मक उद्योगहरूको प्रतिक्रिया बुझ्न चाहनेहरूका लागि नाइमन ल्याबको विस्तृत रिपोर्ट महत्वपूर्ण स्रोतका रूपमा हेरिएको छ।

प्रकाशित: १८ माघ २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...