
काठमाडौं ।
सरकारले अब आवश्यक सामान अनलाइनमार्फत् सोझै खरिद गर्न सक्ने भएको छ।
यसकालागि सार्वजनिक खरिद अनुगमन कार्यालयले एउटा सरकारी ई-मार्केटप्लेस तयार गर्ने भएको छ।
यो प्रावधान हालै अध्यादेशमार्फत् गरिएको सार्वनजिक खरिद ऐन २०६३ को दफा ४१ संशोधनमा राखिएको हो। सरकारले हालै अध्यादेशमार्फत् विभिन्न ११० कानून संशोधन गर्ने क्रममा यो कानूनको यो दफामा यस्तो प्रावधान थप गरिएको हो।
सार्वनजिक खरिद ऐन २०६३ को दफा ४१ मा यसअघि नै तोकिएको रकमसम्मको विशेष परिस्थितिको खरिदमा टेण्डर नगरी बिक्रेता वा आपूर्तिकर्तासँग खरिद गर्न सकिने उल्लेख छ। तर त्यतिबेला अनलाइन मार्केटप्लेसको अवधारणा समावेश गरिएको थिएन।
सोही दफा ४१ मा ४१ क थप गरी हालै राजपत्रमा प्रकाशित संशोधनमा लेखिएको छ, ‘सरकारी ई-मार्केटप्लेस सम्बन्धी व्यवस्था : (१) दफा ४१ मा जुनसुकै कुरा लेखिएको भए तापनि सार्वजनिक खरिद अनुगमन कार्यालयबाट तयार गरिएको सरकारी ई- मार्केटप्लेसमा प्रकाशित मालसामान तथा सेवा तोकिए बमोजिमको रकमसम्म सोझै खरिद गर्न सकिनेछ।’
‘ई-मार्केटप्लेस प्रणालीमा मालसामान तथा सेवाको विवरणहरू प्रकाशन गर्ने तथा खरिद गर्ने सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ’, दफा ४१क को उपदफा ३ मा भनिएको छ।
प्रकाशित: २१ बैशाख २०८३, सोमबार