भोल्भोको ईएक्स६० इलेक्ट्रिक क्रसओभरले ६४० किलोमिटरको रेञ्ज प्रदान गर्ने दावी

  • Technology Khabar | २७ पुष २०८२, आईतवार
भोल्भोको ईएक्स६० इलेक्ट्रिक क्रसओभरले ६४० किलोमिटरको रेञ्ज प्रदान गर्ने दावी
फाइल तस्बिर

काठमाडौं ।

यसै महिनाको अन्त्यतिर सार्वजनिक हुने तयारीमा रहेको भोल्भोको नयाँ विद्युतीय क्रसओभरबारे कम्पनीले केही प्रभावशाली विवरण सार्वजनिक गरेको छ।

ईएक्स४० र ईएक्स९० को बीचमा रहने ईएक्स६० मा ४०० माइल अर्थात् ६४० किलोमिटरको ईपीए रेन्ज उपलब्ध हुने भोल्भोले जनाएको छ।जुन अहिलेसम्मका सबै भोल्भो मोडेल र अधिकांश ईभीभन्दा बढी हो।

साथै, तौल घटाउने र उत्पादन दक्षता बढाउने उद्देश्यले मेगाकास्टिङ प्रविधि प्रयोग गर्ने पहिलो भोल्भो कार पनि यही हुने भएको छ।

“हाम्रो नयाँ विद्युतीय सवारी संरचनामार्फत पूर्ण रूपमा इलेक्ट्रिक कारमा सर्न चाहने ग्राहकका मुख्य चिन्तालाई हामीले सिधै सम्बोधन गरेका छौँ,” भोल्भोका सीटीओ एन्डर्स बेलले भनेका छन्। “यसको नतिजा वर्गमै अग्रणी रेन्ज र छिटो चार्जिङ हो, जसले रेन्ज एन्जाइटीको अन्त्य गर्छ।”

इन्ग्याजेटका अनुसार भोल्भोले ग्राहकको मुख्य चिन्ता रेन्ज एन्जाइटी भएको ठानेर सम्भव भएसम्म दूरी बढाउन ध्यान केन्द्रित गरेको जनाएको छ। यसको प्रमुख आधार कम्पनीको नयाँ एसपीए३ ईभी आर्किटेक्चर हो, जसमा सेल–टु–बडी प्रविधिमार्फत ब्याट्रीलाई सिधै गाडीको संरचनामा समावेश गरिएको छ। कार्यक्षमता बढाउन र तौल घटाउन भोल्भोले आफ्नै ई–मोटर पनि विकास गरेको छ।

ईएक्स६० मा ८००–भोल्टको विद्युतीय प्रणाली र ४०० किलोवाटसम्मको फास्ट चार्जिङ सपोर्ट रहनेछ। यसले १० मिनेटमै करिब १६८ माइलको रेन्ज थप्न सक्ने भोल्भोले बताएको छ। नयाँ हलुका सामग्री र कम ताप उत्पादनका कारण “केही मिनेटमै १०० माइलभन्दा बढी रेन्ज थप्न सकिने” कम्पनीले आफ्नो ब्लगमा उल्लेख गरेको छ।

मेगाकास्टिङ प्रविधिबाट सयौँ साना पार्टहरू हटाएर एउटै उच्च–सटीक कास्टिङ प्रयोग गरिएको छ, जसले तौल घटाउन मद्दत गरेको भोल्भोले जनाएको छ। भोल्भो ईएक्स६० लाई सन् २०२६ जनवरी २१ मा कम्पनीको वेबसाइटमार्फत लाइभस्ट्रिममा सार्वजनिक गरिनेछ।

प्रकाशित: २७ पुष २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...